२६ माघ २०७९, बिहीबार
सुरक्षा/अपराध

दैनिक प्रहरी बुलेटिन : कहाँ-के भयो ? [थाहा पाउनुस]

प्रकाशित मिति :  १० आश्विन २०७६, शुक्रबार १४:३९


सुरक्षार्थ क्वारेन्टिनमा खटिएका प्रहरी कुटिए

१० असोज, काठमाडौं । काठमाडौं महानगरपालिका-१२ टेकुस्थित सडक किनाराबाट अवैध लागूऔषध चरेश १ केजी ३ सय ग्राम सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका-१ ठेगाना भएका १९ वर्षीय रामबहादुर मिजार, रामेछाप काँडादेवी गाउँपालिका-७ ठेगाना भएका १९ वर्षीय प्रज्वलराज श्रेष्ठ र नुवाकोट म्यागम गाउँपालिका-६ ठेगाना भएका ३१ वर्षीय आस्मा लामा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

सर्लाही, बसबरिया गाउँपालिका-२ मानपुरबाट बा.३७ प ३००१ नम्बरको मोटरसाइकल चालक बरहथवा नगरपालिका(१० सितापुर बस्ने २८ वर्षीय राजन राउतलाई अवैध लागूऔषध गाँजा करिब ६ केजी सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मानपुरबाट खटिएको प्रहरीले मोटरसाइकल जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

सुनसरी, दुहबी नगरपालिका-७ भलुवा मुसहरी टोल बस्ने ६५ वर्षीय हकिम पासवानलाई अवैध लागूऔषध गाँजा १ केजी सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले पासवानको घर तलासी गर्दा घरमा लुकाइ छिपाई राखेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस्तै उदयपुरमा विभिन्न मुद्धाका फरार त्रियुगा नगरपालिका-१० बस्ने २० वर्षीय अबिलाश राई लगायत १३ जना प्रतिवादीहरुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरुको घर, ठेगानाबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत उदयपुर गाईघाट पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कास्की, जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी काभ्रे नवबुद्ध नगरपालिका-१० बस्ने समशेर तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । तामाङलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका वैदामबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस्तै रौतहटको चन्द्रपुर नगरपालिका-१ बागमती गैह्रीगाँउ बस्ने ५७ वर्षीय मणिराज श्रेष्ठलाई रिभल्वर १ थान र सोको गोली १ राउण्ड सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चपुरबाट खटीएको प्रहरीले उनको घरमा तलासी गर्दा उनी सुत्ने ओछ्यानमा उक्त रिभल्वर र गोलीसहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

उता सल्यानको कपुरकोट गाउँपालिका-४ किमिचौरस्थित सडकमा लु.१ च ४१५३ नम्बरको पिकअप भ्यान शुक्रबार बिहान अनियन्त्रित भई दुर्घटना हुँदा सल्यान कपुरकोट गाउँपालिका-४ किमिचौर बस्ने ६७ वर्षीय कर्मी पुनको मृत्यु भएको छ । उक्त भ्यान बाटोबाट करिब २५ मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका पुनको अञ्चल अस्पताल तुल्सिपुर दाङमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अन्य ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता नुवाकोटको दुप्चेश्वर गाउँपालिका-५ निंगाले बस्ने ३० वर्षीया चिरमाया तामाङ सोही ठाउँस्थित गुन्ज खोलामा बिहीबार दिउँसो मृत अवस्थामा फेला परेकी छन् । मंगलबार सोही गाउँपालिका-४ बस्ने कर्म लामाको घरमा घेवा सकेर घर फर्के पश्चात घरमा नआएकी उनलाई खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

यस्तै सुदुरपश्चिमको दार्चुलाको महाकाली नगरपालिका-३ झुस्कु बडुगाँउ बस्ने ५५ वर्षीय अम्बादत्त बडु सोही ठाउँमा बिहीबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरी बुलेटिनका अनुसार धनुषाको जनकपुर उपमहानगरपालिका-८ स्थित रत्नसागर पोखरीमा बिहीबार दिउँसो सोही उपमहानगरपालिका-९ पिडारीचोक बस्ने ओखलढुंगा सुनकोशी गाउँपालिका-१ बल्खुका ४५ वर्षीय राजकुमार राई डुबेर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।

र रौतहटको राजपुर नगरपालिका-५ बस्ने लखिन्द्र शाहकी ७ वर्षीया छोरी प्रीयान्सु कुमारी शाह सोही स्थानस्थित विद्यालयको प्राङ्गणमा रहेको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको अवस्थामा बिहीबार बेलुका फेला परेकी छिन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा