२६ माघ २०७९, बिहीबार

क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द विजयी

प्रकाशित मिति :  ११ आश्विन २०७६, शनिबार २०:०६


क्रिकेट संघको अध्यक्ष चतुरबहादुर चन्द विजयी

११ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा शनिबार सम्पन्न विशेष साधारण सभाबाट अध्यक्षमा चन्द निर्वाचित भएका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी विनय राज पाण्डेलाई बहुमत मतले हराएर चन्द अध्यक्षमा निर्वाचित भएका हुन् । ५९ प्रतिनिधि रहेको निर्वाचनमा चन्दले ४४ मत प्राप्त गरे । पाण्डेले १५ मत प्राप्त गरे ।

जितपछि नवनिर्वाचित अध्यक्ष चन्दले क्यानको पारदर्शीतामा बिशेष ध्यान दिइने बताउनुभयो । घरेलु क्रिकेटको संरचनालाई संघीयता अनुरुप प्रदेशिक क्रिकेटलाई सबैभन्दा सशक्त बनाउने प्रयास गर्ने उहाले बताउनुभयो

अन्य पदाधिकारीमा समेत चन्द प्यानलले बहुमत प्राप्त गरेको छ । १७ सदस्सीय कार्यसमिति रहेको संघको उपाध्यक्षमा चन्द प्यानलका राजुबाबु श्रेष्ठले ४१ मत पाएर निर्वाचित भए । पाण्डे प्यानलका मिङ्मा डाण्डु शेर्पाले १७ मत पाए ।

संघको सचिवमा चन्द प्यानलका अशोकनाथ प्याकुरेल ४३ मत पाउँदै निर्वाचित भए । उनका प्रत्यासी विनोद कुमार मैनालीले १५ मत पाए ।

कोषाध्यक्षमा चन्द प्यानलका रोशन कुमार सिंह ४५ मत पाएर निर्वाचित भए । उनका प्रत्यासी उपेन्द्र भट्टराईले १२ मत पाए । प्रदेश सदस्यतर्फ प्रदेश १ बाट कैलाश विष्टले ३७ र प्रदेश ३ बाट अमित बिर पाण्डे ३९ मत ल्याउदै निर्वाचित भए ।

प्रदेश सदस्यतर्फ नै प्रदेश २ बाट दाउद अन्सारी, प्रदेश ४ बाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रसान्त बिक्रम मल्ल, प्रदेश ६ बाट पदम बहादुर खड्का र प्रदेश ७ बाट बिक्रम बिष्ट भने निर्विरोध निर्वाचित भएका थिए ।

यस्तै महिला सदस्यमा जयन्ती भट्ट पनि निर्विरोध चुनिइन् । खुल्ला सदस्यमा दुर्गा राज पाठक (४२), बिरेन्द्र वहादुर चन्द (३६), माधव कुमार कर्माचार्य (३५),संजय राज सिंह (३४) र करन महोत्रा छेत्री (३०) मत ल्याएर निवार्चित भए ।

निर्वाचनमा जिल्ला र प्रदेशबाट आएको ५९ प्रतिनिधिले मतदान गरेका थिए । आईसीसीले निलम्बन गरेको झण्डै साढे ३ वर्षपछि क्यानको नयाँ नेतृत्वका लागि निर्वाचन भएको हो । सरकारी हस्तक्षेप र अवैधानिक चुनावको कारण देखाउँदै आईसीसीले क्यानलाई निलम्बन गरेको थियो ।

नेपाली क्रिकेट विवाद समाधानका लागि आईसीसीले बनाएको सल्लाहकार समितिले क्यानको विधान तयार गरेको थियो । सोही विधानमा टेकेर आईसीसीको स्वतन्त्र कमिटिले क्यानको नयाँ नेतृत्वका लागि निर्वाचन गरेको हो ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा