२६ माघ २०७९, बिहीबार
राजनीति

ओलीको निरङ्कुश यात्रा, ज्ञानेन्द्रलाई मरणासन्न हुने गरी कुटपिट

प्रकाशित मिति :  १२ आश्विन २०७६, आईतवार १९:११


ओलीको निरङ्कुश यात्रा, ज्ञानेन्द्रलाई मरणासन्न हुने गरी कुटपिट

१२ असोज, काठमाडौं । नेपाली नागरिकको भरोसा र विश्वासमाथि न्याय गर्न नसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार नागरिकको आवाज बन्द गर्न भौतिक आक्रमणमा नै ओर्लन थालेको छ ।

हिजो दिउँसो भ्रष्टाचार विरोधी अभियानमा सक्रिय ज्ञानेन्द्र शाहीमाथि प्रधानमन्त्री खड्गप्रसाद ओलीका अरिंगालहरु खनिएका छन् । काठमाडौंबाट चितवन पुगेका ज्ञानेन्द्रलाई माइक्रोबसबाट ओर्लन समेत नदिई कम्युनिष्ट कार्यकर्ताले मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।

ओली सरकारको अकर्मण्यता र भ्रष्ट कार्यशैलीको भण्डाफोर गर्न कस्सिएका ज्ञानेन्द्र शाहीमाथि ओलीकै संरक्षणमा कुटपिट गरिएको हो । सरकार नै गुण्डागर्दीको शैलीमा ओर्लिएपछि चौतर्फी विरोध हुन थालेको छ । दुई तिहाई समर्थन प्राप्त सरकार अब विरोधको स्वर सुन्नै नसक्ने अवस्थामा पुगेको देखिन्छ ।

गम्भिर घाइते ज्ञानेन्द्रको थप उपचार गर्न काठमाडौं ल्याइएको छ । सरकार विचारको राजनीति भन्दा बाहुबली राजनीतिमा विश्वास गर्न थालेको छ । ओली सरकारको यो कार्यशैलीको विपक्षी राजनीतिक दलले मात्र नभई नागरिक समाजले समेत निन्दा गरेको छ । उक्त घटनाको आज सामाजिक सञ्जालमा धेरैले आक्रोश पोखेका छन् ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य ट्वीट गर्दै लेख्छन्:– अब मुलुक विस्तारै साम्यवादी यात्रातर्फ उन्मुख । नेकपाका अरिंगालले ज्ञानेन्द्र शाहीलाई डसेको छ ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि ट्वीट गर्दै भन्छन्:– पञ्चायतकालका मण्डलेले जस्तै लोकतन्त्रवादीको फरक बिचारमाथि कुटपिट । कम्रेडहरु सामाजिक फासीवादतिर उन्मुख भएकै हुन् ?

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा सामाजिक सञ्जालमा लेख्छन्:– अब पञ्चायत र ओली शासन उस्तै, नवमण्डलेकरण गर्दै ओली ।

कांग्रेसका युवा नेता गगन थापाले पनि सामाजिक सञ्जालमार्फत आफ्नो विचार यसरी राखेका छन्:– बिचरा अरिंगाल, अब उक्साउनेसँग हिसाब माग्नु पर्छ । स्मरण रहोस्:– ओली र प्रचण्ड बेला–बेला विरोधीको प्रतिकार गर्न कार्यकर्तालाई उकास्ने गर्छन् ।

कांग्रेसकै नेता चन्द्र भण्डारीले पनि आफ्नो विचार सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै लेखेका छन्:– बिरोधी मजबूत नबनी सरकारले सही मार्ग पहिल्याउन पाउँदैन, भिजिलान्ते सतर्क बन । यस्तै अर्का युवा नेता धनराज गुरुङले लेखेका छन्ः– अब बिचार र अभिव्यक्ति स्वतन्त्रताको अन्त्य भएकै हो ?

यो घटनाको विरोधमा राप्रपा अध्यक्ष कमल थापाले पनि सामाजिक सञ्जालको प्रयोग गरेका छन् । थापा लेख्छन्:– यो त अति नै भो । विचारको राजनीति गरौं, न की मसलको ।

यसरी हेर्दा ओली सरकारको कार्यशैली र उनका भिजिलान्तेबाट भएका भौतिक आक्रमणले अब अराजकता र निरकुंशता मौलाउने वातावरण तयार हुन लागेको छ । ओलीको शासनमा नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हनन हुने अवस्था निर्माण भएको छ ।

ओलीकै उक्साहटमा बाटो ढुकेर कुटपिट गर्न थालिएको छ । को व्यक्तिले पिटाई खायो भन्दा पनि कुन प्रवृत्तिको विकास गर्न खोजिंदै छ भन्ने कुरो मुख्य हो ।

माइक्रोबसबाट ओर्लनसमेत नदिई लघार्दै लघार्दै आक्रमण गर्दा प्रहरी प्रशासन मूक दर्शक बन्नुको अर्थ के हो ? ओलीको तानाशाही चरित्र अब नेपाली नागरिकले स्वीकार्नु पर्ने हो ?

आफूलाई मन नपर्नेलाई बाटोघाटो ढुकेर भकुर्ने शैली र प्रवृत्तिलाई बढावा दिने कि प्रतिकार गर्ने ? न्यायप्रेमी नागरिकको अघिल्तिर गम्भिर प्रश्न उठेको छ । मन नपर्नेलाई राजावादीको पगरी गुथाइ दिने अनि सार्वजनिक रुपमै कुटपिट गर्ने छुट ओलीले आफ्ना अरिंगाललाई दिएको देखिन्छ । बुढी मरी भन्दा पनि काल पल्किने डर भयो ।

राजावादी हुनु अपराध हो ? हिजोसम्म कमल थापाको दौराको फेर समाएर सत्ताको भरेङ चढ्दा राजावादी नदेखेका पूर्व एमालेका कम्रेडलाई अहिले राजावादीको भूतले सताएको छ ।

०५९ मा तत्कालिन राजा ज्ञानेन्द्रले कू गरेको घटनामा तत्कालिन एमालेको भूमिका नेपाली नागरिकले भुलिसकेका छैनन् । प्रतिगमन आधा सच्चिएको देख्ने पूर्व एमालेका लागि त्यसबखत राजा प्रिय थिए । ०६२/०६३ को जनआन्दोलनमा गणतन्त्रको नारा लाग्न थालेपछि अहिलेका प्रधानमन्त्री ओलीले गरेको टिप्पणी थियोः– बैलगाडा चढेर अमेरिका पुगिन्न । त्यही बैलगाडाले ल्याएको गणतन्त्रमा अहिले उनी तर मारिरहेका छन् । तर राजा चाहिंं अहिले कसरी अछुत भए त्यो बुझ्न कठिन भएको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा