१७ माघ २०७९, मंगलवार
सुरक्षा/अपराध

प्रहरी बुलेटिन : कहाँ के भयो ? [थाहा पाउनुस]

प्रकाशित मिति :  १४ आश्विन २०७६, मंगलवार १५:२९


सुरक्षार्थ क्वारेन्टिनमा खटिएका प्रहरी कुटिए

४ असोज, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विराटनगर महानगरपालिका-११ स्थित विराटनगर बसपार्कको हाताभित्र नवनिर्मित प्रहरी विट तथा नागरिक सहायता कक्षको सोमबार आयोजित समारोहका बीच उद्‌घाटन गरी जिल्ला प्रहरी कार्यालय मोरङलाई हस्तान्तरण गरेका छन् ।

उक्त कार्यक्रममा मन्त्री पण्डितले शान्ति सुरक्षा जस्तो अत्यन्तै महत्वपूर्ण, संवेदनशील तथा चुनौतीपूर्ण कार्यमा खटिने प्रहरीलाई सबै भन्दा उत्तम र पर्याप्त साधनश्रोत उपलब्ध गराउन सकेमा अपराधको रोकथाम, अनुसन्धान र शान्ति ब्यवस्था कायम गर्न सहज हुने बताए ।

यसबाट नागरिकले अझ छिटो, छरितो र प्रभावकारी रूपमा सेवा प्राप्त गर्न सक्ने उनले उल्लेख गरे। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले नवनिर्मित प्रहरी विटले बसपार्क, यातायात तथा यात्रुहरूको सुरक्षाका साथै प्रहरी सेवा प्रवाहको गुणस्तरमा अभिबृद्धि हुने विश्वास व्यक्त गरे । आजैबाट उक्त कक्षबाट चाडवाड लक्षित यात्रु सहायता डेस्क समेत संचालनमा ल्याइएको उनले जानकारी दिए ।

विराटनगर बसपार्क ब्यवस्थापन समितिले आयोजना गरेको उक्त कार्यक्रममा बसपार्क ब्यवस्थापन समितिका अध्यक्ष पदम कुमार श्रेष्ठले बसपार्कमा भएको हालसम्मको निर्माण तथा भावी योजनाको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विजयादशमी, शुभ दिपावली, छठ, नेपाल सम्वत र ईद पर्वको शुभकामना आदान प्रदान समेत गरिएको थियो ।

यस्तै काठमाडौं महानगरपालिका-६ माहाँकाल सरस्वती नगरमा किराना तथा होटल संचालन गर्ने कपिलवस्तु वाणगंगा नगरपालिका-२ बैजलपुर घर भएकी ५५ वर्षीय कमला भन्ने हिरु केसीको गत भदौ ३१ गते हत्या गरेको अभियोगमा ५ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं टोखा बस्ने ओखलढुंगा मनु गाउँपालिका-७ घर भएका ३१ वर्षीय आले भन्ने पासाङ तामाङ, काठमाडौं कपन बस्ने मकवानपुर छतिवन गाउँपालिका-४ घर भएका २७ वर्षीय सोमलाल थिङ, काठमाडौं भृकुटीचोक बस्ने रौतहट चन्द्रनिगाहपुर घर भएकी १९ वर्षीया पासाङ भन्ने सविना तामाङ, काठमाडौ नारायणटार बस्ने ओखलढुंगा खिजिदेम्वा गाउँपालिका -९ घर भएका ३१ वर्षीय पासाङ शेर्पा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-४ घर भएका ३२ वर्षीय रामकृष्ण भन्ने बुद्धिमान कार्की रहेका छन् ।

उनीहरुले केसीलाई ट्रामाडोल नाम गरेको नसालु औषधी खुवाई लटठ्याएर कुटपिट गरी हत्या गरी होटलभित्र रहेको सुनका गहनाहरु तथा नगद समेतका धनमालहरु खुन डाँका गरी फरार भएको खुल्न आएपछि महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ ।

उता चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट कटुवा पेस्तोल १ थान र गोली १ थान सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी धरान घर भएका २४ वर्षीय शैलेस तामाङ र दाङ घोराही नगरपालिका-९ घर भएका २० वर्षीय उज्वल गिरी रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु.१ ख ९९८८ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार शैलेसको साथमा कटुवा पेस्तोल र सोही बसमा सवार उज्वलको साथमा सोही पेस्तोलको गोली १ थान फेला पारी उनीहरु दुबै जनालाई पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको उक्त प्रभागले जनाएको छ ।

तेह्रथुम, आठराई गाउँपालिका-३ ह्वाकु बस्ने ४५ वर्षीय युबराज ईङनामलाई भरुवा बन्दुकको फलामको नाल २ थान र बट १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरीले उनको कोठामा लुकाई‍ राखेको उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस्तै,काठमाडौं महानगरपालिका-१४ स्युचाटारबाट नियन्त्रीत लागूऔषध डाईजेल्याब ९६ एम्पुल, नुर्फिन ९६ एम्पुल र फेनरागन ९५ एम्पुल सहित सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत मधुवन घर भएका २० वर्षीय सरेगं मण्डल र सोही ठाउँ घर भएका २० वर्षीय सुनिल कुमार चौधरी रहेका छन् । शंकास्पद अवस्थामा हिँडीरहेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बर्दिया, गुलरिया नगरपालिका-७ बाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ६ सय ३० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँस्थित भन्सार टोल बस्ने २४ वर्षीय रोशन कुमार कहार र जीवन पासी रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस्तै, बुढानिलकण्ठ नगरपालिका-१० कपन बालुवाखानीस्थित राधा गुरुङको घरमा जुवातास खेलिरहेका गुरुङ समेत ७ जनालाई नगद ४१ हजार ६ सय १५ रुपैयाँ र ३ बुक तास सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

उता सुनसरीमा २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-१२ बस्ने ३३ वर्षीय बिकास कसई लगायत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई धरानबाट को.१ ख ४६२६ नम्बरको बसमा चढाई ईटहरी उपमहानगरपालिका-९ स्थित सडकको साईडमा ल्याई गाडी चालक निज बिकास सहित ५ जनाले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनामा संलग्न अन्य २ जना हाल फरार भएकाले प्रहरीले खोजी गरिरहेको छ ।

यता काठमाडौं प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने भक्तपुर बोडे बस्ने धादिङ घर भएका बा।३५ प ५३०० नम्बरको मोटरसाइकल चालक २८ वर्षीय राजु चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलामा नियमित रात्रीकालीन जाँच गर्ने क्रममा चौधरीले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएकोले १ हजार रकम दिई प्रहरीलाई प्रलोभनमा पार्न खोजेकोले उनलाई पक्राउ गरेको हो ।

उता दाङ प्रहरीले तुलसीपुर उपमहानगरपालिका-६ बाट ७.५ फिट लामो टाउको र दाँत सहितको बाघको छाला सहित रुकुम ‘पूर्व’ उत्तरगंगा गाउँपालिका.१४ बस्ने २० वर्षीय भिमप्रसाद बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा उनको साथमा रहेको झोलाभित्र उक्त बाघको छाला सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै धादिङ, महोत्तरी र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । धादिङ, गजुरी गाउँपालिका-५ गलौदीस्थित सडकमा बा.२ ख ३४९१ नम्बरको ट्रिपर र बा.८७ प ४६३ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई सोमबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक गोरखा सुलिकोट गाउँपालिका-८ बस्ने २५ वर्षीय राजेश पनेरुलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरी, गौशाला नगरपालिका-१२ पडरिया गाँउस्थित सडकमा बीआर ३० बी ९९३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बेलुका दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही स्थान बस्ने २५ वर्षीय नरेश यादबको प्राथमिक स्वास्थ केन्द्र गौशालामा उपचारको क्रममा मृत्यु भएको छ ।

झापा, कन्काई नगरपालिका-८ बिरिङपुलस्थित सडकमा बा.४ ख ६६७ नम्बरको बसले मे.१० प २३७० नम्बरको मोटरसाइकललाई सोमबार बेलुका ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका.५ बस्ने ४२ वर्षीय सुक्रराज लिम्बुको उपचारको लागि बिएण्डसि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उता काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-८ सृजनसिल टोलस्थित नारायण प्रसाद सुबेदीको घरबाट नगद १ लाख रुपैयाँ, सुन तथा चाँदीका विभिन्न गहनाहरु र निकोन कम्पनीको क्यामरा समेत गरी जम्मा १२ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।

भक्तपुर, सूर्यबिनायक नगरपालिका(९ बाँसघारीस्थित प्रदिप खत्रीको घरबाट नगद, सुन तथा चाँदीका बिभिन्न गहना समेत करिब ७ लाख ८६ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार रसुवा, गोसाईकुण्ड गाउँपालिका-२ रसुवागढीस्थित निर्माणाधिन रसुवागढी हाईड्रोपावरको ड्याम साईडको स्टोर रुममा बिजुली सर्ट भई सोमबार राति आगलागी हुँदा स्टोर रुम, प्लाईउड पाता करिब ८ सय पिस, कमप्रेशर मेशिन ३ वटा, फलामका पाईपहरु लगाएत अन्य सामाग्री जलेर करिब ५ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बाँके, नेपालगंज उपमानगरपालिका-१२ कोरियनपुर नयांबस्तीस्थित गोपाल धमलाको घरमा सोमबार राति आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । दमकल र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








बजारमा आज सूनको मूल्य घट्यो
नेपालबहस संवाददाता