मकर सङ्क्रान्ति : नदीमा स्नान गर्नेको घुँइचो
नेपालबहस संवाददाता
माघ १, २०७६ बुधबार १५:५९:२५
१ माघ सुरुङ्गा । मकर सङ्क्रान्तिका अवसरमा कनकाई नदी तटमा स्नान गर्नेको घुइँचो लागेको छ । नदी तटमा मङ्गलबारदेखि नै मेला लागेका छ । कनकाई माईमा लाग्ने मेला पूर्वको प्रसिद्ध मेला हो । मेलामा किराँत परम्परा एवं संस्कृति अनुरूप धाननाच देखाइने प्रचलन छ ।
कनकाई नदीलाई भगवती माईदेवीका रूपमा मान्ने गरिएको हुँदा आफ्नो मनोकांक्षा पूरा गर्न र भाकल पुरा गर्न भक्तजनको भिडलाग्ने गर्दछ । नदीमा स्नान गरेर तिलको लड्डु, तरुल खाएमा मनोकामना पूरा हुने जनविश्वास यहाँ रहेको पाइन्छ ।
कनकाई नदीको पूर्व तट र पश्चिम तट दुवैतर्फ अहिले मेला लागेको छ । मक्कर स्नान र मेला भर्नका लागि आउनेको भक्तजनको सहजताका लागि ३०० प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। उनका अनुसार कनकाई नगरपालिको सुरुङ्गा बजारदेखि नै सीसी क्यामेराको निगरानीमा राखेर सवारीलाई एकतर्फी गरिएको छ ।
पुस मसान्तमा पकाएको पक्वान माघ १ गते खाने गरिन्छ । ज्योतिषीय दृष्टिकोणमा माघ महिनाको १ गते सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन हुँदा यो दिनलाई माघे सङ््क्रान्ति अर्थात् मकर सङ्क्रान्ति भनिएको हो । सूर्यको उदयविन्दू दक्षिण तर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण शुरु हुन्छ भन्ने मान्यता रहेको छ ।
माघे सङ्क्रन्तिमा तिलको विशेष महत्व रहेको छ । माघे सङ्क्रान्तिमा तिलले स्नान गर्नु, तिल हवन गर्नु, तिलको तेल घस्नु, पितृलाई तिल युक्त जल अर्पण गर्नु, तिल दान गर्नु र तिलयुक्त परिकार खुवाउनु वा खान गरी छ प्रकारले तिलको उपयोग गर्ने व्यक्ति कहिल्यै असफल नहुने शास्त्रीय मान्यता छ ।
स्नान माघे संक्रान्तिको मुख्य विशेषता हो । माघे सङ्क्रान्तिमा बिहानै उठेर पवित्र जलाशय गएर स्नान गर्नाले चर्मरोग निको हुने विश्वास गरिन्छ । स्नान गर्न सम्भव भए गङ्गा नभए तीर्थ, नदी वा जलाशयको प्रयोग गर्नु भन्ने शास्त्रीय मान्यता छ ।
मिथिलामा तिला सङ्क्रान्ति पर्व
जनकपुरधाम । हिन्दूधर्मालम्बीहरुले धार्मिक एवं सांंस्कृतिक पर्व ‘मकर सङ्क्रान्ति’ उल्लासमय वातावरणमा मनाइरहेका छन् । यस पर्वमा तिलको विशिष्ठ महत्व रहेको कारण प्राचीन मिथिलामा ‘तिला सङ्क्रान्ति’ र माघ महिनाको पहिलो दिनमा मनाइने गरिएकाले कतिपयले ‘माघे सङक्रान्ति’ पर्व पनि भन्ने गरिन्छ । सूर्यदेव, धनु राशि छोडेर मकर राशिमा प्रवेश गर्नुका साथै उत्तरायणको गति पनि प्रारम्भ भएको अवसरमा पर्व मनाइने गरिएको हो ।
सूर्य उत्तरायणमा प्रवेश गरेपछि देउताको बह्म मुहूर्त उपासनाको पुण्यकालको शुभारम्भ हुन्छ । यस कालमा विद्याको प्राप्ति, साधनाको सिद्धिकालका साथै देव प्रतिष्ठापन, गृह निर्माण, यज्ञलगायत धार्मिक कर्महरु गर्न उत्तम समय मानिन्छ । सोही कारणले मकर राशिमा सूर्य प्रवेश गरेको पहिलो दिनलाई ‘विशेष दिन‘ संज्ञा दिँदै खुशीयालीको रुपमा पर्व मनाउने गरिएको हो ।
यस पर्वको अवसरमा पवित्र नदी र तलाउँमा स्नानका गरी खिचडी, अन्न, नयाँ वस्त्र र नगद दान गरेमा पुण्य प्राप्तिका साथै सूर्यदेव प्रसन्न हुने धार्मिक विश्वास रहेको छ । सो धार्मिक महत्वको आधारमा जनकपुरको गङ्गासागर, धनुषसागरलगायत पवित्र जलाशयमा बिहानैदेखि सयौँको सङ्ख्यामा धर्मालम्बीहरु स्नान गरी विभिन्न मन्दिरमा धार्मिक विधिपूर्वक पूजापाठ गरी पर्व मनाइरहेका छन् ।
यस पर्वको पहिचानको रुपमा खिचडी, दाल, तिलको लड्डु र शख्खर रहेको छ । अनिवार्य रुपमा तिलको लड्डुलगायतका परिकार तयार गरिएपनि कतिपय समुदायमा खिचडीको सट्टा दही च्युरा खाने गरिन्छ । यो पर्व उत्साहसँग जोडिएको कारणले आजका दिन चङ्गा उडाउने गरिन्छ । हुन त विगतका वर्षका तुलनामा चङ्गा उडाउने मनोरञ्जनात्मक खेल क्रमिक रुपमा घट्दै गइरहेको देखिन्छ ।
मकर सङ्क्रान्तिमा खिचडीको महत्व
मकर सङ्क्रान्तिका दिन खिचडी खानुको मुख्य कारणको रुपमा ग्रहहरुको स्थितिलाई बलियो बनाउनुरहेको विश्वास गरिन्छ । पौराणिक कथानुसार, खिचडी बनाउने सामग्रीमा चामल चन्द्रमा, कालो दाल शनि, हरियो तरकारी बुध, हल्दी वृहस्पति र नून शुक्र ग्रहको प्रतीक हो ।
यी सामग्रीहरु मिश्रण गरी तयार पारिएको खिचडी खाएमा सबै ग्रहहरु शान्त हुन्छ । घरमा शान्ति र समृद्धि आउने र ग्रहहरु बलियो हुने धार्मिक विश्वास रहेको छ । अर्को कथानुसार, मकर सङ्क्रान्तिका दिन खिचडी खाने परम्परा बाबा गोरखनाथले शुभारम्भ गरिएको उल्लेख गरिएको देखिन्छ । हिन्दू धर्ममा उत्तरायण सूर्यको आफ्नै विशिष्ठ महत्व रहेको छ । यसको महत्व द्वापर युगमा सम्पन्न महाभारत युद्धमा गम्भीर घाइते भएका भीष्म पितामहको इच्छा मृत्युको समय अवधिसँग जोडिएर देख्न सकिन्छ ।
इच्छा मृत्युको बरदान पाउनु भएका भीष्म पितामह महाभारतको युद्धमा गम्भीर घाइते भई मृत्यु शै्या रहनुभएका उहाँ सूर्य उत्तरायणमा पुगेपछि माघ अष्टमीको दिन स्वेच्छाले प्राण त्याग गरेका थिए। तसर्थ, हिन्दूधर्ममा सूर्यउत्तरायणको अवधिमा प्राण त्याग हुनु उत्तम मानिएको छ । सोही कारणले आज पितृलाई प्रसन्न गर्न तिल र जलले अघर््य एवं तर्पन गर्ने गरिन्छ ।
आज सन्तानलाई शपथ खुवाइन्छ
मिथिलावासीले आज यस पर्वको अवसरमा आफ्ना सन्तानलाई शपथ खुवाएर पर्व मनाउने गर्छन् । घरमा देवीदेउताको पूजापाठ गरेपछि तिल र शख्खर मिश्रित प्रसाद खुवाउने क्रममा सन्तानसँग बचन लिने गरिन्छ । बुढेसकालमा ‘सेवा गर्ने कि नगर्ने’ भनेर मातापिताले सोध्ने गर्छन् ।
सन्तानले सेवा गर्ने, आज्ञाको पालना गर्ने बचन दिएपछि सो प्रसाद मातापिताले सन्तानलाई खुवाउने गर्छन् । प्रसाद ग्रहण गरेपछि सन्तानले आमाबुबालाई ढोगेर आर्शीवाद लिने गर्छन् । यसका साथै, आजका दिनमा अर्काको तिल खाएमा उनको सेवा गर्नुपर्ने भनाइका कारण कतिपयले अरुले दिएको तिलको लड्डु नखाने गरेको देखिन्छ ।
तिर्थालुको देवघाटमा घुइँचो
चितवन । पवित्र तीर्थस्थल देवघाट धाममा माघे सङ्क्रान्ति मेला भर्न आउने तिर्थालु भक्तजनको घुइँचो लागेको छ । मङ्गलबार बिहान बेनीमा बाँसको लिङ््गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार ठूलो सङ्ख्यामा भक्तजन देवघाटमा रातभर जागराम बसेका थिए ।
बिहान स्नान गरेर फर्कने र स्नान गर्न आउनेको भिड लागेको छ । उनका अनुसार देशभर र भारतीय विभिन्न क्षेत्रबाट भक्तजन आउने क्रम जारी रहेको छ । मेलालाई व्यवस्थित गरिएकाले तिर्थालु भक्तजनले सहज रुपमा स्नान र पूजापाठ गर्न पाएको अध्यक्ष पौडेलले जानकारी दिए ।
देवघाट आउने सवारीसाधनलाई ठिमुरा, रामनगर र दासढुङ्गाबाट आउने व्यवस्था मिलाइएको छ भने फर्कदा ती सवारीले आँपटारीको बाटो प्रयोग गरेका छन् । दासढुङ्गामा देवघाट जोड्ने पुल सम्पन्न भएकाले सो पुल प्रयोग गरेर आउने देवघाटसम्म नै सवारीसाधनमा आई पुगेका छन् । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले आपतकालीन उद्धारका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा रहेको जानकारी दिए । यस्तै डुङ्गासहितको उद्धारका लागि नेपाली सेना पनि जुटेको छ ।
ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । सो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटा हुँदै जाने विश्वास गरिन्छ ।
भविष्य पुराण, विष्णुवचन तथा धमसिन्धु नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी भइने जनविश्वास रही आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार