विराटनगर पुगेर देउवाले भने, सभामुख चयन अविलम्ब हुनुपर्छ
Advertisement

१ माघ विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुखको चयन अविलम्ब गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उनले संसद्लाई अनिर्णयको बन्दी नबनाउन आग्रह गर्दै आफ्नो पार्टीलाई सभामुख दिएमा संसद् व्यवस्थित र मर्यादितरूपमा सञ्चालन गरिने जिकिर गरे ।

सभापति देउवाले नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ भित्र आन्तरिक विवादका कारण सभामुखको चयनमा ढिलाइ भएको प्रसङ्ग उल्लेख गर्दै सो पार्टीभित्र गुटउपगुट रहेको जनताले प्रष्टरूपमा थाहा पाएको बताए ।

उनले संसद्को गतिरोध हटाउन चाँडै संसदीय दलको बैठक बोलाउने र त्यसबाट ठोस निर्णय लिने जानकारीसमेत दिए । सभापति देउवाले संवैधानिक प्रावधानअनुसार प्रदेशमा सभामुख वा उपसभामुखमध्ये एक पद पाउनुपर्ने हो तर संविधानविपरीत कार्य भएकाले अविलम्ब सच्याउनुपर्नेमा जोड दिए ।

Advertisement

एक प्रश्नको जवाफमा सभापति देउवाले बहुचर्चित एमसिसीलाई नेपाली कांग्रेसले पहिला नै समर्थन गरिसकेको र सरकारले पास गर्नुपर्नेमा जोड दिए । उनले पार्टीको महाधिवेशनको मिति कुनै पनि हालतमा परिवर्तन नहुने बताउँदै पार्टीभित्र रहेका केही सामान्य समस्या समाधान गर्दै सङ्गठन बलियो बनाउने जिकिर गरे ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्