युवा नेताहरुले आ–आफै उम्मेदवारी घोषणा गर्नुको परिणाम राम्रो आउदैन् : धनराज गुरुङ, नेता नेपाली कांग्रेस
Advertisement

नेपाली कांग्रेस अहिले चौधौं महाधिवेशनको मुखमा छ । पार्टीका तल्लो तहबाट नेतृत्व छान्ने प्रक्रिया विस्तारै सुरु हुन लागेको छ । साउन र भदौ महिनाभरि पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरणमा सक्रियता बढेको छ । आगामी फागुनमा गर्ने भनिएको महाधिवेशन कोरोना संक्रमणले कतै प्रभावित त हुने हैन भनी आशंका गर्ने अवस्थासमेत बनेको छ । साथै, अब कांग्रेस नयाँ शीराबाट आउनका लागि नेतृत्व तहमा युवा पुस्ताको सहभागिताको कुरासमेत जोडतोडले उठिरहेको छ । यिनै सन्दर्भमा नेपालबहस डटकमले नेपाली कांग्रेसका केन्द्रीय सदस्य, केन्द्रीय अनुशासन समितिका सदस्य तथा युवा नेता धनराज गुरुङसँग गरिएको कुराकानीकाे सार संक्षेप :-

अनुशासन बिना कुनै संगठन चल्न सक्दैन । राम्रो गर्नेलाई पुरष्कृत र गलत गर्नेलाई दण्डित गर्नैपर्छ । सोही अनुरुप नेपाली कांग्रेसले पनि गत आम निर्वाचनका बेला पार्टीलाई क्षति पु¥याउने केही नेतालाई कारबाही गरेको छ । यसमा तनहुँका गोविन्दराज जोशी, कैलालीका पुष्करनाथ ओझा र डँडेल्धुराका रामबहादुर बिष्टलाई कारबाही गर्न समितिले सिफारिश गरेको छ ।

यसैबीच आजै कांग्रेसले राप्रपाका पूर्वमहामन्त्री समेत रहेका नेता सुनीलबहादुर थापालगायत ३१ जना नेताहरुलाई पार्टी प्रवेश गराउने तयारी भइरहेको सुनेको छु । यो भनेको नियमित प्रक्रिया हो । ठूलो पार्टीमा मान्छे आउने जाने सामान्य प्रक्रिया हो भन्ने मलाई लाग्छ । तर एकातिर पुराना कार्यकर्तालाई निष्काशन गर्ने अर्कातिर नयाँलाई ल्याउने नीति कतै गलत त भएन भन्ने पनि कतिपयलाई लागेको हुनसक्छ ।

Advertisement

तर मलाई लाग्छ, कांग्रेसको विचार, सिद्धान्त र नीति मान्ने जोसुकैलाई कांग्रेस प्रवेशमा बन्देज छैन र लगाउनुपनि हुँदैन । मुख्य कुरा भनेको पार्टीलाई चलायमान र प्रभावकारी बनाउन सक्नुपर्छ भन्ने हो । यसका लागि सबल र नीतिगत रुपमा स्पष्टता आवश्यक छ । साथै, सिद्धान्त, विचार र नीतिलाई कार्यान्वयन गर्ने प्रतिवद्धता महत्वपूर्ण पक्ष हो । त्यो भएन भने मान्छे आउने र जानुको कुनै अर्थ रहँदैन ।

सूर्यबहादुर थापाका छोरा नै कांग्रेसमा प्रवेश गर्दा नेपाली कांग्रेसलाई भयङ्करै प्रभाव पर्ला भन्ने कतिपयको धारणा सुनिएको छ । तर मलाई त्यस्तो लाग्दैन । मुख्य कुरा व्यक्ति भन्दा नीति र कार्यक्रम महत्वपूर्ण हो । हिजो विजय गच्छदारले नेतृत्व गर्नुभएको लोकतान्त्रिक फोरम नै नेपाली कांग्रेसमा विलय हुँदासमेत खासै प्रभाव भएन । सुनील त केही व्यक्ति मात्रै लिएर आउने सुनेको छु । त्यसैले व्यक्ति को आयो भन्दा पनि वैचारिक रुपमा हामी कति स्पष्ट छौं त्यसमा प्रभाव पर्छ । राष्ट्रिय मुद्धामा कांग्रेस स्पष्ट हुनुप¥यो । त्यसलाई बल पु¥याउने मानिसको आगमन चाहिं अर्थपूर्ण हुने हो ।

अहिले हामी प्रतिपक्षमा भएका बेलासमेत सरकारसँग भागबण्डा खोज्न हतारिएका छौं । त्यो कुनै पनि दृष्टिले उचित हैन । लामोसमय कांग्रेसमा योगदान गर्नेहरु अहिलेपनि पदविहिन र निरिह अवस्थामा छन् । तर जीवनभर कांग्रेसलाई गाली गर्नेहरु चाहिं एकैपटक सहमहामन्त्री वा केन्द्रीय सदस्य बनाइने अवस्थामा कार्यकर्तामा निराशा आउन सक्छ । तर पद ठूलो कुरा होइन , निष्ठा र योगदान महत्वपूर्ण हो । एकपटक कसैले दिएको भरमा पाएको पद भोलि कार्यकर्ताबाट अनुमोदन भएन भने त्यसको कुनै अर्थ पनि रहने छैन ।

नेपाली कांग्रेस भनेको समुन्द्र हो । त्यहाँ सबैखाले जीव अटाएका हुन्छन् । त्यसैले कांग्रेसमा मान्छे आउने जाने ठूलो कुरा होइन । मुख्य कुरा समुन्द्र संग्लो हुनुपर्छ । समुन्द्रले आफ्नो पहिचान गुमाउनु भएन । त्यो महत्वपूर्ण कुरा हो । एकैपटक सहमहामन्त्री जस्तो महत्वपूर्ण पद त्यो पनि महाधिवेशनको मुखैमा दिने कुरा ठीक हो वा गलत भन्ने कुुराको तय महाधिवेशनमा कार्यकर्ताले गर्ने हो । व्यवस्थापन गर्ने नाममा पद मिलाइएको होला, तर यही नै मुख्य कुरा होइन । पार्टी प्रवेश गर्ने वा पद दिनेले यसको मर्म बुझ्नु पर्छ । फेरि नेता बन्न पद नै चाहिन्छ भन्ने छैन । गणेशमान सिंह होस् वा महान्मा गान्धी, उहाँहरु कहिल्यै पदमा बस्नु भएन । तर उहाँहरु सधैं नेता कहलिनु भयो । त्यसैले पदले हैन कामले नेता बन्ने हो ।

अर्काे कुरा महाधिवेशनको मुखमा पार्टी सभापतिले एकलौटी रुपमा विभाग बनाउनेदेखि विभिन्न पदमा मनोनयन गर्ने काम गर्नु त्यति स्वभाविक मान्न सकिन्न । हुन त अहिले कसैलाई मनोनयन गरेकै भरमा केही हुनेवाला चाहिं छैन । तैपनि यतिबेला सभापतिले विचार गर्नुपर्ने हो । विधि विधानलाई अपनाइनुपर्ने हो । सभापतिलाई विधानको कुन दफाले त्यो अधिकार दिएको छ, त्यसबारे स्पष्ट हुनपर्छ । त्यसैले यही कारणले महाधिवेशनलाई प्रभावित पार्ने कुरा मलाई पत्यार लाग्दैन । नयाँ विधान बमोजिम ६ महिना भित्र विभाग गठन र मनोनयन गरिसक्नुपथ्र्याे । तैपनि अहिले गरेर पनि त्यसले कुुनै प्रभाव नै पार्ला भन्ने लाग्दैन । सभापतिले अहिले गरेका काम कारबाहीकै आधारमा आगामी महाधिवेशनले समीक्षा गर्ने छ ।

अब युवा पुस्ताले नै कांग्रेसको कमान थाम्नुपर्ने बेला आएको छ । यसका लागि हामी युवा पुस्ताका नेताहरु विचारविमर्शमा रहेका छौं । साथै आसन्न महाधिवेशनलाई आफ्नै ढंगले समीक्षा गरेका छौं । सबै कुरा सहमति र सहकार्यमा गर्ने हाम्रो सोच रहेको छ । व्यक्तिगत चाहना वा महत्वकांक्षाको कुनै अर्थ रहँदैन । कसैले एकलौटी रुपमा सभापति उठ्छु वा कुनै अमुक पदमा उठ्छु भन्ने भन्दा पनि सल्लाह गरेर मात्रै अगाडि बढ्नु पर्छ । कोही आत्मकेन्द्रित भएर महोत्वाकांक्षा प्रदर्शन गर्ने बेला यो होइन ,सल्लाह भइरहेको छ । त्यसबाट नेतृत्व रुपान्तरण र पुस्तान्तरण हुने हो ।

कसैले एक्लै यसो र उसो गर्छु भन्दा त्यसको प्रभाव रहनेवाला छैन । किनभने संगठन भनेको सबैजना मिलेर बनाउने हो । सामुहिक प्रयासले मात्रै कांग्रेसलाई नयाँ शीराबाट लैजान सकिन्छ । गगन थापाले सभापतिमा उठ्छु भनेको कता हो पढेको हुँ । तर यो कसैले व्यक्तिगत रुपमा घोषणा गर्नुभन्दा सरसल्लाहबाट गरियो भने उचित हुने मेरो धारणा हो । आफूखुशी कसैले घोषणा गर्छ भने त्यसको परिणाम पनि स्वयं उसैले खोज्ने हो ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here