प्रधानमन्त्री रोजगार कार्यक्रम : ६० हजारभन्दा बढीले पाए रोजगारी
Advertisement

१७ साउन, काठमाडौं । देशभित्रै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यका साथ शुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट हालसम्म ६० हजारभन्दा बढीले रोजगारी प्राप्त गरेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार उक्त कार्यक्रमबाट ६० हजार ६० जनाले रोजगारी प्राप्त गरेका छन् । सो कार्यक्रमलाई सरकारले थप व्यवस्थित गर्दै आगामी दिनमा थप नयाँ योजना र कार्यक्रमका साथ अगाडि बढाउने लक्ष्य र योजना बनाएको छ ।

विभिन्न दातृ निकायले समेत कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बेरोजगार युवालाई रोजगारी दिने नितान्त मौलिक कार्यक्रमका रुपमा सरकारले यो कार्यक्रमलाई अगाडि बढाएको छ । यस्तै श्रमिकलाई दीर्घकालीन हित गर्ने लक्ष्यका साथ अगाडि सारिएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा एक लाख ६८ हजार ८७० योगदानकर्ता आबद्ध भएका छन् ।

Advertisement

मन्त्री रामेश्वर राय यादवको अध्यक्षतामा यस मन्त्रालय र अन्तर्गतका निकायले आर्थिक वर्ष २०७६-७७ मा सञ्चालित वार्षिक कार्यक्रम तथा आयोजनाहरुको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समीक्षामा उक्त विवरण पेश भएको हो ।

सो कार्यक्रममा मन्त्रालय र मातहतका विभागीय प्रमुखलगायत अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको प्रतिनिधिको समेत सहभागिता रहेको सहसचिव एवम् प्रवक्ता सुमन घिमिरेले जानकारी दिए । सो अवसरमा मन्त्रालयका वार्षिक आयोजना र कार्यक्रमको समग्र भौतिक र वित्तीय प्रगति तथा भएका मुख्य क्रियाकलापको प्रस्तुति गरिएको थियो ।

आव ०७६-७७ मा मन्त्रालयअन्तर्गत पहिलो प्राथमिकता प्राप्त आयोजनामा आठ र दोस्रो प्राथमिकता प्राप्त आयोजना तीन गरी कूल ११ परियोजना सञ्चालन गरिएको थियो । ती कार्यक्रममा कूल बजेट रु छ अर्ब ४० करोड ५२ लाख विनियोजन गरिएको थियो ।

मन्त्रालय अन्तर्गतको १४४ वटा माइलस्टोनमध्ये ८८ सम्पन्न तथा ४५ आंशिक सम्पन्न रही कूल सङ्ख्याको ७५ प्रतिशत कार्य प्रगति हासिल भएको छ । मन्त्रालयको बेरुजु फछ्र्यौट ५५.५० र गुनासो व्यवस्थापनमा ७२ प्रतिशत प्रगति भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशीले टिप्पणी गर्दै रोजगारी तथा सीप विकासमा केन्द्रित रही दीर्घकालीन लक्ष्य र पन्ध्रौँ योजनाका सूचक अनुसारका रणनीति हासिल गर्न थप क्रियाशीलता आवश्यक रहेको बताए । अर्थ मन्त्रालयका उपसचिव दिलीपकुमार गौतमले बजेट विनियोजनअनुरुप कार्यान्वयनमा समेत नतिजामुखी हुन जरुरी रहेको बताए ।

मन्त्रालयका सचिव तोयम रायाले प्रस्तुतिका लागि धन्यवाद ज्ञापन गर्दै विगतको अनुभवका आधारमा चालू आर्थिक वर्षमा थप प्रगति हासिलका लागि दृढतापूर्वक क्रियाशील हुन निर्देशन दिए । समीक्षा बैठकमा मन्त्री यादवले कोरोनाको विपद्का कारण सन्तोषजनक प्रगति हासिल भएको उल्लेख गर्दै विभिन्न निकायले दिएको सुझावका आधारमा भौतिक पूर्वाधार, जनशक्ति, विधि र प्रविधिमा सुधार गरी आगामी दिनमा कार्य सम्पादन गरिने बताए ।

उनले रोजगारी व्यवस्थापन, श्रम सम्बन्ध विकास तथा सामाजिक सुरक्षाका दायरा बढाउने गरी समन्वयात्मक रुपमा कार्यतालिकासहित परिणाममुखी कार्यान्वयनमा सक्रिय रहन मातहका निकायलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

Advertisement
Previous articleराष्ट्रपतिबाट बकर इद ‘इदुल जोहा’ पर्वको शुभकामना
Next articleदक्षिण सुडानका १३ लाख बालबालिका कुपोषणको उच्च जोखिममा

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here