शुक्रबार , कार्तिक १४, २०७७

चार पालिकाका ७६४ खरका छाना विस्थापित गरिने

चार पालिकाका ७६४ खरका छाना विस्थापित गरिने

२८ असोज, गलकोट । बागलुङ क्षेत्र नं १ अन्तर्गत रहेका चार पालिकाकाका ७०० बढी घरका खरका छाना विस्थापित गरिने भएको छ । सङ्घीय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत ७६४ घरमा रहेका खरका छाना विस्थापित गरी जस्तापाताले घर छाइने भएको हो । खरको छाना विस्थापित हुँदा हरेक वर्ष छाउनुपर्ने समस्याको अन्त्य र आगलागीका घटनामा समेत कमी ल्याउन मद्दत पुग्नेछ । स्थानीय सरकारले शुरु गरेको खरको छानामुक्त गर्ने अभियानलाई सकारात्मक कदमका रुपमा लिइँदै आइएको छ ।

स्थानीय तहले खरका छाना विस्थापित गर्ने कार्यक्रम ल्याए पनि थोरै बजेटका कारण पालिकाका सबै खरका छाना विस्थापित गर्न नसकिएका कारण सङ्घीय सरकारले आगामी दुई वर्षभित्रमा खरका छाना विस्थापित गर्ने गरी कार्यक्रम स्वीकृत गरेको सङ्घीय सांसद तथा सुरक्षित नागरिक आवास समन्वय समिति बागलुङका संयोजक डा सूर्य पाठकले जानकारी दिए ।

स्थानीय तहले सङ्कलन गरेको खरका छानाको सङ्ख्याका आधारमा कार्यक्रम स्वीकृत भएर आएको डा पाठकको भनाइ छ । “अबको दुई वर्षभित्र सक्ने गरी क्षेत्र नं १ का सबै खरका घरमा जस्ता लाइनेछ”, सांसद पाठकले भने, “खरका छानामुनि बस्नुभएका नागरिकलाई सुरक्षित आवासका लागि स्थानीय तहको संयोजनमा सङ्घीय सरकारले काम थालेको हो ।”

डा पाठकका अनुसार ७६४ घरका लागि प्रतिपरिवार रु ५० हजार बराबरको जस्तापाता उपलब्ध गराइनेछ । जसका लागि बागलुङ क्षेत्र नं १ मा मात्रै रु तीन करोड ८२ लाख खर्च गरिनेछ । यसवर्ष नै अधिकांश घरमा रहेको खरको छाना विस्थापित गरिने भए पनि छुट भए अर्को वर्ष यस क्षेत्रलाई खरको छानामुक्त गरिनेछ । स्थानीय सरकारले गर्दै आएको कामलाई सङ्घीय सरकारले निरन्तरता दिएकाले नागरिकले छिट्टै खरको छानामुक्त घर पाउने बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए।

खरको छाना विस्थापित हुनेमा बागलुङ नगरपालिकामा १६४, जैमिनी नगरपालिकामा २३०, बरेङ गाउँपालिका ९६ र काठेखोला गाउँपालिका १७४ घर छन् । स्थानीय तहले आफ्नो पालिकामा विस्थापित गर्न बाँकी रहेका खरको छाना भएको घरको विवरण सङ्घीय सरकारलाई पेश गरेपछि कार्यक्रम स्वीकृत भएर आएको हो । यस्तै बढी मात्रामा खरका छानासहितको घर भएको जैमिनी नगरपालिकामा सङ्घीय सरकारले विषेश अनुदानमार्फत रु एक करोड २० लाख बजेट स्वीकृत भएर आएको सांसद पाठकले जानकारी दिए ।

गरिबीका कारण खरका छाना हटाउन नसकेका स्थानीयवासीलाई सरकारले खरको छानामुक्त गर्ने योजना ल्याए विपन्न समुदायलाई राहत हुनेछ । नागरिकको सुरक्षित आवास भए मात्रै अन्य विकास गर्न सकिन भएकाले खरका छानामुक्त गर्ने अभियान चलाइएको हो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय