शुक्रबार , कार्तिक १४, २०७७

शिखर सुज वित्तीय संकटमा, सेन्चुरी बैंकले निकाल्यो नोटिस

शिखर सुज वित्तीय संकटमा, सेन्चुरी बैंकले निकाल्यो नोटिस

२८ असोज, काठमाडौं । नेपाली जुत्ताचप्पलमा चर्चित ब्राण्ड शिखर सुज वित्तीय संकटमा परेको छ । व्यवसायी रामकृष्ण प्रसाईले शिखर सुजलाई नेपालको जुत्ताचप्पलमा एक नम्बर ब्राण्ड नै बनाएका थिए । आक्रामक बजार रणनीतिले गर्दा छोटो समयमा नै प्रसाई व्यवसायिक रुपमा सफल बनेका थिए । काठमाडौंको गोलढुंगामा शिखर सुजको उद्योग थियो ।

प्रसाईले काठमाडौंमा पाएको सफलतापछि विराटनगरमा समेत उद्योग खोलेका थिए । शिखर सुजले छोटो समयमा सफलता प्राप्त गरेपनि नेपाली बजारमा अन्य जुत्ता चप्पलका ब्राण्ड समेत थपिए । कतिवटा ब्राण्ड त शिखर सुजमा उच्च तहमा काम गरेका कर्मचारीले समेत खोलेका थिए ।

नेपालमा नै उद्योग चलाएका प्रसाईलाई विदेशबाट समेत आउने सस्ता मूल्यको जुत्ताचप्पलले मार पार्यो । विरानगरमा उद्योग खोलेपछि नै प्रसाईको आम्दानीभन्दा दायित्व बढी भएको थियो । बजारमा थपिएका अन्य ब्राण्ड र विदेशबाट सस्तो मूल्यमा आएका जुत्ता चप्पलले गर्दा शिखर सुजको बिक्री सोचे अनुसार भएन ।

‘विराटनगरमा उद्योग खोल्ने नीतिले २ वर्षदेखि नै प्रसाईजी बढी दवावमा हुनुहुन्थ्यो, चैतदेखि भएको लकडाउनले त झन त्यसलाई बढायो,’प्रसाईले नजिकबाट चिनेका एक व्यवसायीले भने । २ वर्ष अगाडि नै अत्याधिक जुत्ताको सेल मेला भृकृटीमण्डपमा भएको थियो । प्रसाई आफैले पनि धेरै मेला गरेका थिए । यो पटक चैतदेखि भएको लकडाउनले गर्दा यस्ता मेलाहरु आयोजना हुन सकेनन् । डिजिटल प्रणालीबाट समेत उनले आफ्नो उत्पादन बेच्न भने सकेनन् ।

कुनै बेला शिखर सुजले जुत्ता किन्दा बम्पर पुरस्कार भनेर अल्टो गाडी समेत दिएको थियो । लकडाउनको मारमा जुत्ता चप्पल उद्योग थप समस्यामा परेका थिए । चीनबाट न्यून विजकीकरण गरेर आउने जुत्ता चप्पलले स्वदेशी उद्योगलाई थप घाटा भयो ।

शिखर सुजले सेन्चुरी बैंकबाट लिएको ऋण नतिरेपछि बैंकले उनी विरुद्द ३५ दिनको सूचना जारी गरेको छ । बैंकले उनको काठमाडौंमा रहेको घरजग्गा तथा काठमाडौंमा रहेको उद्योगको घरजग्गा तथा विरानटगरमा रहेको उद्योगको घरजग्गा लिलाम गर्ने सूचना जारी गरेको छ ।
ब्राण्ड बनाएको कम्पनी लकडाउनको कारण वित्तीय संकटमा पर्नु राम्रो नहुने व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय