आइतबार , कार्तिक ९, २०७७

झापामा कोरोनाबाट थप एकको मृत्यु : सक्रिय ३२१

झापामा कोरोनाबाट थप एकको मृत्यु : सक्रिय ३२१

३० असोज, बनियानी । झापामा कोभिड–१९ को संक्रमणबाट थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–१ का ५१ वर्षीय पुरुष छन् । स्वास्थ्य कार्यालय झापाका कोभिड–१९ फोकल पर्सन जीवन चौलागाईँका अनुसार उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा बिहीबार राति निधन भएको हो ।

कोरोना भाइरसको लक्षण देखिएपछि परीक्षणका क्रममा असोज २७ गते उनमा कोरोना पोजिटिभ देखिएको उनले बताए । “सास फेर्न गाह्रो भएपछि बिएण्डसीमा उपचारका लागि राखिएको थियो”, उनले भने, “उपचारकै क्रममा हिजो ‘बिहीबार’ राति निधन भएको हो ।” यससँगै झापामा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।

यता झापामा आज ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नौ स्थानीय तहका आठ महिला र २२ पुरुषमा कोरोना पुष्टि भएको चौलागाईंले जानकारी दिए । भद्रपुरमा सात, बिर्तामोडमा नौ, अर्जुनधारामा तीन, कनकाई, कमल र शिवसताक्षीमा एक एक, दमकमा चार तथा बुद्धशान्ति र गौरादहमा दुई दुई जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै झापामा कोरोना संक्रमितको सङ्ख्या एक हजार २५० पुगेको छ । निको हुनेको सङ्ख्या ९१६ छ । जिल्लामा ३२१ सक्रिय संक्रमित छन् । जिल्लामा हालसम्म २८ हजार ४६३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय