१२ मंसिर २०७८, आईतवार

अब पनि सग्लो नेकपा रहला र ?

प्रकाशित मिति :  १४ कार्तिक २०७७, शुक्रबार १३:१८


म भ्रष्टाचार गर्दिन र सहन पनि सकिदैन : प्रधानमन्त्री ओली

१४ कार्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्रको अन्तरद्धन्द्धले लिएको पछिल्लो रुपले भन्छ– अब सग्लो पार्टी रहन गाह्रै पर्ला । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले पार्टी र सरकार निजी कम्पनीका रुपमा चलाउने दम्भ देखाएको भन्दै शीर्ष नेताहरु फेरि बिच्किएका छन् । अहिले ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सम्बादहिनताको अवस्था छ । दशैँ अघिदेखि नै अध्यक्षद्वयबीच सम्बाद छैन ।

खासगरी कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्ध ओली पक्षले गरेको अविश्वास प्रस्ताव दर्ता प्रकरणले अन्तरद्धन्द्धलाई फेरि उत्कर्षमा पु¥याएको छ । पार्टी भित्र पूर्व माओवादीप्रति ओली समूहको ज्यादति नै हुन थालेको छ । त्यसैले अब पार्टी एकता बचाउन मुश्किल भएको हो । प्रधानमन्त्री ओलीले पछिल्ला दिन प्रचण्डलाई पेलेरै जाने मनस्थिति बनाएका छन् । त्यसैले उनी भदौ २६ मा स्थायी कमिटीले दिएको निर्देशन विपरित सरकारी नियुक्ति र मन्त्रिपरिषद पुनर्गठन गर्न उद्यत् देखिएका छन् । एकातिर प्रचण्डसँग वार्ता गरेर इन्गेजमा राख्ने अर्कातिर एकपक्षीय रुपमा पार्टी र सरकार चलाउने खेल ओलीबाट भएको ठम्याई पूर्व माओवादी पक्षको रहेको छ ।

 

कर्णाली प्रदेशबाट आएका नेताहरुसँग दशैँ अगावै दुबै अध्यक्षले सामुहिक रुपमा भेट गर्ने योजना बनाइएको थियो । तर प्रचण्डले ओलीको सरकारी निवासमा जान रुचि देखाएनन् । त्यसपछि भने ओलीले नयाँ रणनीति बनाएका छन् । प्रचण्डलाई हैसियत देखाइदिने उनको सोच रहेको छ । यसका लागि उनले पार्टीकै अर्का नेता माधवकुमार नेपालको सहयोग लिन खोजेका छन् । दशैँ लगत्तै उनले नेता नेपालसँग दुई पटक गोप्य छलफल गरेका छन् । यसक्रममा उनले प्रचण्डलाई कर्नरमा पारेर जान आफू तयार रहेको भन्दै नेपालसँग सहयोग मागेका थिए । तर नेता नेपालले पहिला तपाईं आफै सच्चिन तयार हुनुहोस् अनि मात्र अरु विषयमा कुरा गरौँला भनेर जवाफ दिएको स्रोतको भनाई छ ।

नेकपा नफुट्ने माधव नेपालको दाबी

अविश्वासको त्राश

नेता नेपालले समेत ओलीलाई साथ नदिने अवस्था निर्माण भएपछि प्रतिकुल वातावरण बन्ने अवस्थाको आंकलन ओली पक्षले गरेको छ । दशैंको बिदाकै बेला प्रचण्ड र नेता नेपाल ओलीविरुद्ध कसिलो मोर्चाबन्दी गर्न अग्रसर भएका छन् । यसक्रममा उनीहरुले आवश्यक परे ओली विरुद्ध अविश्वास प्रस्ताव समेत दर्ता गर्न तयार हुनुपर्ने सोच बनाएको स्रोतको भनाई छ । यस्तो अविश्वास संसदीय दलमा ल्याउने कि संसद्मै पेश गर्नेबारे दुईथरि धारणा आएको थाहा भएको छ ।

प्रचण्ड पक्षले संसदमै प्रस्ताव लगे नेपाली कांग्रेसलगायत सबै विपक्षीको साथ पाइने भएकाले सजिलै पारित हुने तर्क गरेको थियो । उता, नेपाल पक्ष भने अहिले नै सदनमा अविश्वास प्रस्ताव नलगी पहिला संसदीय दलमै ओलीलाई अल्पमतमा पारेर राजीनामा गर्न वाध्य बनाइनु उचित हुने धारणा राखेको छ । यसको सुइँको ओलीले पाएका छन् । त्यसैले फेरि नयाँ फण्डा फाल्ने उनको योजना रहेको छ ।

केपी र प्रचण्डबीच हुने भनिएको छलफल अन्तिम समयमा स्थगित

प्रचण्डलाई फेरि फकाउँदै

आफू विरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका प्रचण्डलाई फेरि फकाउने ओलीको दाउ देखिएको छ । यसका लागि ओलीले बुधबार पनि प्रचण्डलाई वार्ता गर्न बालुवाटार डाकेका थिए । तर प्रचण्ड भने ओलीलाई भेट्न तयार भएनन् । त्यसपछि ओलीले आफ्ना दूतका रुपमा तीनजना नेतालाई पठाएको स्रोतको भनाई छ । बुधबार साँझ अर्थमन्त्रीसमेत रहेका पार्टी महासचिब विष्णु पौडेल ओलीको दूतका रुपमा खुमलटार गए । ओलीको कुनै कुरा पनि प्रचण्डले सुन्ने चाहना राखेनन् । साथै, पहिला पूर्व सहमति पालना भएको प्रत्याभूति होस् अनि मात्र थप छलफल गरौंला मात्र भनेको स्रोतले बताएको छ ।

प्रचण्ड टसका मस नभएपछि हिजो बिहान ओलीले सुुभाषचन्द्र नेम्बाङलाई खुमलटार पठाए । नेम्बाङले पनि प्रचण्डलाई थामथुम पार्न कोशिश गरे । अब अध्यक्षद्वय बसेर वृहत्त रुपमा मन्त्रिपरिषद पुनर्गठन गर्न सहमति गर्नाेस् , त्यसका लागि प्रधानमन्त्री ओली सकारात्मक हुनुहुन्छ भन्ने सन्देश प्रचण्डलाई सुनाए । तर प्रचण्डले भने पुरानै अडान दोह¥याए । प्रधानमन्त्रीबाट पूर्व सहमति कार्यान्वयन नभएसम्म थप छलफलको कुनै अर्थ नरहेको नै उनले नेम्बाङलाई समेत सुनाए ।

त्यसपछि ओलीले साँझ अर्का नेता शंकर पोखरेललाई प्रचण्ड निवास पठाएका थिए । हिजै साँझ नेता पोखरेलले प्रचण्डलाई भेटेर नेताहरुबीचको बेमेल हटाउन र पार्टी एकतालाई थप मजबुत बनाउन ओली र प्रचण्ड दुबै जनाले त्याग गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । तर प्रचण्ड भने पूर्व सहमति कार्यान्वयन नै बटम लाइन भएको भन्दै टसका मस भएनन् ।

ओली पक्षको समीक्षा

ओलीको सन्देश लिएर गएका सबै नेतालाई निराश पारेका प्रचण्डसँग अब कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा हिजो राति छलफल भएको थियो । ओली पक्षका नेताहरु उपप्रधानमन्त्री इश्वर पोखरेल निवासमा भेला भएका थिए । त्यहाँ प्रचण्डले अनावश्यक रुपमा सरकारी काममा अड्चन ल्याउन खोजेको निश्कर्ष निकालियो ।

पार्टीको कार्यकारी अध्यक्ष भएको व्यक्तिले प्रधानमन्त्रीको काममा अनावश्यक हस्तक्षेप गर्न खोजेको समीक्षा गरियो – स्रोतले बताएको छ । साथै, ओलीबाटसमेत केही कमजोरी भएको उनीहरुको ठहर थियो । खासगरी मन्त्रिपरिषद पुनर्गठन गर्दा ओलीले आफू पक्षीयलाई मात्र समेट्नु गलत रहेको उनीहरुको निश्कर्ष रह्यो । तर अब भने त्यसलाई सच्याउनुपर्ने उनीहरुको धारणा छ । यसका लागि पहिला आली र प्रचण्डबीचको सम्बादहिनता तोड्नै पर्ने उनीहरुको साझा धारणा छ । यसका लागि ओलीले थप पहल गर्नुपर्ने भन्दै छलफल टुंगिएको थियो ।

आफूनिकट स्थायी समिति सदस्यलाई एक ढिक्का हुन प्रचण्डको अनुरोध

प्रचण्ड फकाउन सहज छैन

पछिल्लो अवस्था हेर्दा अब ओली सबैतिरबाट घेराबन्दीका परेका छन् । ओलीले सबै नेतालाई प्रयोग गर्ने रणनीति बनाएको बुझेका प्रचण्ड अब भने त्यसै फकिनेवाला छैनन् । प्रचण्ड निकट स्रोत भन्छ– पहिला ओलीले पूर्व सहमति बिपरीत गरेका काम सच्याउनुपर्छ । साथै, सचिबालय बैठक बसेर नेताहरुका सामुन्ने गल्ती स्वीकार गरेर सच्याउने प्रतिवद्धता जाहेर गरे मात्रै ओलीसँग छलफल गर्ने पक्षमा प्रचण्ड रहेका छन् ।

अब सबै काम सामुहिक रुपमै छलफल गरेर टुंग्याउनुपर्छ भन्दै प्रचण्डले तत्काल सचिबालय बैठक बोलाएर ओलीले आत्मालोचना गरे मात्र सम्बाद गर्न सकिने बताएको स्रोतको भनाई छ । होइन भने ओलीको हली गोठालो बन्न मात्रै पूर्व माओवादी नेताहरु नआएको पनि प्रचण्डले निकटहरुसँग कुरा गर्न थालेका छन् । यस्तै पारा हो भने सग्लो पार्टी रहनुपर्छ भन्ने ठेक्का हामीले मात्रै लिने होइन– प्रचण्डले यस्तो अभिव्यक्ति दिन थालेको स्रोतको भनाई छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा