२२ मंसिर २०७८, बुधबार
राजनीति

के माधव नेपालले पार्टी फुटाउन ओलीलाई साथ देलान् त ?

प्रकाशित मिति :  १७ कार्तिक २०७७, सोमबार १२:३०


१७ कार्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको अन्तरद्धन्द्ध यतिबेला रोचक बन्न पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीको पछिल्लो चालाले विवादलाई रोचक बनाएको हाे ।  अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको विवाद उत्कर्षमा पुगेपछि ओलीले भनेका छन्– अब भेडा भेडा एकातिर र बाख्रा बाख्रा अर्कातिर हुने भयो । अर्थात, नेकपा सग्लो रहने अवस्था देखिएन ।

एकता प्रक्रिया पूरा नहुँदै विभाजनको दिशामा पार्टी पुगेको निश्कर्ष सबैले निकालेका छन् । साथै, ओलीले नेताहरुको नाडी छामेर व्यवहारसमेत गर्न थालेको देखिन्छ ।  प्रचण्डसँग मिलेर नबस्ने लगभग निश्कर्ष नै निकालेका प्रधानमन्त्री ओलीले अब अर्का नेता माधवकुमार नेपालको साथ र सहयोग लिएर अगाडि बढ्ने सोच बनाएको देखिन्छ ।

प्रचण्डसँग अगल भएरै जाने पक्षमा देखिएका ओलीको पछिल्लो कदम नेता नेपाललाई मिलाउनेतिर केन्द्रित देखिएको छ । यसका लागि उनले आफ्ना दूतहरुलाई सकृय बनाएका छन् । पहिलो चरणमा हिजो नेता प्रदीप नेपालसँग दूतहरुको टोली पठाएर नाडी छाम्ने काम गरेका छन् ओलीले ।  गोठाटारस्थित प्रदीप नेपालको निवासमै पुगेर ओलीका दूतहरुले अब पूर्व माओवादीसँग एकता गरेर अगाडि बढ्न नसक्ने अवस्था आएको भन्दै अर्का नेता माधव नेपाललाई सम्झाइदिन आग्रह गरे ।

माधव नेपालका अत्यन्त विश्वासिला नेता प्रदीप हिजोआज राजनीतिमा सकृय देखिंदैनन् । स्वास्थ्य अवस्था कमजोर रहेकाले उनी राजनीति भन्दा टाढै रहन रुचाउँछन् । तर ओलीका दूतहरुको आग्रहलाई उनले गम्भिरतापूर्वक लिएका छन् । यसबारे आज माधव नेपालसँग कुरा गर्ने उनले बताएका थिए ।

स्वास्थ्यमन्त्री ढकालको परिवारलाई कोरोना

प्रदीपसँगको छलफलमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालका साथै ओलीका सल्लाहकार समूहका सदस्यहरु पुगेका थिए । गोठाटारबाट फर्केर यो समूहले प्रधानमन्त्री ओलीलाई हिजै सबै ब्रिफिङ गरेको थियो । त्यसपछि भएको छलफलमा जसरी भएपनि नेता नेपाललाई नै साथमा लिएर पूर्व माओवादी पक्षलाई किनारा लगाउने निश्कर्ष निकालिएको छ । यसका लागि यही समूहले आज नेता नेपाललाई उनको कोटेश्वरस्थित निवासमै गएर भेट्ने भएको छ ।

माधवले प्रदीपलाई भेट्दै

आज बिहान ११ बजेका लागि ओलीका दूतहरुलाई नेता नेपालले कोटेश्वर बोलाएको स्रोतको दाबी छ । उनीहरुसँगको भेटपछि नेता नेपाल प्रदीपको निवासमै गएर भेट्ने तयारीमा रहेको निकटवर्ती स्रोतले बतायो । यसबारे माधवले प्रदीपलाई जानकारी गराइसकेको बताइन्छ । दिउँसो २–३ बजे माधव कम्रेडले प्रदीपलाई भेट्ने समय तालिका बनाएको पनि स्रोतको दाबी छ । संकटका बेला जहिलेपनि माधवले प्रदीपको सल्लाह लिने गरेका छन् । त्यसैले आजपनि सल्लाह लिने गरी माधव कम्रेड जाँदै हुनुहुन्छ– स्रोतको भनाई छ ।

प्रचण्ड माधव संवाद

हिजो साँझैदेखि गर्माएको राजनीतिलाई कसरी सम्हाल्ने भन्ने विषयमा प्रचण्ड र नेता नेपालबीच पटक पटक वार्ता भएका छन् । ओलीले अब नेकपा सचिवालय बैठक नबोलाउने र निर्णय पनि नमान्ने भन्दै सल्लाहमै पार्टी फुटाउँ भनेकाले कसरी जाने भन्नेबारे नेताहरुले गम्भिरतापूर्वक छलफल गर्न थालेका छन । आज बिहान पनि प्रचण्ड र नेता नेपालबीच संवाद भएको स्रोतको भनाई छ ।

ओलीले नेता नेपाललाई फकाउन थालेको समाचार सार्वजनिक भएपछि त्यसबारे बुझ्न प्रचण्डले टेलिफोन गरेका थिए । साथै, ओलीको प्रस्तावबारे तपाईंको धारणा के हो भनेर जिज्ञाशासमेत राखेका थिए । जवाफमा नेता नेपालले अब ओलीको अर्काे फण्डा मात्रै आएको भन्दै गठबन्धन अझै मजबुत बनाउनुपर्ने प्रष्ट गरेका थिए । साथै आज ओलीका दूतहरुसँग भेटेर प्रदीप कहाँ जाने कार्यक्रम रहेकापनि उनले प्रचण्डलाई बताएका थिए ।

ओली आक्रमक, प्रचण्ड रक्षात्मक

अब सँगै मिलेर जान नसकिने भन्दै ओलीले प्रचण्डलाई पार्टी विभाजनको संकेत गरेपछि पूर्व माओवादी पक्षधर गम्भिर बनेको छ । प्रचण्डले निकटवर्ती नेताहरुसँग यसबारे छलफल गरेका थिए । साथै, कर्णाली प्रदेशमा गर्न लागिएको मन्त्रिमण्डल पुनर्गठनसमेत अहिले स्थगित गर्ने निर्णय नेताहरुले गरे । प्रचण्ड पक्षले अब ओली झिनामसिना विषयमा समेत विवाद खडा गरेर पार्टी विभाजनको दोष प्रचण्डमाथि लगाउने दाउमा रहेको आंकलन गरेको छ । त्यसैले अहिले आफूहरु एक कदम पछाडि हटेरै भएपनि ओलीलाई मौका नदिने पक्षमा रहनुपर्ने ठहर प्रचण्ड पक्षले गरेको छ ।

ओली पक्षले भने प्रचण्डले नै पूर्व सहमति तोडेको आरोप लगाउने गरेको छ । पार्टीको कार्यकारी अध्यक्षको भूमिकामा पुगेका प्रचण्ड अनावश्यक रुपमा सरकारको कामतिर दखलअन्दाज गर्न तम्सिएको उनीहरुको भनाई छ । सरकार कसरी चलाउने भन्ने जिम्मा प्रधानमन्त्रीको विषेशाधिकार हो , तर प्रचण्डको ध्यान पार्टी भन्दा सरकारमा बढी देखिएकाले नै समस्या परेको हो । सबैले आफ्नो क्षेत्राधिकार भित्र बसेर काम गर्ने हो भने कुनै समस्या पर्दैन– ओली निकट स्रोतको भनाई छ ।

माधव नै निर्णायक

नेकपा भित्रको पछिल्लो विवादलाई निश्कर्षमा पुु¥याउने हैसियत अब माधव नेपालको पक्षमा गएको छ । नेता नेपालले लिने निर्णय नै पार्टीको भविष्य निर्धारण गर्ने अवस्थामा रहेको छ । गम्भिर स्वभावका माधवले अब कस्तो रणनीति बनाउने हुन् त्यसैमा सबै निर्भर गर्ने देखिएको छ । ओलीले भनेजस्तो पूर्व एमालेको अलगै पार्टी बनाउने की पूर्व माओवादीलाई समेत साथै लिएर जाने भन्ने विषयमा नेता नेपालले लिने निर्णयले सबै निर्धारण गर्ने देखिएको छ ।

ओलीबाट पटक पटक धोका पाएका नेता नेपालले त्यति सहजै ओलीलाई साथ देलान् भन्ने लाग्दैन । तर ओलीले भने जस्तै भेडा भेडा एकातिर र बाख्रा बाख्रा अर्कातिर हुने अवस्था आयो नै भने चाहिंं नेता नेपाल कुन कित्तामा उभिने हुन् त्यो भने हेर्न बाँकी नै छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा