
३० मंसिर, काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट अघिल्लो आर्थिक वर्षमा वितरित लाभांशमा ६.८५ प्रतिशत बढी नै प्रस्ताव गरेको छ । लघुवित्त संचालक समितिको मंसिर २९ गते बसेको बैठकले २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । आ.व. २०७५/७६ बाट लघुवित्तले १३ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद गरी कुल १३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो । आ.व. २०७६/७७ मा भने २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लघुवित्तले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजी ९ करोड ३७ लाखको १९.५० प्रतिशतले हुन आउने एक करोड ८२ लाख रुपैयाँको बोेनस शेयर र बोनस शेयर वापत लाग्ने कर प्रयोजनको लागि १.०३ प्रतिशत अर्थात ९ लाख ६२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएर आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । स्पर्स लघुवित्तको चुक्ता पूँजी ९ करोड ३७ लाख ४८ हजार १९० रुपैयाँ छ । प्रस्तावित बोनस शेयर वितरणपछि ११ करोड २० लाख २९ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
प्रतिक्रिया
पढ्न लाग्ने समय : 0 मिनेट