
२७ पुष, कर्णाली । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ दाहाल–नेपाल समूहका नेता जनार्दन शर्माले दलभन्दा राष्ट्र र संविधानको रक्षाका विषयमा बढी चिन्ता बढेको बताएका छन् । प्रेस सङ्गठन नेपाल सुर्खेतद्वारा यहाँ आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वमन्त्री शर्माले राष्ट्र नै नरहे पार्टीको औचित्य सकिने बताए ।
नेकपामा देखिएको विवाद र फुटले सिङ्गो मुलुक नै समस्यामा रहेको बताउँदै उनले नेपाली जनताको लामो समयको त्याग र बलिदानबाट प्राप्त उपलब्धि, राष्ट्रिय स्वाभिमान र स्वाधीनताको रक्षा गर्नु आजको आवश्यकता रहेको औल्याए ।
पार्टी स्थायी कमिटी सदस्य शर्माले नेकपामा आएको विभाजनले मुलुकलाई समाजवादोन्मुख अर्थतन्त्र र समतामूलक समाज निर्माणतर्फ लैजान बोकेको सुन्दर सपना धरापमा परेको बताए । कर्णाली प्रदेशमा २४ प्रतिशत दलित जनसङ्ख्या हुँदा पनि सरकारमा एक जना मान्छे नहुनु कमजोरी भएको स्वीकार गर्दै पार्टी कर्णाली प्रदेश इञ्चार्ज शर्माले भावी दिनमा मन्त्रिपरिषद् पुनःगठन गर्दा मिलाएर लगिने बताए ।
अब केही समयपछि कर्णाली सरकार पुनःगठन हुने र त्यसमा दलित वर्गलाई समावेश गरेर लैजाने उनले विश्वास दिलाए । परिवर्तनका पक्षधरसँग नयाँ ढङ्गले नयाँ उचाइको एकता गरिने पनि उनको भनाइ थियो ।
प्रतिक्रिया
पढ्न लाग्ने समय : 1 मिनेट