आइतबार , माघ ४, २०७७

स्याङ्जामा कांग्रेसमा प्रवेशको लहर, आँधीखोलाका सयौं नेकपा कार्यकर्ताद्धारा पार्टी परित्याग

स्याङ्जामा कांग्रेसमा प्रवेशको लहर, आँधीखोलाका सयौं नेकपा कार्यकर्ताद्धारा पार्टी परित्याग

२९ पुष, स्याङ्जा । प्रधानमन्त्री केपी ओलीले अचानक संसद बिघटन गरेपछि विभाजित भएको सत्तारुढ नेकपा परित्याग गरि नेपाली कांग्रेस प्रवेश गर्ने लहर देशव्यापी बन्दै गएको छ । सरकारका भ्रष्ट्राचार, अराजकता र वेथितिबाट वाक्कदिक्क भएका नेकपाका कार्यकर्ताहरुको कांग्रेस प्रवेशको लहर स्याङ्जामा पनि बढिरहेको छ ।

यही मेसोमा गत मंसिर २४ गते स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकाका नेकपा नेता तथा कार्यकर्ताहरू नेकपा परित्याग गरि सयौँको सङ्ख्यामा कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा सरकारले भ्रष्टाचारलाई नियन्त्रण गर्न नसकेको, महङ्गी र बेरोजगारी चरम सीमामा पुगेको, नेताहरू जनताका जनजीविकाका सवालमा ध्यान नदिई आफ्नो व्यक्तिगत स्वार्थमा रुमलिएको भन्दै ठूलो सङ्ख्यामा नेकपाका नेता कार्यकर्ता दल परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाल लोकतान्त्रिक बुद्धिजीवी परिषदका केन्द्रिय सदस्य बद्रीकुमार पौडेल र स्थानीय युवा विष्णु पौडेलको सक्रियता र अगुवाइृमा आँधीखोला गाउँपालिका केन्द्र कृषिमा भएको उक्त पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, आमन्त्रित केन्द्रीय सदस्य विश्व गुरुङ ‘भूमि’, संविधानसभा सदस्य राजु थापा, कार्यवाहक जिल्ला सभापति बुद्धिबहादुर राना (कुमार), महाधिवेशन प्रतिनिधि प्रेम पौडेल, नेपाली कांग्रेस आँधीखोला गाउँपालिकाका सभापति नारायणप्रसाद पौडेल ‘शास्त्री’ कांग्रेसका नेताहरू प्रदीप पौडेल, नवीन ढकाल, पृथ्वी पोखरेल, टीकाराम ढकाल, मञ्जु पनेरू, बद्री पौडेल, नन्दलाल शर्मा लगायतको उपस्थिति थियो ।

प्रमुख अतिथि धनराज गुरुङले वर्तमान सरकारले जनताको दुःखसुख मात्र बुझ्न नसकेको मात्र नभई संविधान र लोकतन्त्रको रक्षा गर्न समेत नसकेको धारणा राख्दै कांग्रेसले मात्र संविधान र लोकतन्त्रको रक्षा गर्न सक्ने जिकीर गरेका थिए । उनले भने, “प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम हो । यसले लोकतन्त्रको घाँटी निमोठेको छ ।”

आँधीखोला गाउँपालिकाका सभापति नारायण शास्त्रीको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन आँधीखोला गाउँपालिकाका सचिव नवीन ढकालले गरेका थिए । उक्त कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य भूमि गुरुङ ‘विश्व’ ले कम्युनिष्टहरूले लोकतन्त्रको रक्षा गर्नै नसक्ने हुनाले इतिहासले फेरि एकपटक कांग्रेसको आवश्यकता महसुस गरिरहेको धारणा व्यक्त गरे । उनको जिकिर थियो, “महङ्गी, भ्रष्टाचार, कुशासन र बेथिति वर्तमान ओली सरकारका परिचय हुन् ।”

 

त्यस्तै संविधानसभा सदस्य राजृु थापाले जनताको दैनिक समस्यामा केपी ओली सरकारले कुनै ध्यान नदिएको, कोभिडले नागरिक आक्रान्त भएका बेलामा सरकार भ्रष्टाचारमा मस्त भएको भन्दै सरकारको आलोचना गरे । कार्यवाहक सभापति कुमार रानाले नेपालको इतिहासमा ओली सरकार सबैभन्दा कमजोर र असफल भएको भन्दै ओली निरङ्कुशता र प्रतिगमनको बाटोमा अगाडि बढे पनि कांग्रेसले त्यसलाई असफल पारी लोकतन्त्रको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नवप्रवेशी नागरिक समाजका अध्यक्ष हिमलाल जिटीले आफूहरूले कम्युनिष्टहरूले केही गर्छन् भनेर भोट दिएको तर नेताहरूले आफूहरूलाई प्रयोग गरेर धनपैसा कमाउनमै व्यस्त भएकाले आजित भएर कम्युनिष्ट पाटी छाडेको विचार व्यक्त गरे । नवप्रवेशी शेरबहादुर क्षेत्रीले वर्तमान ओली सरकार माथिदेखि तलसम्मै भ्रष्टाचारमा लिप्त भएको र जनताको दुःखमा कुनै चासो नभएको दुःखेसो व्यक्त गरे ।

नेकपाका डिलबहादुर क्षेत्री, भुवन क्षेत्री, कीर्ति बहादुर क्षेत्रीलगायत थुप्रै सक्रिय कार्यकर्ताहरू प्रवेश गरेको उक्त कार्यक्रममा नवप्रवेशीहरूले कम्युनिष्टहरुले केही गर्छन् भन्ने आशा अब समाप्त भएको भन्दै जे भए पनि कांग्रेसले नै देश र नागरिकको रक्षा गर्ने विश्वास आफूहरूमा पैदा भएको जिकिर गरेका थिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय