स्मृति: फिनिबाजादेखि युट्युवसम्म
नेपालबहस संवाददाता
माघ ६, २०७७ मंगलबार १९:२४:३५
पुषको साँझ । मनै कटक्क पार्ने शिरेटो । ट्यारलिनको सर्ट । निलो जिनको कट्टु अनि कलिला खाली पैतलासँग घुंडाको छाला धुलिने गरि म घोत्लिईरहें एकटक । भुजुवा देसी कम्बलमा गजक्क थिए । उनको अघि फन्फनी रिङ्ने डब्बा थियो । खै के हो ? उनी स-साना टुक्राहरु जोड्थे । जोडिएको तारबाट प्रधानको घरधुरि माथिको लामो हरन बज्थ्यो । भाका त थियो तर भाषा थिएन मेरो । जति गरेनी बुझ्नै सकिन मैले ।
म चानचुन ८ वर्षको हुँदो हुँ सायद । बकुवा बजार सबैका मुखमा आईरहने नाम थियो । बर्दियाको गुलरिया र राजापुरपछि तेस्रोमा पर्थ्यो बकुवा बजार । तेसो त हुम्ली, मुगाली, जुम्ली, दैलेखी र सुर्खेतीहरु मनाउघाट हुँदै भारतको पलिया र राजापुर हाटको छोटो रुट भएर होला, सबै एक बास बस्थे । त्यसबेला वरपरका गाऊं पञ्चायतबाट बकुवा बजार खेल्न आउनेहरुको लर्को लाग्थ्यो ।
आज भने अलिक फरक दिन बन्यो । जिन्दगी नै धुलिने गरि यौवन र जीवन बिताएकी मेरी आमा पिठ्यूंको घाँसको डोको बिसाउँदै मलाई आँखा तर्नु भो । म भनें बासीभातको डल्लासँग तिखो नुन चाट्दै थिए । शिरको रुमाल भूंई नझर्दासम्म आमाले आकाश नियाल्नु भो । मेरा आँखा पनि आकाशिए । केई भेउ पाएनौं हामीले । घुर्मैलो आकाश मात्र थियो माथि माथिसम्म । मेरो घरछानो माथिबाट भने के आवाज उडिरहेको थियो । म रन्थनिंदै यसकै खोजीमा लागें । आवाज प्रधान जीकाे घरतिरबाट आए झैं लाग्यो ।
उसबेलाको पञ्चायत । सार्है मिजासिला, दरिला र भरसिला थिए प्रधान देवीराम गौतम । प्रधानको घर भनेसी आगन छुँदा पनि गर्व लाग्थ्यो । डोर सर्जमिन र भेलाहरुले यो घरको सीमा नाघ्नै नसक्ने थिए ती दिनहरु । उनले बोले त सकियो । मलाई लाग्यो, जे हुन्छ प्रधानकै घर हुन्छ । म सिधैं उतै हानिएं । छोटो बाटो । आली र डल्लाको चिथोराईसँगै मेरा खाली पैतलाले उनको आँगन छोए । बालबृद्ध सबै झुम्मिएका थिए । मेरा ओठ र घुंडाहरु जाडोले सँगसँगै थर्मराए अनि बझारिए । म पनि घुसें भित्र भित्रसम्म । गाईगोबरले लिपेको कोठामाथि बिछ्याएको पराल, परालमाथिको सुकुलमा गजक्क थिए भुजुवा देसी । उता प्रधान जी भने जुम्ली ऊनको पाखीमाथि पलेटी कसेर गजधम्म थिए । उनको अघि थियो फिनिबाजा । भोलि प्रधानका छोराको बिहे । आजदेखि नै मगाएछन् भुजुवा र उसको फिनिबाजा पलिया, भारतबाट ।
फनफनी घुम्ने चक्का । तारबाट बज्ने हरन । ठ्याक्कै मिले मेरो बाल्यकालको धागोले जोडिएको सलाईको बट्टावाला फोनसँग । म अचम्म परें । किन बज्थेन होला मेरो बट्टावाला फोन ? भोलिपल्ट घर सिंगारियो बिहेले । फिनिबाजाको हल्लीखल्लीले गाउँ सल्बलायो । एक त प्रधानको घर, उसैमा फिनिबाजासहितको रौनक । पञ्चायती रवाफ र सामाजिक भावले भरिएका मेरा प्रधान जी सुकिला सेता दौरासुरुवाल र कोटमा बाहिरिएपछि हेर्ने र ढोग्नेको लर्को लाग्यो । मैले पनि टाढैबाट सद्भाव चढाएं । जन्ती हेरियो । मेरी कोठार्नी बजैले धरम भाई भनि लिएको सेतो खसी काटियो । कोशेली पोको बांडियो, खाईयो । म पनि प्रधानको नाति बनें ।
भतेर खाईयो तर पनि फिनिबाजाको फनफनी र हरनबाट आउने गीतले मेरो बालमनलाई डुलाई रहे । मेरो जिन्दगीमा पहिलो चोटी तारबाट गीत आएको देखें, सुनें । यसपछि भने हाम्रा घरहरुमा मिल्काईएका सलाईका बट्टाहरु र धागोको महत्व ह्वात्तै बढ्यो । बा लाई खरी , शिलोटको पाटी ल्याउँदा सलाईका बट्टा ल्याई दिन अनुरोध गरें । मेरो बालापनको संग्रहालयमा संग्रहित मट्ययाङ्रा, गुलेली, घुंएत्रोहरु अनि चुचुरे चरी र गौंथलीका उडानबाजीहरु फिका बने भने कठ्ने लगोब्रेल खेल, डमरैना, मुसलेणी, खोली काफल, कुसुम, जामुन फरेट र दैचामल फलका स्वादहरु पनि निस्ता लागे ।
हामीलाई भुजुवा बन्नु थियो अनि फिनबाजा बजाउनु थियो । बा लाई पनि प्रदेशबाट आउँदा सलाईका बट्टा ल्याईदिन अनुनयविनय गरें । ओराही र जरहीका वनफाँटहरुमा गाईभैंसी हराउञ्जेल प्रयोग गर्यौं । न भुजुवा बन्न सक्यौं न त फिनिबाजा नै बन्यो । स्कुलमा पनि कापीका पानासँग सलाईका बट्टा साट्ने स्कुलेहरुको जमात बढिरह्यो ।
फिनिबाजाको कौतुहलताले मडारिएको हाम्रो आधा वर्ष बित्नै पाथेन । प्रधानका पञ्च मेरा काका रत्नबहादुरले अर्को उल्का थपे मेरो जीवनमा ।रातो रंगको बाकस जस्तै बोल्ने चिज ल्याए उनले । बा को हलोसँगै सांधिएको त्यो दिन मेरो लागि अनौठो बन्यो । काकाले डब्बा आलीमा राखे अनि सास्टाङ्ग गरे । बा ले जय पुकारे । मैले नि टाउको बट्टातिर बटार्दै काकालाई ढोगें । बट्टा बोल्याबोल्यै थियो । यसपाली भने भाका र भाषा दुवै मेरा थिए । मैले सजिलै बुझें बट्टाका स्वरहरु । गन्थनमा काकाले बट्टाका कान बटारे । बोली रोकियो तर मेरो मन भित्रको कौतुहलता मडारिरह्यो । मैले छोएं, सुम्सुम्याएं । केही बोलेन । कोही बोलेनन् ।
यति सानो बट्टाभित्र को को बस्या होलान् ? मेरो मनभित्र खसखस भै रह्यो । सकि नसकि काकालाई सोधें ,काका यो के हो ? रेडियो । काकाले एक स्वरमै बोले । बासँग काकाको बेलिबिस्तार सुनें । यो पञ्चायत रेडियो रे । रातो वर्णको ऐलेको लेडिज ब्याग जस्तै । उसबेला सुचना पाउने हक पञ्चहरुलाई मात्र । सरकारले यसैमा उर्दी दिन्थ्यो, सुनेर उनीहरु गाउँमा उर्दी लाउथे, सुचना दिन्थे । काकाले भने मेरो बालमनलाई ठिक सुचना दिएनन् । रेडियो भित्र मान्छेले बाजागाजा बजाएको भनि टोपले । गन्थनपछि काका बाटो लागे । म पनि काकाकै पछिपछि हानिएं । यतिखेर भने काकाले रेडियो छुनै दिनु भएन । काकाको देब्रे कांधमा झुण्डिएको रेडियोबारे कोही नि जानकार भेटिन मैले । त्यो साँझ हामी अबेरसम्म काकाको घरडिल नजिकै लुकेर त्यो रेडियो सुनि रह्यौ ।
रात झमक्क तिखारिएपछि दाम्रो पेट अनि जाडोले थर्मराएको ज्यान लिएर घर पुग्दा पनि रेडियोको रनक र लहडले तिहुनको नुन नै थाहा भएन । रातभरि अधकल्चो निद्राले तड्पाईरह्यो । हिजो अस्ति मेरो मगजमा खेल्ने रामलिला, मारुनी र झ्याउरे भाकाका गीतका छनकहरुका छालसमेत हराए म बाट । भोलि काकासँगै दिनभर लत्पत्तिदै रेडियो छुने र सुन्ने सपनाहरु बुन्दै मन मडारियो ।
सायद खोरको भाले र मेरो निद्रा सँगै खुल्यो होला । उसले बिहानीको संकेत दियो, फेरि निदायो । म भने फिटिक्कै निदाइन । उसलाई के थाहा ? म किन मडारिएको । चानचुन बिहानीको एक अन्तिम प्रहर कट्यो । झिसमिसे उघारियो । कुचो पानी, लिपपोत र अगेनुको काम सकिवरी आमाले भात भुट्दिनु भो । मैले हतारिदै खल्याकखुलुक खाएं अनि चिसै हात लागें काकाको घरतिर । हामी भन्ट्याङ्भुन्टुङ्गहरु धेरै जम्मा भयौं । मैले फेरि पनि काकाको पाउ छोएं । खै के हो ? दया हो या मेरो शिष्टता या त म दाईको छोरो भएर हो, काकाको अलि निकट पर्न सकें।
उसबेला काकाका मनग्गे छोरेट्टी साथीहरु थिए । गोठाला र वनपात नै मायाप्रेम साट्ने र गफिने अवसर बन्थ्यो । दिउँसो काकाले सबैलाई प्रदेशबाट ल्याएको पिपलमेट मिठाई बांड्नु भो । अरुलाई भन्दा मैले २/४ वटा बढी पाएं । मेरो निकटता र बढी भागले मेरो दौंतरीमा ईर्ष्याका छनकहरु बढ्दै गए । मेरा सखीहरुमा असमानताले बालेको आक्रोेश र ममा भने शक्तिको दम्भ छल्किदै थियो । काकाले आफ्ना छोरेट्टीलाई पशुपति बिस्कुट बांडे, हामीलाई पिपलमेट । आज महशुस भो, वितरण त शक्ति, स्वामित्व र सम्बन्धमा पो जोडिएको हुँदो रैछ। आज मलाई लाग्छ, अहिलेको कृषि अनुदानका कार्यक्रमहरुको वितरण पनि काकाकै अवशेष व्यवहार क्या ।
काका के गफिन्थे । कां बस्थे । म बेखबर बनें । काका आएपछि सारा वनपाखा र उनका छोरेट्टीहरुमा उत्साह झल्केको थियो । सबैको खोजीमा काका थिए । हातमा पिपलमेट मिठाई र कांधमा बजेको रेडियो बोकाएर ओराही र जरहीका वनफाँटहरुमा गाईभैंसी डुलाउन र बटुल्न लाउनुहुन्थ्यो काकाले मलाई । मैले पनि रेडियो बोक्न पाउँदा एकछिन बसिन । काकाले हामीलाई भुलाउने र हामीले पशुचौपाया डुलाउने मेसो बन्यो रेडियो ।
जब मेरो कांधको रेडियोले ….
“कल्ले काट्यो खर,
मैले त काटिन,
मलाई के को डर….”
भाकाको गीत गाएसी चारफन्का फन्फनी नाँचेको अझैं ताजै छ । हामी धेरै थियौं त्यसबेला । खर काट्ने संस्कृतिमा हुर्केका हाम्रा लागि यो गीत अति प्रिय र पहिलो बन्यो जिन्दगीका लागि । बुझ्यौं अनि नाच्यौं । ती दिनहरुमा भने नागासाकी र हिरोसिमामा अमेरिकाले बम हानेझैं ढुंगाका चरमुनिका माछा मार्न ठुलो ढुंगाले हिर्काउने खेलहरु पनि रोक्यौं हामीले । ओराही नदीतिरमा हामीले दिनहुँ बनाउने चिसो बालुवाका ताजमहलहरुको निर्माण पनि ठप्प भए ।
चढ्दो उमेर अनि बढ्दो रहरसँगै स्कुले कक्षाहरु थपिदै गए। हामी ६,७ कक्षामा पढ्दा रामप्रसाद भट्टटराई सरले “जापानमा विद्यार्थी घरमै बसेर पढ्छन् । शिक्षकले घरबाटै पढाउछन्” भन्दा अचम्म लाग्थ्यो । विश्वासै लाग्थेन । धन्य कोरोना धन्य जुम एप (Zoom App) आज मेरो शिक्षक सत्य सावित हुनु भो । म गलत र शंकालु सावित बनें ।
आजभोलि शिक्षण र संगीत कति सहज र पहुँचमा छ । यस्तै भा’ हो गुगल र युट्युव पाउँदा पनि । पहिलो चोटी लामो लाईन लागेर स्काई सिम पाउँदा तुरुन्तै रुपैडिहाबाट सेट किनेर खुशीकाे सीमा रहेन उसबेला । बालकृष्ण आचार्य सर र मैले एकापसमा मिस्कल दिंदै नाका कटेर नेपालगञ्जसम्म आएको अझै ताजै छ ।
प्रविधिकाे सोख, भोक र जिज्ञासा संधै उस्तै हुने । ऐले म घरिघरि युट्युवमा रमाउँछु । अचेल मेरा नयाँ गुरु, गुगल गुरु । न आलटाल गर्ने न त धम्काउने । जब चाहियो तु जानकारी दिने । मैले पनि कैयौं युट्युव क्लिपहरु पाठसँग मिलाएर सुनाएको छु, देखाएको छु मेरा नानीबाबुहरुलाई । अब भने ट्यार्लिनको सर्ट र जिनको कट्टुले साथ छोडे । म पनि नयाँ भए । बाजेले भन्नुहुन्थ्यो “बाँचे सागर देखिन्छ।” मैले देखें भोगें फिनिबाजादेखि युट्युवसम्म………..।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा
माघ २८, २०८० आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार