शनिबार , फागुण १५, २०७७

६ महिनामा साढे ६ खर्बको विदेशी वस्तु आयात

६ महिनामा साढे ६ खर्बको विदेशी वस्तु आयात

माघ ८, काठमाडौं । चालू आर्थिक वर्ष २०७७/ ७८ को पहिलो छ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको ६ महिनाको (साउनदेखि पुस मसान्तसम्म) तथ्याङ्क अनुसार ५ प्रतिशत आयातमा कमी आउँदा ६ प्रतिशतले निर्यातमा वृद्धि भएको हो ।

विभागको तथ्याङ्क अनुसार चालू आवको छ महिनाको तथ्याङ्क अनुसार ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा ४ दशमलव ८१ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा ६ खर्ब ९४ अर्ब ६९ करोड रुपियाँ बराबरको विदेशी वस्तुको आयात भएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसैगरी, छ महिनाको अवधिमा ६० अर्ब ७९ करोड ९९ लाख रुपियाँ बराबरको स्वदेशी वस्तु निर्यात भएको छ । गत आवको सोही अवधिको तुलनामा ६ दशमलव १४ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । गत आवमा सोही अवधिमा ५७ अर्ब २७ करोड ७९ लाख रुपैयाँ बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो । तथ्याङ्क अनुसार यो वर्ष व्यापार घाटामा ५ दशमलव ८० प्रतिशतले सुधार भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव ५८ र निर्यातको हिस्सा ८ दशमलव ४२ प्रतिशत रहेको छ ।

हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र शून्य दशमलव ८७ प्रतिशतले घटेको छ । विभागको तथ्याङ्क अनुसार छ महिनामा ७ खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापारबाट नेपालले ६ अर्ब ४६ करोड रुपैयाँ घाटा बेहोरेको छ । अघिल्लो आवको यसै अवधिको तुलनामा ५ दशमलव ८० प्रतिशतले गिरावट हो ।

चालू आवको छ महिनाको तुलनामा पुष महिनामा मात्र १ खर्ब ३६ अर्ब रुपियाँ बराबरको वस्तु आयात भएको छ । हालसम्म विभागले १ खर्ब ८७ अर्ब रुपैयाँ राजस्व संकलन गरिसकेको छ । यो वर्ष विभागले ४ खर्ब ४० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो महिना (साउन) मा ८५ अर्ब ८० करोड रुपैयाँ, भदौमा ९३ अर्ब ४ करोड रुपैयाँ र असोज महिनामा १ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ बराबरको विदेशी वस्तु आयात भएको थियो । यसैगरी, कात्तिक महिनामा १ खर्ब १० अर्ब २२ करोड रुपैयाँ, मंसिर महिनामा १ खर्ब २३ अर्ब १ करोड रुपैयाँ र पुष महिनामा सबैभन्दा धेरै १ खर्ब ३५ अर्ब ७४ करोड रुपैयाँ बराबरको विदेशी वस्तु आयात भएको छ ।

छ महिनाको अवधिमा नेपालमा आयात हुने विदेशी वस्तुको पहिलो नम्बरमा पेट्रोलियम पदार्थ रहेको छ । छ महिनामा ३२ अर्ब ९३ करोड रुपैयाँभन्दा बढीको डिजेल आयात भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय