
१४ माघ, भजनी । सरकारले आपत्कालीन कोरोना खोप दिन शुरु गरेसँगै कैलालीमा पनि अभियानको प्रारम्भ गरिएको छ । कैलालीको सेती प्रादेशिक अस्पताल धनगढी र टीकापुर अस्पतालबाट खोप अभियानको प्रारम्भ गरिएको हो ।
टीकापुर अस्पतालमा चिकित्सक गौरी रिजालले पहिलो कोरोनाको खोप लिए । कैलालीको टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशिपुर गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई टीकापुर अस्पतालबाट खोप दिइनेछ भने अन्य स्थानीय तहका स्वास्थ्यकर्मीलाई सेती प्रादेशिक अस्पतालबाट खोप दिने व्यवस्था गरिएको छ ।
एक सय २४ जनाका लागि खोप उपलब्ध भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका रामराज पन्थीले जानकारी दिए । उनले स्वास्थ्यको क्षेत्रमा रही अग्रस्थानमा काम गर्ने स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई प्राथमिकतामा राखिएको बताए । “आजबाट शुरु भएको अभियान १८ गतेसम्म सञ्चालन हुनेछ । यो बीचको समयमा जति सकिन्छ हामी खोप लगाउँछौँ”, पन्थीले भने ।
टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले कोरोनाको कहर कम हुँदै गएको अवस्थामा विस्तारै जनताको माझमा पनि खोप अभियान लैजानुपर्नेमा जोड दिए । उनले कैयौँ देशले अझै कोरोनाको खोप पाउने र लगाउनेमा अन्योल रहेको समयमा सरकारको यो उपलब्धिलाई सबैले प्रशंसा गर्नुपर्ने बताए ।
प्रतिक्रिया