
१४ माघ, काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले माघ १९ गते विरोध कार्यक्रम तय गर्न परिपत्र जारी गरेका छन् । सबै जिल्लास्तरीय भातृ संस्थाहरुको तुरुन्त बैठक राखी माघ १९ गते गरिने विरोध कार्यक्रम तय गरी संयुक्त रुपमा विरोध कार्यक्रम गर्न अध्यक्ष बस्नेतले परिपत्र गरेका हुन् ।
बुधबार परिपत्र जारी गर्दै अध्यक्ष बस्नेतले भनेका छन्, “यहि माघ १६ गते शहिद दिवस भएकोले शहिदहरुको सम्मानमा कोभिड-१९ सम्बन्धि जनचेतना अभिवृद्धि हुने विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्यक्रमहरु गरी मनाउन अनुरोध गर्दछु ।”
नेपाल कम्युनिष्ट पार्टीका केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड- १९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्धमा नेपाली कांग्रेस पार्टीको केन्द्रिय समितिको निर्देशन अनुसार २०७७ साल माघ १९ गते सोमबार सबै भातृ संस्थाहरुले ७७ वटै जिल्लामा संयुक्त रुपले विरोध प्रदर्शन र विरोधसभा आयोजना गर्ने निर्णय भए बमोजिम नेपाल तरुण दल त्यस जिल्ला समितिले नेपाली काँग्रेस जिल्ला समिति संग समन्वय गरी विरोध कार्यक्रम तय गर्न अध्यक्ष बस्नेतले आग्रह गरेका छन् ।
प्रतिक्रिया