संरक्षणको अभावमा सिमसार क्षेत्र साँघुरिँदै
नेपालबहस संवाददाता
माघ २०, २०७७ मंगलबार १९:२०:२३
२० माघ, चितवन । वन, वनस्पति, वन्यजन्तु र मानव जीवनका लागि अति महत्वपूर्ण सिमसार क्षेत्र साँघुरिँदै गएको छ । जलवायु परिवर्तन, मानव अतिक्रमण र संरक्षणको अभावमा सिमसार क्षेत्र साँघुरिँदै गएको हो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका वातावरण विज्ञानका उपप्राध्यापक अनन्तप्रकाश सुवेदी पानीले राम्रोसँग भिजेको ठाउँ वा अत्याधिक आद्रता भएको जमीनलाई सिमसार भनिने बताउछन् । उनका अनुसार त्यस्तो जमीन, जहाँ पानीको सतह र जमीन करीब एउटै स्तरमा हुन्छ अनि बोटबिरुवाको अस्तित्व रहेको हुन्छ, जहाँ जमीन लुक्दैन, पानी सुक्दैन र रसिलो जमीन भएको क्षेत्रलाई सिमसार भन्ने गरिन्छ । पानीको मुहानलगायत दलदल, धानबाली एवं पानी जमेको क्षेत्रलाई सिमसार जनाउने गरेको उनको भनाइ छ ।
नेपालको राष्ट्रिय सिमसार नीति २०५९ अनुसार जमेको वा बगेको स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिमरूपमा बनेको दलदल क्षेत्र हो । त्यसमा धापलगायत नदीको बाँध क्षेत्र, ताल, पोखरी, जलाशय एवं धानबालीसमेत पर्छ । सुवेदी पछिल्ला दिनहरुमा सिमसार खुम्चिँदै जानु मानव जातिका लागि हितकर नभएको बताउछन् ।
विश्वभर नै सिमसार क्षेत्र घट्दै गएको भन्दै उनले त्यसको प्रत्यक्ष असर नेपालमा पनि देखिएको बताए । वन र वन्यजन्तुका लागि देशमै महत्वपूर्ण मानिएको चितवनमा सिमसार घटेको प्रभाव प्रस्टरुपमा देखिन थालेको सुवेदीको भनाइ छ । उनले भने, “निकुञ्जबाट वन्यजन्तु बस्तीमा आउनुको पछाडिका कारण सिमसारको प्रभाव हो ।” यसले गर्दा मानव र वन्यजन्तुका बीचमा द्वन्द्व बढ्दै गएको उनी बताउँछन् ।
चितवन रााष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल वन र वन्यजन्तुको कल्पना सिमसारविना गर्न नसकिने बताउछन् । ठूला र दुर्लभ वन्यजन्तु पानी पिउने, आहाल खेल्ने मात्रै होइन, यही ओसिलोपनाले वनस्पति उम्रिएर आहार तयार हुन्छ । बरालको भनाइमा गैँडा, बाघ, हात्ती जस्ता जनावरका लागि सधैँ पानीको आवश्यकता पर्दछ भने गर्मी मौसममा आहाल र पौडीका लागि पानी नभई हुँदैन ।
निकुञ्जभित्रका तलाउहरुमा गेग्रानहरु भरिँदै जानु, पातपतिङ्गर, जलकुम्भी जस्ता झारले ढाक्ने र पलाएका घाँस मरेर जाँदा तलाउ पुरिँदै गएका छन् । निकुञ्जले वर्षेनि त्यस्ता तलाउहरु सरसफाइ गर्ने गरेको भए पनि पर्याप्त हुन नसकेको भन्दै उनले क्रमशः सिमसार घट्दै जाँदा यसको प्रत्यक्ष प्रभाव वन्यजन्तुमा परेको बताउछन् । बाढीपहिराले भत्काएर पनि सिमसार मासिएको उनको भनाइ छ ।
निकुञ्जको बाहिरी भागमा मानव अतिक्रमणका कारण ताल, खोलानाला प्रभावित हुने गरेका छन् । घोल खेत मासेर मानव बस्ती विस्तार हुँदै जाँदा पनि सिमसार खुम्चिँदै गएको छ । निकुञ्ज र वन क्षेत्रमा सिमसार मासिँदै जाँदा वन्यजन्तु मानव बस्ती पस्ने समस्या बढेको छ ।
सिमसार क्षेत्र घोषणा र व्यवस्थापन मार्गदर्शन २०७५ ले २७ प्रतिशत चरा र ८५ प्रतिशत वनस्पतिका प्रजाति सिमसारमा आश्रित भएको उल्लेख गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रहेका हाल प्रदेश नं २ का वन सचिव रामचन्द्र कँडेल निकुञ्ज हुँदै बग्ने राप्ती, नारायणी र रिउ नदीमा पानीको स्रोत घट्दै जाँदा यसमा आश्रित वन्यजन्तु प्रभावित भएको बताउछन् । उनले भने, “सिमसारको प्रभावका कारण वन्यजन्तु मानव बस्ती पस्न थालेका हुन् ।” पोखरी सुकेपछि ती जनावरले आहाल खेल्न नपाएको र उनीहरु चर्ने घाँसेमैदान प्रभावित बनेको कँडेलको भनाइ छ ।
निकुञ्ज हुँदै बग्ने नदी खोलाहरुमा पानी स्रोत कम हुँदा पानी रिचार्ज हुन नपाएर निकुञ्जभित्र पानीको अभाव हुँदै गएको उनी बताउछन् । उनले भने, “निकुञ्जभित्रको पानीका स्रोत राप्ती, नारायणी, रिउ जस्ता नदी खोलाबाट रिचार्ज हुने गर्दछन् । मुख्य स्रोत नै कम भएपछि रिचार्ज घट्दै गएको छ ।”
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछाने नदीजन्य पदार्थको उत्खनन र प्रदूषणका कारण पनि सिमसार क्षेत्र प्रभावित भएको बताउछन् । उनले भने, “जथाभावीरुपमा गरिने नदीजन्य पदार्थको उत्खननले पानीको चक्रलाई नै बिगारेको छ ।” शहरी क्षेत्रको फोहोरको उचित व्यवस्थापन नगर्दा यसको प्रभाव सिमसार क्षेत्रमा समेत परेको उनले बताए । जसका कारण वन र वन्यजन्तु प्रभावित भएको लामिछाने बताउछन् । समयमा नै यसतर्फ ध्यान दिन नसके भविष्यमा ठूलो सङ्कट पैदा हुन सक्नेतर्फ उनले सचेत गराएका छन् ।
वन मन्त्रालयको वनस्पति विभागका उपसचिव मधु घिमिरे नेपालको कूल क्षेत्रफलमध्ये आठ लाख १९ हजार २७७ हेक्टर सिमसारले ओगटेको बताउछन् । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्रहरू रहेको बताउँदै उनले नेपालको् अन्तर्राष्ट्रिय महत्व भएका १० वटा सिमसार क्षेत्रलाई रामसार सूचीमा सूचीकृत गराई व्यवस्थापन गर्दै आइरहेको बताएका छन् । देशका सबै प्रदेश र स्थानीय तहमा यस्ता सिमसार क्षेत्रहरू बाँडिएका छन् । नेपालमा पाँच हजार ३५८ ताल, तीन हजार २५२ हिमनदी, दुई हजार ३२३ वटा हिमताल रहेको उनले बताएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारी निकुञ्जभित्र ५० भन्दा बढी प्राकृतिक तालतलैया, ६० भन्दा बढी मानवनिर्मित पोखरी, तीन वटा नदी प्रणाली, रामसार सूचीमा सूचीकृत बीस हजारी ताललगायत थुप्रै तालतलैया र सिमसार क्षेत्र रहेको बताउछन् ।
जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनाल जिल्लामा ४३१ कबुलियती वन, ९३ सामुदायिक वन, एउटा बरन्डाभार संरक्षण वन र पाँचवटा धार्मिक वन हुँदै विभिन्न खोला, खोल्सा बग्ने गरेको र तालतलैया रहेको बताउछन् । मानव अतिक्रमण र संरक्षणको अभावमा सिमसार क्षेत्र घट्दो क्रममा रहेको उनको भनाई छ । निकुञ्जमा मात्रै होइन, मानव बस्ती वरपर रहेका खोला, खोल्सा, घोल र सिमखेतहरु मासिँदै जाँदा सिमसार क्षेत्र प्रभावित बनेको छ । यसका प्रत्यक्ष प्रभाव मानव जातिलाई समेत पर्ने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो हावा र पानीले प्रसिद्ध 'नरपानी डाँडा'
बैशाख ३१, २०८१ सोमबार
बाँकेका होमस्टेमा आन्तरिक पर्यटकको चहलपहल
बैशाख ३१, २०८१ सोमबार
सगरमाथा आरोहणमा कामीरिताको नयाँ रेकर्ड
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान
बैशाख ३१, २०८१ सोमबार
सत्ता गठबन्धन फेरिन सक्छः नेपाल
बैशाख ३१, २०८१ सोमबार
टर्की पठाउने भन्दै ४ करोड ३४ लाख रूपैयाँ ठगी गर्ने पक्राउ
बैशाख ३१, २०८१ सोमबार
देउवा र लामिछानेलाई सभामुखले भनेः आजै मिल्नुस
बैशाख ३१, २०८१ सोमबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
आगलागी नियन्त्रणमा पूर्वतयारी
बैशाख ३१, २०८१ सोमबार