
२५ माघ,विराटनगर । विराटनगर महानगरपालिकाले रु दुई करोड ३९ लाख लागतमा एकैसाथ तीन आकाशे पुल निर्माण गर्ने भएको छ । विराटनगर महानगरपालिकामा सवारी साधनको चाप बढ्न थालेपछि यातायात सुगमताका लागि आकाशे पुल निर्माण गर्ने अवधारणा ल्याएको हो ।
नगर क्षेत्रको धरान–विराटनगर सडकखण्डको कञ्चनबारी चोक, बरगाछी चोक र भट्टी मोड घाँसचोक गरी तीन ठाउँमा आकाशे पुल निर्माण गर्ने योजना महानगरपालिकाले अगाडि सारेको छ । विराटगरको सौन्दर्य बढ्ने र सवारी दुर्घटना न्यूनीकरण गर्ने र मानिसलाई सडक वारपार गर्न सुविधा पुग्ने उद्देश्यले आकाशे पुल निर्माणसँगै विराटनगरको भित्री भागमा नगरपालिकाको खाली जग्गामा सामान्य उद्यान पनि बनाउने नगरपालिकाको योजना रहेको छ ।
विराटनगरको कञ्चनबारी चोकमा रु ७८ लाख, बरगाछी चोकमा रु ६८ लाख र भट्टीचोकमा रु ९३ लाख लागतमा सो पुल निर्माण गर्न लागेको हो । छ लेनको मापदण्डअनुसार बन्ने सो पुल फलामको बनाउन लागिएको छ ।
तीनवटै पुल निर्माण गर्ने गरी योजना अगाडि बढाएको र केही दिनमै यसको शिलान्यास भई चालु आर्थिक वर्षमै योजना सम्पन्न हुने नगरपालिकाले जनाएके छ । आकाशे पुल निर्माण भएपछि सडकमा जथाभावी सडक काट्ने बानी अन्त्य हुने र यसबाट सवारी दुर्घटना न्यूनीकरणमा पनि टेवा पुग्ने बताइएको छ ।
प्रतिक्रिया