
२६ माघ,भरतपुर । माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा भगवान राम र सीताको मूर्ति तयार भएको छ । चितवनबाट प्रधानमन्त्रीसँग भेटघाटका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेकपा चितवनका सल्लाहकार श्याम विष्टले राम र सीताको मूर्ति तयार भएर बालुवाटार प्रधानमन्त्रीको सचिवालयमा राखिएको बताएका छन् ।
उनले हनुमान र लक्ष्मणको मूर्ति भने बन्दै गरेको बताएका छन् । प्रधानमन्त्री ओलीको सौजन्यमा झण्डै पाँच फिट अग्लो राम र सीताको मूर्ति तयार गरि दुवै मूर्ति अहिले बालुवाटारमा राखिएको छ । नेता विष्टले आगामी वर्षको रामनवमीमा सो मूर्तिलाई प्रतिस्थापन गरिने योजना रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले माघ १७ गते भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अयोध्यापुरीमा अयोध्याधाम निर्माण गर्न बृहत् गुरुयोजना बनिसकेको र राम सीताको मूर्ति तयार भइसकेको बताएका थिए ।
माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडी–९ को कृष्णनगर पार्कमा राख्ने गरी १०० बिघा जग्गासहित अयोध्याधाम बनाउन सिफारिस गरिएको तर कुनै निर्णय नभएको बताएक छन् । उनले औपचारिकरूपमा अयोध्याधाम पनि घोषणा हुन बाँकी रहेको बताएका छन् ।
माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेको १०० बिघा जमिन मन्दिरका लागि उपलब्ध गराउने सिफारिस गरेको भए पनि मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छैन । भानु जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारत नभई माडीको अयोध्यापुरी रामको जन्मस्थल रहेको बताएपछि यसले तरङ्ग पैदा गरेको थियो । माडी नगरपालिका–८ दक्षिण अयोध्यापुरीस्थित आधारभूत विद्यालयको दक्षिण पश्चिममा रहेको जमिन, माडी–९ स्थित घाँगरखोलाको छेउमा रहेको कृष्णनगर पार्कको जमिन र माडी–९ मै रहेको गणेशकुञ्ज क्षेत्रको जमिनलाई मन्दिर निर्माणका लागि उपयुक्त ठहर गरिएको नगरपालिकाले जनाएको छ ।
प्रधानमन्त्री ओलीले गत साउनमा माडीका प्रतिनिधिसँगको भेटमा विसं २०७८ को रामनवमीमा मूर्ति प्रतिस्थापन गर्ने गरी तयारी थाल्न भनेका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिपछि त्रेतायुगका भगवान् श्रीरामको जन्मभूमि अयोध्याको विषयमा अनुसन्धान थाल्नुपर्ने बहस शुरु भएको थियो ।
प्रतिक्रिया