
२९ माघ, काठमाडौं । केपी ओली सरकारका प्रभावशाली मन्त्री विष्णु पौडेल पछिल्लो अवस्थामा असन्तुष्ट देखिएका छन् । राजनीतिक रुपमा कमजोर धरातल रहेका ओलीलाई साथ र समर्थन गरिरहेका पौडेल आफ्नै गुटमा कमजोर भएपछि उनको असन्तुष्टी चुलिएको हो । स्रोतका अनुसार, ओली समूहमा पौडेललाई कमजोर बनाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लागिपरेका छन् ।
यो श्रृँखलाको पछिल्लो कडी बनेको छ – ललितानिवास काण्डका नाइके डा.शोभाकान्त ढकालको जेल चलान । अर्थमन्त्री पौडेलका विश्वासपात्र ढकाललाई विशेष अदालतले हिजो पुुर्पक्षका लागि थुनामा पठाएको छ । ढकाल थुनामा परेपछि अर्थमन्त्री चिढिएका छन्, अझ मुख्यमन्त्री पोखरेलकै दवावमा विशेष अदालतले थुनामा पठाइएको जानकारी पाएपछि पौडेल आगो भएका हुन्–स्रोतको भनाई छ ।
ओलीलाई अफ्ठेरो पर्दा सधैं ढाल भएर उभिएका पौडेल आफ्ना मानिसको सुरक्षा गर्न नसक्ने भएपछि बढी आक्रोशित भएको निकट स्रोतको भनाई छ । ललितानिवास प्रकरणका मुुख्यनाइकेका रुपमा रहेका बिचौलिया ढकाललाई हिजो विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी बिक्री गरेको आरोपमा थुनामा राख्न आदेश दिएको हो ।
उक्त प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातपनि यही प्रकरणमा थुनामा रहेका छन् । मुख्य अभियुक्तका रुपमा अख्तियारले ढकाललाई प्रस्तुत गरेको छ । ढकालबिरुद्ध ३९ करोड २८ लाख विगो मागसहित विशेष अदालतमा मुद्धा दायर भएको थियो । उक्त मुद्धाको सुनुवाई गर्ने न्यायाधीशहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्र सारु मगरले हिजो ढकाललाई थुनामा पढाउने आदेश गरेका थिए ।
बालुवाटारस्थित ललितानिवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी बिक्री गरेको आरोपमा ढकाललगायत धेरैजनाविरुद्ध मुद्धा दायर गरिएको छ । ढकालले अर्थमन्त्री पौडेललाई समेत सोही जग्गाबाट आठ आना उपलव्ध गराएका थिए । पौडेलका छोरा नवीन ढकालको नाममा रहेको सो जग्गा पछि सरकारलाई फिर्ता गर्ने शर्तमा उनी कारबाहीको दायरा बाहिर रहन सफल भएका छन् ।
तर ढकालबाट पौडेलले धेरै आर्थिक लाभ लिएको बताइने गरेको छ । त्यसको गुन तिर्न नसक्दा अहिले पौडेल विचलित भएको स्रोतको भनाई छ । ओलीलाई अफ्ठेरो पर्दा सधैं साथ दिएपछि शंकर पोखरेल हावी भएको भन्दै उनले दुखेसो पोख्ने गरेको बताइएको छ ।
यो प्रकरणले गर्दा पौडेल ओली क्याम्पबाट विद्रोह गर्नसक्ने स्थितिमा रहेको स्रोतको भनाई छ । अर्थमन्त्रीले कुनैपनि बेला ओली क्याम्प छाड्न सक्ने देखिएको छ– स्रोत भन्छ । यसबारे प्रचण्ड–माधव समूहसँग पौडेलको छलफल चलिरहेको दावी स्रोतको रहेको छ ।
कुनैपनि बेला पौडेलले क्याम्प परिवर्तन गर्न सक्छन् भन्दै स्रोतले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको कुरा मात्रै सुनुवाई हुने हो भने पौडेल लामो समय ओलीसँग सँगै बस्न नसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया