
३० माघ,कञ्चनपुर । कञ्चनपुरका किसानलाई आधुनिक प्रविधिको प्रयोग गरी उखुखेती गर्ने तौरतरिका सिकाउन थालिएको छ । भारतीय उखु विज्ञद्वारा आधुनिक तरिका सिकाइएको हो ।
उखु उत्पादक किसान हकहित संरक्षण समिति, महाकाली सुगर इन्डष्ट्रिज प्राइभेट लिमिटेड र नेपाल रेडक्रस सोसाइटीले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाको संयुक्त साझेदारीमा उन्नत उखुखेतीबारे किसानलाई जानकारी दिने शुरु भएको छ ।
भारतको उत्तर प्रदेशको शाहजहाँपुरस्थित उखु अनुसन्धान केन्द्रका डा बिआरएस चौहान, डा एसके शुक्लालगायतको टोलीले किसानलाई उखु रोप्नेदेखि काटनेसम्मको तरिका सिकाउने कार्य गरिरहेको महाकाली सुगर इन्डष्ट्रिजका व्यवस्थापक सिडी पाण्डेयले बताएका छन् ।
त्यससँगै रोग किरा पहिचान गर्ने र निदान गर्ने तरिकासमेत सिकाउने कार्य भइरहेको उनले बताएक छन् । हावाहुरीबाट उखुलाई बचाउनका लागि बोटलाई कसरी बाध्ने र काट्दा ध्यान पु¥याउनुपर्ने कुरासमेत विज्ञहरुले किसानलाई जानकारी दिँदै आएका छन् । उखुखेतीमा भारतमा प्रयोग भइरहेको प्रविधिको प्रयोग र उखुका बढी उत्पादन दिने जात पहिचान गरी उखुको उत्पादनमा बढोत्तरी गर्नका घुम्ती तालीम उपयोगी हुने एमरेड परियोजनाका कञ्चनपुरका प्रमुख महेश घिमिरे बताउछन् ।
उनका अनुसार हालसम्म बेलडाँडी, बेलौरी र लालझाडीका किसानलाई भारतीय विज्ञको टोलीले एकदिने उन्नत उखुखेतीबारे तालीम दिएका छन् । उखुखेती हुने अन्य ठाउँका किसानलाई समेत तालीम दिइने उनले बताएका छन् । जिल्लामा रहेका दुई वटा सुगर इन्डष्ट्रिजलाई उखुको अभाव रहेको छ । उखुको अभावमा इन्डष्ट्रिज पूर्ण क्षमताका साथ चल्न सकेका छैनन् ।
किसानलाई उन्नत जातका उखुखेती गरी उत्पादन बढाउनका लागि पाँच वटा ‘टि’ बारेमा समेत जानकारी दिने कार्य भइरहेको छ । पाँच ‘टि’ मा समयमा उखु रोप्ने, ट्राइकोड्रमा विषादीको प्रयोग गर्ने, ट्रेञ्च प्रविधिमा उखु रोप्ने, उखुको बीउ उपचार गर्ने, उखुको टुप्पोतिरको भागलाई बीउका रुपमा प्रयोग गर्ने रहेका छन । पाँच ‘टि’लाई ध्यान दिए मात्रै उखुको उत्पादन बढाउन सकिने उखु विज्ञको भनाइ रहेको छ ।
उखु उत्पादक किसान हकहित संरक्षण समितिका सचिव चेतन राई पुरानो प्रविधिले उखुको उत्पादनलाई बढाउन नसकिने भएकाले नयाँ प्रविधिको प्रयोग उखुखेतीमा गर्नुपर्ने बताउछन् । जिल्लामा उखुको उत्पादन ४० लाख क्विन्टल हुँदै आएको छ । सञ्चालन हुँदै आएका सुगर इन्डष्ट्रिजलाई ६० लाख क्विन्टल उखु आवश्यक छ । उखुको उत्पादन बढाउने कार्यसँगै क्षेत्रफल विस्तार गरिए मात्रै सुगर इन्डष्ट्रिजलाई आवश्यक उखु आपूर्ति गर्न सकिने सचिव राईको भनाइ रहेको छ ।
प्रतिक्रिया