बिहिबार , फागुण १३, २०७७

आलुखेतीको मुख्य पहिचान बनाउदै हेम्जा

आलुखेतीको मुख्य पहिचान बनाउदै हेम्जा

३ फागुन, कास्की । झण्डै साढे तीन दशकको अन्तरालमा लेकबाट ल्याइएको आलुको बीउबाट शुरुआत गरिएको कास्कीको आलुखेती पछिल्ला वर्षमा हिउँदे खेतीको मुख्य पहिचान जस्तै बनेको छ । मुस्ताङको लेतेबाट ल्याइएको वर्षे सेतो आलुका साथै कास्कीको घान्द्रुक र छोम्रोङबाट ल्याइएको रातो डल्ले आलुको बीउ लगाएर जिल्लाका हेम्जामा शुरु गरिएको आलु खेतीले पछिल्ला दिनमा जिल्लामा नै व्यावसायिक रुप लिएको हो ।

तीन दशक अघिसम्म फाट्टफुट्ट हुने गरेको आलुखेती पछिल्ला वर्षमा जिल्लाका हेम्जाका साथै विभिन्न स्थानमा विस्तार भएको कृषक बताउँछन् । हेम्जाको आलु देशका प्रमुख शहरमा बिक्री हुने गरेको छ । आलुखेती प्रतिको बढ्दो आकर्षणसँगै हेम्जा आलु गाउँका रुपमा परिचित बनिसकेको छ । कास्की र आसपासका क्षेत्रमा हेम्जाको आलुको माग बढेसँगै यसले विस्तारै व्यावसायिक रुप लिँदै गएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

स्थानीयवासीका अनुसार २०४५÷४६ सालदेखि हेम्जामा केही मात्रामा आलुखेती विस्तार भई २०५४÷५५ सालयता क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेले आफ्नो बाह्य अनुसन्धानस्थल स्थापना गरेपछि यो ठाउँ आलुखेतीका लागि प्रसिद्ध बन्दै गएको हो । हेम्जामा आलुखेतीको बढ्दो विस्तारसँगै यसको विशिष्टिकृत पहिचानमा सहयोग पु¥याउने लक्ष्यका साथ विगत १० वर्षयता लगातार आलु महोत्सव गर्दै आइएको अगुवा कृषक चित्रनाथ पौडेल बताउछन् ।

‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ गर्दै आइएको आलु महोत्सव अघिल्लो वर्ष कोरोना महामारीका कारण प्रभावित भएको र यस वर्ष पनि हुने अवस्था नदेखिएको उनले बताए । विसं २०६६ फागुनमा पहिलो पटक एक दिवसीय प्रथम आलु महोत्सव गरिएको हेमजामा त्यसयता लगातार रुपमा महोत्सव हुँदै आएको छ । आलु खेतीको विस्तार हुँदै जाँदा नार्कअन्तर्गत क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेले यस गाउँलाई औपचारिक रुपमा नै आलु गाउँका रुपमा परिचित गराएको हो । आलु खेतीका साथै व्यावसायिक कृषिमा सर्वसाधारणको आकर्षण बढे पनि राज्यबाट पाउने सेवा सुविधाबाट वास्तविक कृषक अझै पनि वञ्चित हुने गरेको उनको भनाइ छ ।

स्थानीय विष्णुपादुका क्लबले गर्दै आएको महोत्सवले पनि हेम्जाको आलुको चर्चा देश विदेशमा हुने गरेको र देशका प्रमुख शहरमा ब्राण्डिङजस्तै बनिसकेको छ । पछिल्ला वर्षमा बजारमा अन्य स्थानको आलु पनि हेम्जाको आलु भनेर ग्राहकलाई झुक्याएर बिक्री गर्ने गरिएको कृषक बताउँछन् । हेम्जाका साथै लेखनाथ क्षेत्रका गगनगौँडा, मालमूल, राजाचौतारा, बागमारा, अर्मला आदि स्थानमा पनि आलुखेती विस्तार हुने गरेको स्थानीय कृषकले जनाएका छन् ।

एक दशकयता कास्कीको तल्लो गगनगौंडा, मालमूललगायतका स्थानमा कृषक आलु खेतीतर्फ आकर्षित बन्ने गरेका छन् । पोखरा ३२ को सिमाना जोडिएको तनहुँको शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसीलगायतका स्थानमा पनि आलु खेतीतर्फ आकर्षण बढ्दै गएको हंशबाहिनी माविका शिक्षक ठाकुरप्रसाद खनालले बताए । आलुको उत्पादन बढ्दै जान थालेपछि यसतर्फको आकर्षण पनि बढ्दै गएको उनको भनाइ छ ।

जिल्लामा उत्पादित आलु कृषकले थोक मूल्यमा बिक्री गर्दा प्रतिकिलो ३५ रुपैयाँ पाउने गरेका छन् भने खुद्रा मूल्य ४० रुपैयाँ पर्ने गरेको छ । कृषक र उपभोक्ताबीचको दूरीका कारण उपभोक्तासम्म पुग्दा आलुको मूल्य प्रतिकिलो लगभग ५० रुपैयाँ पर्ने गरेको छ ।

जिल्लामा एमएस ४२, कुफ्रज्योति, खुमल लक्ष्मी, जनकदेव, खुमल सेतो र डेजीरे जातका आलु लगाउने गरिएको छ । पछिल्ला वर्षमा एमएस ४२ जातको आलु अत्याधिक रुपमा लगाउने गरिएको छ । कृषि कार्यालयको तथ्याङक अनुसार कास्कीका हेम्जालगायतका आलुको राम्रो उत्पादन हुने स्थानमा आलुको उत्पादकत्वप्रति हेक्टर १८ देखि २० टनसम्म हुने गरेको छ । हेम्जामा लगभग ४०० देखि ४२५ हेक्टर क्षेत्रफलमा खेती गरिएको र आलु उत्पादनबाट मात्रै वार्षिक रु २० देखि २१ करोडसम्मको कारोवार हुने गरेको जनाइएको छ ।

नेपालमा वार्षिक एक लाख ९५ हजार २६८ हेक्टर क्षेत्रफलमा आलुको उत्पादन २७ लाख ३० हजार २९४ मेट्रिक टन छ भने प्रतिहेक्टर उत्पादकत्व १२।४ मेट्रिक टन छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय