
म शितको थोपा हुँ
जूनको पैतलाले थिच्न सक्छ
दबिएँ भन्नु हुँदैन
हावाको हतकडीले बाँध्न सक्छ
निसास्सिएँ भन्नु हुँदैन
घामको ओठले चुम्न सक्छ
विलाएँ भन्नु हुँदैन
धुलोको आँखाले छोप्न सक्छ
पुरिएँ भन्नु हुँदैन
कसैको पछ्यौरीले थप्पड लगाउन सक्छ
लडें भन्नु हुँदैन
कसैको जुत्ताले लत्याउन सक्छ
च्यातिएँ भन्नु हुँदैन
म शितको थोपा हुँ
मैले आफ्नो औकात बिर्सनु हुँदैन
हुन त
कमजोरी कसको हुँदैन र !
जस्तो कि
उज्यालो दिने जून
औंशीमा आउन सक्दैन
पानी सुकाउने घामले
पसिना सुकाउन सक्दैन।।
प्रतिक्रिया