लुम्बिनी प्रदेशको राजधानीमा सुविधा सम्पन्न अस्पताल बन्दै, कांग्रेस महामन्त्री डा. कोइरालाले गरे शिलान्यास

७ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी दाङको घोराहीस्थित गोग्लीमा सुविधा सम्पन्न अत्याधुनिक अस्पताल खुल्ने भएको छ । चारवटा मेडिकल कलेजमा लगानी गरिसकेका चार्टर्ड एकाउन्टेन्ट खुमा अर्यालले लुम्बिनी प्रदेशको राजधानी मै शिक्षण अस्पताल निमार्णको थालनी गरेका हुन् ।
संजिवनी इन्स्टिच्यूट अफ एड्भान्स्ड स्टडीज टिचिङ हस्पिटल प्रालिका नाममा स्थापना हुन लागेको सो अस्पतालको गत मंगलबार नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले शिलान्यास गरेका छन् । अस्पताल शिलान्यासका क्रममा महामन्त्री डा. शंशाक कोइरालाको साथमा केन्द्रीय सदस्य मिनेन्द्र रिजाल र दीपक गिरी लगायतको बाक्लो उपस्थिति थियो । सञ्जिवनी ग्रुप अफ कम्पनीजका अध्यक्ष खुमा अर्यालले अस्पतालको भूमि पूजन गरेका थिए । सञ्जिवनी इन्स्टिच्युट अफ एडभान्स स्टडीज एण्ड टिचिङ हस्पिटल प्रालिले यसको सञ्चालन गर्ने भएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै महामन्त्री डा. कोइरालाले चिकित्सा शिक्षा र यस क्षेत्रका जनताको स्वास्थ्यमा सहज पहुँच स्थापित गर्न अस्पतालको ठूलो भूमिका हुने बताए । स्वास्थ्य क्षेत्रको विकासका लागि सीप भएको मात्र हैन, असल सोच भएको चिकित्सक उत्पादन गर्नुपर्नेमा महामन्त्री कोइरालाले जोड दिएका थिए ।
त्यसैगरी कांग्रेस नेता रिजालले नेपालको स्वास्थ्य क्षेत्र चुनौतीपूर्ण रहेको बताउँदै ‘ नेपालमा अझैपनि स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउन नसकिएको बताए । स्वास्थ्य क्षेत्रमा केही उपलब्धिपूर्ण देखिएपनि अब आउने दिनमा स्वास्थ्य तथा चिकित्सा विज्ञानमा भएको विकासलाई माथि उठाउनका लागि निजी क्षेत्रको सक्रियताले महत्वपूर्ण भूमिका खेल्ने उनले बताएका थिए ।
ग्रुपका अध्यक्ष एवं चार्टर्ड एकाउन्टेन्ट अर्यालले नेपालगञ्ज र बुटवलमा सुविधा सम्पन्न अस्पताल भएपनि त्यसको बीचमा पर्ने राप्ती क्षेत्रका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा नपाईरहेको अवस्थामा साविकको राप्ती अञ्चल र आसपासका जिल्लालाई सहज हुने गरि योजना बनाइएको सुनाए । उनले भने, ‘यो शिलान्यास मात्र हैन, अबको एक वर्षमा अस्पताल निर्माण भएर अर्को वर्ष आजकै दिन निर्माण सम्पन्न गर्छौं, निर्माण सम्पन्न मात्र हैन, त्यसमा सबै किसिमका विशेषज्ञ सेवा हुनेछन्’ उनले भने, ‘सेवा सुरु गरेको पहिलो दिनबाटै क्रिटिकल केयरको लागि सय बेडको व्यवस्था गर्नेछौं ।’
इन्स्टिच्युटले पहिलो चरणमा एक वर्षभित्र सुविधा सम्पन्न तीन सय शय्या क्षमताको अस्पताल निर्माण गरि सेवा सुरु गर्ने र तीन वर्ष भित्रै पाँच सय शय्या पुराउने ग्रुपका महाप्रबन्धक सन्तोषकुमार खनालले जानकारी दिए । खनालले अस्पताल विशिष्टकृत सघन कक्षसहितको सुविधा हुने र पहिलो चरणमै दैनिक दुई हजार बिरामीलाई अन्तरंग र बाहिरंग सेवा प्रदान गरिने गरि संरचना तयार गरिने जानकारी दिए ।
सय शैय्याको आइसीयु, एनआईसीयु, पीआईसीयु लगायतको सुविधासहित विभिन्न विभागमार्फत उपचारको सुविधा हुने खनालले जानकारी दिए । ‘हामीले सुरुदेखि नै जटिल भन्दा जटिल रोगहरूको अत्याधुनिक प्रविधिबाट गुणस्तरीय सेवासहितको उपचारको व्यवस्था मिलाउँछौ’ उनले भने, ‘यस क्षेत्रको आकस्मिक उपचारको लागि यो अस्पतालको सेवा प्रभावकारी बनाउन सबै प्रयास यसमा खर्चन्छौं ।’ उनले कोभिड जस्ता महामारीजन्य रोगको व्यवस्थापनमा सुविधा सम्पन्न अस्पतालको आवश्यकता खड्किएकोले त्यसको अभाव पुरा गर्ने अस्पताल सञ्चालनको योजना अगाडि सारेको दावी उनको थियो ।
उनले नेपाल सरकारसँग समन्वय गरेर विपन्न नागरिक कार्यक्रम, स्वास्थ्य बीमा, आमा सुरक्षा कार्यक्रम, हेमो डाइलासिस, हेड एण्ड स्पाइलन इन्ज्युरी लगायतमा निशुल्क र सर्वसुलभ सेवा दिने योजना बनाएको बताए । कुल साढे दुई अर्ब लागतमा निर्माण गरिन लागेको अस्पतालले सात सय जनालाई प्रत्यक्ष रोजगारी दिने महाप्रबन्धक खनालले जानकारी दिए । हाललाई अस्पताल मात्रै संचालनमा ल्याए पनि भविश्यमा शिक्षण अस्पतालको रुपमा योजना अगाडि बढाइएको उनले बताए ।
अस्पतालबाट विशेष गरि लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्युठान, सल्यान, रोल्पा, रुकुम, कपिलवस्तु, अर्घाखाँची लगायतका नागरिकले फाइदा लिने छन् । चार विघा क्षेत्रफल ओगट्ने अस्पताल क्षेत्रमा अस्पतालको भवन २ लाख ९८ हजार स्क्वायर फुटमा निर्माण हुनेछ ।
सो अवसरमा दाङका प्रमुख जिल्ला अधिकारी, पुर्वमन्त्री दिपक गिरी, स्थानीय निकायमा प्रतिनिधिहरु, स्थानीय संघसस्थाका प्रतिनिधिहरु, पत्रकार, युनिभर्सल मेडिकल कलेजका लेखा नियन्त्रक सीए राजु बस्नेत, गण्डकी मेडिकल कलेज, पोखराका प्रिन्सिपल डा. रविन्द्र श्रेष्ठ, संजीवनी मेडिकल कलेज बुटवलका कार्यकारी प्रमुख दीपक रोका, संजीवनी ग्रुप अन्तर्गत अन्य कम्पनीका प्रमुख तथा प्रतिनिधिहरु लगाएत स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।
अस्पतालको लगानीको ७० प्रतिशत वित्तीय व्यवस्थापन सिभिल बैंक लिमिटेडले गर्दैछ । अध्यक्ष अर्यालले बैंकले लगानीको प्रतिबद्धता जनाइसकेकोले लगानीको कारण निर्माण कार्यमा समस्या नपर्ने बताए ।
प्रतिक्रिया