
९ फागुन, इटहरी । प्रधानमन्त्री केपी ओलीको निरंकुशता चुलिनुमा कांग्रेस सभापति शेरबहादुर देउवाको समेत हात र साथ रहेको सोही पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । नेपाल प्रेस युनियन सुनसरीद्वारा आज आयोजित अन्तक्रिया कार्यक्रमलाई संवोधन गर्दै वरिष्ठ नेता पौडेलले भने– प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक हो, कांग्रेसले आधिकारिक रुपमा यो निर्णय गरेको छ , तर सभापति भने विभिन्न वहाना बनाएर अलमलमा परेको देखिन्छ । ओलीको असंवैधानिक कदम विरुद्ध कांग्रेस नेतृत्वदायी आन्दोलनमा जानुपर्ने उनको राय छ ।
तर देउवाको अस्पष्ट नीतिले ओलीको निरंकुशता अझै चुलिएको छ, यसका विरुद्ध कांग्रेस अलमलिनुको कुनै कारण छैन– पौडेलले भने । प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक निर्णयका विरुद्ध कांग्रेस उभियो भने प्रतिगमनको संभावना नरहने भन्दै वरिष्ठ नेता पौडेलले संविधान, लोकतन्त्र र गणतन्त्र नै धरापमा पर्ने गरी ओलीलाई साथ दिने कुरा गलत भएको बताए ।
हामीले आन्दोलनमार्फत प्राप्त गरेका उपलव्धिहरु नै धरापमा पर्ने गरी ओलीलाई सहयोग गर्न खोज्नु गलत भएको भन्दै उनले देउवाको यही नीति र प्रवृत्तिले ओलीको निरंकुशता अझै थपिएको दाबी गरे । संविधान र लोकतन्त्रको पहरेदार भनेका कांग्रेस नै भएको उनको भनाई छ । त्यसैले अब आम कांग्रेस कार्यकर्ता यसको संरक्षण र प्रवद्र्धनमा जागरुक हुनुपर्ने उनको ठम्याई छ ।
ओली सरकारले गरेका भ्रष्टाचार र गलत कामको पार्टीले विरोध गर्नुपर्नेमा सभापति भने भागबण्डा खोज्दै हिंड्नाले यो दुर्दशा भएको पनि उनले बताए । प्रतिनिधिसभा पुनस्थापनाले मात्रै लोकतन्त्रलाई सही ट्रयाकमा ल्याउने भएकाले सर्वाेच्च अदालतले सहयोग गर्ने विश्वास नेता पौडेलले व्यक्त गरे । व्यक्तिगत रुपमा मलाई पुनस्थापनाले कुनै लाभ नहोला किनभने म प्रतिनिधिसभामा छैन, तर प्रणाली र लोकतन्त्र बलियो बनाउन भने यसबाट सघाउ पुग्न सक्छ– उनले भने ।
सर्वाेच्चले न्याय सम्पादन गर्दा विधि र कानूनकै परिपालना गर्नेमा विश्वास रहेको धारणा राख्दै वरिष्ठ नेता पौडेलले पुनस्थापनाको संकेत पाएकाले नै प्रधानमन्त्री ओलीले धम्की दिन थालेको आरोप लगाए । आफूले गरेको निर्णय उल्टियो भने आन्दोलन गर्छु भनेर प्रधानमन्त्रीले धम्की दिन मिल्छ ? भन्दै पौडेलले यो त सर्वसत्तावादी सोच र प्रवृत्ति रहेको प्रष्ट गरे ।
संसद् पुनस्थापना भयो भने विकृत्ति आउँछ भन्ने ओलीले विगतमा गरेका काम हेर्दा धेरै कुरा प्रष्ट हुने उनले बताए । सरकारविरुद्ध आन्दोलन गर्ने पक्षमा आफूहरु प्रष्ट रहेको बताउँदै उनले सभापति देउवाप्रति कटाक्ष गरे– ओलीविरुद्ध आन्दोलन गर्न पार्टीसँग पैसा छैन अरे । हामीले पैसा होइन, विचार र नेतृत्व मात्र दिने हो, जनता नै आन्दोनलमा आउनेछन् – पौडेलले भने । पहिला लोकतन्त्र अनि मात्रै चुनाव भन्दै उनले चुनावको गुलियो कुरा गरेर कांग्रेस अलमलिने बेला नरहेको उनले प्रष्ट पारे ।
प्रतिक्रिया