
९ फागुन,डोटी । वर्षौपछि दिपायल सिलगढी वडा नं ८ नारीदाङदेखि कैलालीको धनगढीसम्म बस सेवा शुरु भएको छ । जिल्ला सदरमुकाम सिलगढी तथा तराई जानका लागि सास्ती खेप्दै आएका नागरिक अब घरबाट नै गाडी चढ्न पाउने भएपछि खुशी छन् ।
कच्ची सडक निर्माण गरिएको लामो समय भइसक्दा समेत गाडी सञ्चालन नभएका कारण सो क्षेत्रका नागरिक जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलसम्म जानका लागि घण्टौँ पैदलयात्रा गर्न बाध्य हुँदै आएका थिए । शैलेश्वरी सार्वजनिक यातायात प्रालि र सुन्दर सुदूरपश्चिम यातायात प्रालिले संयुक्त रुपमा दिवा तथा रात्रिकालीन सेवा दिनका लागि गत शुक्रबारदेखि नारीदाङदेखि कैलालीको धनगढीसम्मका लागि यातायात सेवा शुरु गरेका हुन् ।
शैलेश्वरी यातायात प्रालिका अध्यक्ष गणेश मलासीले सडक पुगे पनि यातायात नपुगेको र नागरिकलाई यातायातको समस्या हुन थालेपछि आफूहरुले बससेवा सञ्चालन गरेको जनाउँदै सबैले सहयोग गरे बस सेवा निरन्तर सञ्चालन हुने बताएका छन् । गाउँमा बससेवा सञ्चालन भएपछि नागरिकलाई अब दिपायल तथा सिलगढीसम्मको यात्रा कम्तीमा पनि एक घण्टाको हुने र सामग्री ल्याउन सहज हुने दिपायल सिलगढी–८ वडाध्यक्ष रामबहादुर खड्काले बताएका छन् ।
अहिले उक्त क्षेत्रबाट दैनिक एउटा शैलेश्वरी यातायात र अर्को सुदूरपश्चिम यातायात गरी दुई बससेवा सञ्चालन हुँदै आएका छन् । शैलेश्वरी यातायात प्रालिका कार्यालय प्रमुख प्रेमबहादुर रावलले पहिलो पटक दुई बसबाट सेवा शुरु गरिएको तथा यात्रुको माग र चापका आधारमा थप बस सेवाका लागि व्यवस्था गरिने बताएका छन् ।
पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रमा बससेवा सञ्चालन गर्ने क्रम तीव्र रुपमा बढेको छ । नागरिकको मागअनुसार वर्षै पहिले निर्माण गरिएका बस चल्ने सडकमा सञ्चालन नगरिएको हुँदा स्थानीय जनप्रतिनिधिको पहलमा अहिले गाउँगाउँमासेवा सञ्चालन हुन थालेको दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिवराज खड्काले बताएका छन् ।
जिल्लाका केआइसिंह, जोरायल, बडिकेदार, आदर्श, पूर्वीचौकी, दिपायल सिलगढी तथा शिखर नगरपालिकाका प्रायः सबै वडामा बससेवा पुगेको तथा केही बाँकी वडामा सञ्चालनका लागि पहल भइरहेको सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासङ्घका अध्यक्ष तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताएका छन् ।
प्रतिक्रिया