
१० फागुन, जनकपुरधाम । सिरहा प्रहरीले आफ्नै भतिजको अपहरण गरेको आरोपमा काकासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका-१ डुम्बाखाताका कुलदिप यादव र वडा नं.१५ सुखचैनाका भरोसी यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सिरहाले आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । गत माघ २० गते सिरहाको सिरहा नगरपालिका-१ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव घरबाट बेपता भएका थिए ।
बालक घरबाटै बेपत्ता भएको सूचना प्रहरीमा दिएपछि प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा भारतको खाजेडीह भन्ने स्थानबाट माघ २२ गते उद्धार गरेको थियो । अनुसन्धानको क्रममा अपहरणमा पारिवारिक सदस्यकै संलग्नता देखिएपछि प्रहरीले सूक्ष्म अनुसन्धान थालेको थियो । अनुसन्धानबाट बालककै काकाको संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनका अनुसार कुलदिपको योजना अनुसार भरोसीले बच्चाको अपहरण गरी भारतको बिहारमा पर्ने पचहर भन्ने ठाउँमा लगेर राखेका थिए । भारतीय प्रहरीको सहयोगमा सिरहा प्रहरीले दुई दिनमै बालकको सकुशल उद्धार गर्न सफल भएको हो ।
प्रहरीले दुवैजनालाई पक्राउ गरी आइतबार जिल्ला अदालत सिरहाबाट अपहरण तथा शरीर बन्धक मुद्दामा ७ दिनको म्याद थप गरी थप अनुसन्धान थालेको छ ।
प्रतिक्रिया