सोमबार , फागुण २४, २०७७

शहीद सार्कीको शालिक निर्माण शुरु

शहीद सार्कीको शालिक निर्माण शुरु

११ फागुन,तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पस परिसरमा शहीद चन्द्र सार्कीको शालिक निर्माण शुरु गरिएको छ । शहीद छात्रावासको प्राङ्गणमा शहीद सार्कीको शालिकको सोमबार गण्डकी प्रदेशसभा सदस्य डोबाटे विकले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् ।

विसं २००७ माघ १ गते बन्दीपुरको अड्डा कब्जा गर्ने क्रममा सार्कीले सहादत प्राप्त गरेका थिए । नेपाली कांग्रेसको नेतृत्वमा भएको आन्दोलनमा सार्कीसहित छ जनाले सहादत प्राप्त गरेको जानकारी दिएका छन् । सो अवसरमा प्रदेशसभा सदस्य विकले नेपालको प्रजातान्त्रिक आन्दोलनमा शहीद सार्कीजस्ता दलित परिवारको ठूलो योगदान रहेको स्मरण गर्दै देशमा जुनसुकै आन्दोलनमा पनि दलितको अतुलनीय योगदान रहेको चर्चा गरेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनले शहीद सार्कीको स्मरणमा विसं २०५८ मा छात्रावास निर्माण गर्ने निर्णयअनुरुप १७ वर्षपछि भवन निर्माण सम्पन्न गरिएको बताएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयसँग छात्रावासको तला थप गर्न बजेट माग गरेको भए पनि वास्ता नगरेकोप्रति उनले दुःख व्यक्त गरेका छन् । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङले शहीदलाई सम्मान गर्नुपर्छ भनेर प्रदेश सरकारसँग बजेट माग गरिए पनि अपेक्षा गरिएअनुरुप बजेट प्राप्त नभएको बताएकी छिन् ।

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु पाँच लाख लागतमा शालिक निर्माण गर्न लागिएको छात्रावास प्रमुख कल्पना लम्सालले बताईन् । शहीद चन्द्र नेपाली छात्रावासमा बसेर हाल ३० छात्राले सुविधा लिँदै आएका छन् । छात्रावासले अध्ययनमा सहजता ल्याएकाले तला थप गरेर क्षमता बढाउन आवश्यक देखिएको उनले जानकारी दिएकी छिन् ।

बजेट अभावका कारण काम अघि बढाउन नसकिएको छात्रावास व्यवस्थापन समितिका अध्यक्ष केशबहादुर सुनारले बताए । छात्रवासमा बसेर अध्ययन गर्नका लागि गरिब तथा विपन्न परिवारले चासो देखाए पनि भौतिक संरचना थप गर्न नसकिएकाले चाहेर पनि सुविधा प्रदान गर्न कठिनाइ भएको उनको भनाइ थियो । व्यास–१ स्थित निर्मल माध्यामिक विद्यालयले प्रदान गरेको दुई रोपनी चार आना जग्गामा शहीद छात्रावास निर्माण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय