
११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरु र चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटार बोलाएका छन् । आज बिहान बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकलगत्तै प्रधानमन्त्री ओलीले मन्त्री र सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटारमा छलफलका लागि बोलाएका हुन् ।
आजै बिहान बसेको राष्ट्रिय सुरक्षा परिषदको नियमित बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मुख्यसचिव शङ्करदास वैरागी र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागीका थिए ।
नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा सेनाको परिचालन र नियन्त्रण गर्नका लागि सरकारलाई सिफारिश गर्न प्रधानमन्त्रीका अध्यक्षतामा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुख्य सचिव र प्रधानसेनापति परिषद्को सदस्य रहने संवैधानिक व्यवस्था छ ।
सदस्यसचिवका रुपमा रक्षा मन्त्रालयका सचिवले काम गर्ने परिषद्ले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने तथा सो प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसद्मा पेश भई छलफल हुने संवैधानिक व्यवस्था छ ।
सुरक्षापरिषद बैठकमा निर्वाचन र शान्ति सुरक्षाका विषयमा छलफल भएको थियो । सुरक्षा परिषदको बैठकमा विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ ।
प्रतिक्रिया