
१२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री केपी ओलीले संविधानको हत्या गर्ने र राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसको टीका लगाएको बताएकी छिन् ।
राजधानी काठमाडौंमा निकालिएको विजय सभालाई सम्बोधन गर्दै भुसालले राष्ट्रपति र प्रधानमन्त्रीमा अलिकति पनि नैतिकता बाँकी रहे तत्काल राजीनामा दिनुपर्ने बताएकी हुन् ।
विजय सभालाई सम्बोधन गर्दै उनले संविधानको हत्या गर्ने प्रधानमन्त्रीले राजीनामा नदिए १३ दिनभित्र गलहत्याएर निकाल्ने चेतावनी दिएकी छिन् । बालुवाटारको स्थायी कमिटीबाट प्रधानमन्त्रीको राजीनामा गर्ने निर्णय आउनेमा आशा गरिन् । तर, अझै पनि हारेको प्रतिगामीले उठ्ने प्रयास गरेमा त्यो दिवा सपना हुने उनले बताइन् । भुसालले राष्ट्रपतिलाई समेत राजीनामा दिन आग्रह गरिन् ।
‘पशुपतिमा गएको सुनेँ । त्यहाँ क्षमायाचना गर्नुभन्दा जनतासँग क्षमा याचना गर्नुहोस्’, उनले भनिन् । जनसंघर्ष समितिका सहसंयोजक भुसालले राष्ट्रपतिले संविधानको रक्षा गर्न नसकेको बताइन् ।
प्रतिक्रिया