विराटनगरमा लोकप्रिय बन्दै बिरयानी
नेपालबहस संवाददाता
फागुन २६, २०७७ बुधबार १९:३३:३२
२६ फागुन,विराटनगर । पछिल्लो समयमा विराटनगरमा बिरयानी खाने प्रचलन बढेको छ । कुनै समयमा यहाँका मानिसहरु भारतको दिल्ली, फारबिसगञ्ज, लखनाउ जाँदा खाने बिरयानी यहीँ खान पाउँदा दङ्ग छन् ।
केही वर्ष पहिले यहाँका मानिसहरु काठमाडौँ जाँदा बागबजारस्थित पाकिजा होटेलमा बन्ने बिरयानी खाएर साबुनले हात पनि धुँदैनथे, किनकी साबुनपानीले हात धुँदा बासना पखालिन्थ्यो । यही बासनाका लागि पनि मानिसहरुले हात साबुनले धुँदैनथे । काठमाडौँको बागबजारस्थित पाकिजा होटेल बिरयानीका लागि प्रख्यात मानिन्छ र यसका पारखीहरु काठमाडौँ जाँदा एकपटक बिरयानीको स्वाद लिन पछि पर्दैनन् ।
खास गरेर मुस्लिम समुदायमा अत्यधिक मन पराउने बिरयानी अहिले सबै समुदायका मानिसका लागि लोकप्रिय भएको छ । आ–आफ्ना जन्मदिन मनाउँदा युवायुवती बिरयानी हाउस रोज्छन् र बिरयानी खाएर एकले अर्कालाई शुभकामना दिन्छन् । बिरयानी हाउस युवायुवतीका लागि भेटघाट गर्ने स्थलका रुपमा पनि विकसित हुनुले यो व्यापारमा लाग्ने मानिस पनि उत्साहित भएका छन् ।
प्रदेश नं १ को राजधानी विराटनगरमा विभिन्न खानाका परिकारहरु पाइने होटेलहरु सञ्चालनमा आएको भए पनि अहिले बिरयानी हाउसहरु पनि एक दर्जनभन्दा सञ्चालनमा आएका छन् । शुरुशुरुमा ठूल्ठूला रेस्टुरेन्ट (भोजनालय) मा मात्र पाइने बिरयानी अहिले सर्वसाधारण नागरिकको पनि पहुँच पुगेको पाइएको छ । पहिला धनीले खाने यो परिकार अहिले विपन्न र गरीब मानिसका लागि सहज भएको छ ।
खासगरेर कोभिड–१९ ले महामारी रुप लिएपछि रोजगार गुमाएका युवाहरु यस पेशामा आकर्षित भएकाले बिरयानी हाउसको सङ्ख्या उल्लेखनीयरुपमा बढेको पाइन्छ । पछिल्लो समयमा विराटनगरमा एक दर्जनभन्दा बिरयानी हाउसहरु सञ्चालनमा आएका छन् । सञ्चालित बिरयानी हाउसको आ–आफ्नै शैली छन् । कोही चिकेन त कोही मटन बिरयानी बनाएर ग्राहकलाई सन्तुष्टि प्रदान गरिरहेका छन् । बिरयानी हाउसबाटै राम्रो आम्दानी गर्न सफल भएपछि उनीहरुले यसलाई नै व्यवसायको मुख्य स्रोत मानेका छन् ।
विराटनगरका सबैभन्दा पुराना होटेल गुद्री बजारस्थित बिरयानी प्वाइन्टले ४० वर्षदेखि होटेल व्यवसाय गर्दै आएको छ भने लगभग दुई वर्षदेखि बिरयानी बनाउन थालेपछि सुक्न लागेको व्यापार पुनः मौलाएको सञ्चालक मक्सुद खानले जानकारी दिए । उनले बनाउने बिरयानी ग्राहकहरुको इच्छाअनुसार हुन्छ । ग्राहकले जस्तो रुचि राख्छन्, त्यस्तै बिरयानी बनाएर सेवा गर्न पाउँदा खुशी लाग्ने गरेको सञ्चालक खानको भनाइ छ । यो बिरयानी हाउसमा मुस्लिमहरुको साप्ताहित प्रार्थनाको दिन शुक्रबार अत्यधिक बिक्री हुन्छ ।
शुक्रबार भ्याइनभ्याइ हुन्छ, अरू दिन त लगभग ५० देखि ६० जना ग्राहक बिरयानी खान आउने गरेको खानले जानकारी दिए । उनले प्रतिप्लेट रु १०० को दरले चिकेन बिरयानी बेच्दै आइरहेको बताए । परिवारका सदस्यबाट सेवा गराउने यो बिरयानी हाउसले महिनामा राम्रै आम्दानी हुने गरेको खानको भनाइ छ ।
यस्तै विराटनगर महानगरपालिका–९ ट्राफिक चोकमा रहेको द रोयल बिरयानी हाउस पनि एक वर्षअघि सञ्चालनमा आएको छ । विदेशबाट बिरयानी बनाउने सीप सिकेर स्वदेशमै बिरयानी हाउस सञ्चालन गर्ने उद्देश्यले अमिर लिम्बूले सञ्चालन ल्याएको यो बिरयानी हाउस सञ्चालन गर्न करीब रु १५ लाख खर्च भएको सञ्चालक लिम्बूले जानकारी दिए । उनले मटन र चिकेन दुवै प्रकारका बिरयानी बनाउछन् । चिकेनको भन्दा मटन बिरयानीको दाम अलिक बढी लाग्ने गरेको सञ्चालक लिम्बूले भने । उनी भन्छन्, “एकपटक बिरयानीको स्वाद पाइसकेका मानिसले फेरि कहिले खाने प्रतीक्षा रहन्छ, यो नै हाम्रो सुखद र खुशीको कुरा हो ।”
यस्तै विराटगर भाटभटेनी सुपरमार्केट छेउमा रेड चिल्ली बिरयानी हाउस सञ्चालन गर्दै आएका राजु खानले आफूले तीन वर्षदेखि यो व्यवसायबाट सन्तुष्ट छन् । उनी भन्छन्, “रु पाँच लाखमा सञ्चालनमा ल्याएको यो बिरयानी हाउसबाट राम्रै आम्दानी हुन्छ, खासगरी उत्सव, पर्व र बिदाको दिन बिरयानी खान आउने मानिसहरु बढी हुन्छन् ।” शुरुआती दिनमा कतिपय मानिसलाई बिरयानी भनेको थाहासमेत नहुने गरेको उनले बताए तर अहिले हरेक मानिसको रोजाइमा बिरयानीको स्वाद मन पर्न थालेको छ । बच्चादेखि वृद्धसम्मले बिरयानी एकदमै मन पराएर खाने गरेको उनको भनाइ छ ।
उनले आफू मुस्लिम समुदायमा जन्मेकाले बिरयानी बनाउन अन्त कतै जान नपरेको बताए । आफ्नो घरमा आमाले बिरयानी पकाउने भएकाले आफूले आमाले बनाएको हेरेर नै बिरयानी बनाउन सिकेको जानकारी दिए । उनले बनाउने ‘दम’ बिरयानीमा ४८ प्रकारका मसलाहरु मिसाइएको हुन्छ । भारतको हैदरावादमा मात्र पाउने ‘दम’ बिरयानी बनाएर ग्राहकलाई आफ्ना व्यवसायतर्फ आकर्षित गराउन सफल भएका छन् । विराटनगरमा पाइने बिरयानी निकै सस्तो भएकाले जो कोही पनि हप्तामा एक दिन बिरयानी खान योजना बनाइहाल्छन् ।
उनका रेस्टुराँमा मटन र चिकेन दुवै किसिमको बिरयानी खान पाइन्छ । उनी भन्छन्, “पसलमा भीड लाग्ने गरेकाले दुईजनालाई रोजगार पनि दिएको छु र यो पेशाबाट सन्तुष्ट छु ।” उनले प्रतिप्लेट मटन बिरयानी रु १५० र चिकेन बिरयानी रु ८० दरले बेच्ने गर्छन् । भाटभटेनी सपिङमलमा खरीद गर्न आउने ग्राहकहरु एकपटक आफ्नो रेस्टुराँमा पनि छिर्ने गरेकाले व्यापार राम्रो चलेको उनी बताउछन् ।
यस्तै विराटनगर मुख्य बजार ट्राफिक चोक छेउमा चार महिनादेखि सञ्चालनमा आएको अरबियन बिरयानी हाउसका सञ्चालक अज्नान अलीले हालै आफूले रु आठ लाख लगानी गरेर यो व्यवसाय सञ्चालनमा ल्याएको जानकारी दिए । यहाँ बिहान १० देखि राति ९ बजेसम्म बिरयानी खान आउने ग्राहकको भीड लाग्ने गर्दछ । भर्खर शुरुआत गरेको भए पनि व्यापार राम्रो हुने गरेको उनले जानकारी दिए । उनले ग्राहकले माग गरेमा उनीहरुको घरसम्म पु¥याउने व्यवस्थासमेत रहेको बताए । यहाँ चिकेन प्रतिप्लेट रु १५० का दरले बिक्री हुने गरेको छ ।
ठाउँ सफा र कामदार पनि सफसुग्घर भएर बस्नाले यहाँ अन्य ठाउँको भन्दा फरक देखिएको छ । उनले बिरयानी बनाउनका लागि लखनउबाट तालीम लिएर आएका कुकलाई रोजगार दिएका छन् । ग्राहकलाई सेवा दिने अन्य पाँचजना सहयोगी पनि राखिएको छ । यहाँ बनाइने बिरयानीमा थकाली बास्मती चामल र अन्य मसलाहरु प्रयोग गरिने भएको फरक स्वादको अनुभूति गर्न पाइन्छ । अरबियन बिरयानी हाउसमा बिरयानी खाना आएकी विराटनगरकी सीमा यादव भन्छिन्, “यहाँको बिरयानी मलाई निकै स्वादिष्ट लाग्यो, म यो हाउसको नियमित ग्राहक हुँ, बिरयानी खाएको मज्जा नै बेग्लै छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीका मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक कांग्रेसद्वारा बहिस्कार
बैशाख ३१, २०८१ सोमबार
झापामा आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइयो
बैशाख ३१, २०८१ सोमबार
शान्ति, सुरक्षा कायम गर्न सबैको हातेमालो आवश्यक : प्रदेश प्रहरी प्रमुख खापुङ
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
केदार भट्टराई (काका)
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
चिसो हावा र पानीले प्रसिद्ध 'नरपानी डाँडा'
बैशाख ३१, २०८१ सोमबार
मन्त्रिमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री, जसपाले पठायो तीन जनाको नाम
बैशाख ३१, २०८१ सोमबार
दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भन्दै मानव तस्करी गर्ने समूह प्रहरीको फन्दामा
बैशाख ३१, २०८१ सोमबार
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार