
२७ फागुन, काठमाडौं । सर्वोच्च अदातलतले गत आइतवार नेकपा -एमाले र नेकपा – माओवादी केन्द्रलाई ब्युँताइदिएपछि नेकपा माओवादी केन्द्रको दुई पटकसम्म स्थायी कमिटी बैठक बसिसक्दा यता एमाले अध्यक्ष केपी शर्मा ओलीले भने अझै पार्टी कमिटी बैठकहरु बोलाएका छैनन् । जसका कारण अदालतको फैसलापछि पुरानै घरमा फर्किने निर्णय गरेका माधवकुमार नेपाल र झलनाथ खनाल नेतृत्व थप तनावमा परेको छ ।
ओलीले पार्टी कमिटीहरुको बैठक पनि नवोलाउने, उक्त पक्षसँग संवाद पनि सुरु नगरेपछि नेपाल खनाल पक्षले बुधबार साँझ नयाँ बानेश्वरमा गुट भेला गरी तत्काल पार्टी कमिटीका बैठकहरु बोलाउन ओलीलाई आग्रह गरेको छ । बाहिर हेर्दा ओलीले पार्टी कमिटीको बैठक नबोलाएर पार्टी भित्र आफुलाई थप शक्तिशाली भएको सन्देश नेपाल-खनाललाई दिएको जस्तो देखिएपनि यसको भित्री कुरा भने नेकपा छाडेर सोही दलमा रहने निर्णयमा पुगेका रामबहादुर थापा, टोपबहादुर रायमाझी लगायतका नेताहरुको ब्यवस्थान रहेको छ ।
प्रचण्ड छाडेर ओलीसँगै रहने निर्णयमा पुगेका ती नेताहरुको ब्यवस्थापनमा ओली पक्षका नेताहरु एकमत नहुँदा अध्यक्ष ओलीले पार्टी कमिटीका बैठक आब्हान गर्न विलम्व गरेकाे नेताहरुले बताएका छन् । ईश्वर पोख्रेल, सुवासचन्द्र नेम्वाङ्ग लगयताका केही नेताहरुले उनीहरुको ब्यवस्थापन पार्टीमा स्थायी कमिटी सदस्य भन्दा माथिल्लो हैसियतमा गर्न नहुने सुझाव ओलीलाई दिएका छन् । जसले गर्दा उनीहरुको ब्यवस्थापन कसरी गर्ने भन्ने विषय थप पेचिलो बन्दै गएको छ ।
विशेषगरी रामबहादुर थापा बादलाई पार्टी उपाध्यक्षमा ब्यवस्थापन गर्ने वा नगर्ने भन्ने विषयमा पार्टी अध्यक्ष ओली यतिबेला थप दवावमा परेका छन् । पार्टी विभाजन भएमा पार्टी उपाध्यक्ष बनाउने र गृहमन्त्री राखिराख्ने प्रतिवद्धतासहित बादललाई प्रचण्डसँग जानबाट रोकेका ओलीलाई अहिले उनको त्यही प्रतिवद्धताले असजिलो पारेको छ । “रायमाझी, लगायतका नेताहरुको ब्यवस्थापनको विषयमा समस्या छैन । बादलको ब्यवस्थापन उपाध्यक्षमा गर्ने वा नगर्ने भन्ने विषय सोचेर निर्णयमा पुग्नु पर्ने छ । संभवत त्यो टुग्गो नलागेसम्म अध्यक्षबाट बैठक आब्हान हुँदैन; एक स्थायी कमिटी सदस्यले नेपालबहस डटकमलाई भने ।
प्रतिक्रिया