बिहिबार , बैसाख २, २०७८

लोपोन्मुख कुसुण्डा भाषाको संरक्षणमा नयाँ पुस्ता

लोपोन्मुख कुसुण्डा भाषाको संरक्षणमा नयाँ पुस्ता

२८ फागुन,देउखुरी । लोपोन्मुख कुसुण्डा भाषाको संरक्षण गर्न नयाँ पुस्ता अगाडि आएको छ । यस भाषालाई जीवन्त राख्न नयाँ पुस्ता बोलचाल र एकापसमा कुराकानी गर्दा कुुसुण्डा भाषा प्रयोग गर्छन् । उनीहरु आफूले जानेका शब्द गीतका माध्यमबाट सुनाउने र त्यसलाई नेपालीमा उल्था गरेर भन्न सक्ने भएका छन् । भाषा आयोगले अहिले नेपालमा लोपोन्मुख भाषाको संरक्षण गर्ने र मातृभाषाको सम्मान गर्ने उद्देश्य राखी यस्तो अभियान सञ्चालन गरेको हो । आयोगका पहलमा दाङका दुई स्थानमा कुसुण्डा भाषा कक्षा सञ्चालन गरिएको छ ।

प्युठानको सरुमारानी गाउँपालिका–६ बूढीचौर घर भएकी हिमा कुसुण्डा घोराही उपमहानगरपालिका–५ धर्नास्थित महेन्द्र माविमा कक्षा १० मा अध्ययन गर्छिन् । उनी अहिले कुसुण्डा भाषामा गीत रचना गरेर सुनाउन सक्ने भएकी छिन् । मातृभाषा भएर होला, उनी सिक्न र संरक्षणमा जुटेकी छिन् । उनले यसअघि आफ्नो भाषाका केही कुरा हजुरबुबासँग सिकेकी थिइन् । उनी अझै धेरै सिक्न बाँकी भएकाले साथीसँग मिलेर यस वर्ष पनि थप कुरा सिक्दै साथीलाई सिकाउँदै छिन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सोही विद्यालयमा कक्षा ८ का प्रेमी कुसुण्डा विद्यालयको छात्रावासमा बसेर अध्ययन गर्छन् । उनी आफ्नो मातृभाषा कुसुण्डा भए पनि बोल्न आउँदैनथ्यो । आजभोलि विद्यालयमा बिहान कुसुण्डा भाषा सिक्न थालेदेखि उनले भेट्ने जति सबैलाई सोजाक ९नमस्कार० भन्न थालेका छन् । आफ्नो मातृभाषा सिकेमा लोप हुँदैन भन्ने लागेको उनले बताए । “शुरुशुरुमा त भाषा बुझिँदैनथ्यो, पढ्दै जाँदा सबै जान्ने भएका छौँ, यो भाषा पढ्ने साथीहरु एकापसमा कुरा गर्दा कुसुण्डा भाषामा कुरा गर्ने गरेका छौँ”, उनले भने “पढ्दै जाँदा सजिलो भएको छ, (तपाईँको घर कहाँ होरु) भन्न परेमा ‘निगी उही हाना’ भनेर सोध्छौँ ।”

अनिल कुसुण्डा सोही विद्यालयमा कक्षा २ मा अध्ययनरत छन् । उनको मातृभाषा कुसुण्डा भए पनि बोल्न आउँदैनथ्यो । विद्यालयको पढाइका अतिरिक्त कुसुण्डा भाषा सिक्न थालेपछि भाषाको ज्ञान धेरै भएको छ अरु साथीहरुसँगै उनी पनि कुसुन्डा भाषा सिकेर कुराकानी गर्छन् । घरपरिवारमा सबैले नेपाली भाषा बोल्ने भएकाले नेपाली बाहेकको अरु भाषा आउँदैनथ्यो । उनले भने, “अहिले आफ्नो मातृभाषा सिक्दा धेरै खुशी भएको छु र बोल्न जान्ने पनि भएको छु ।”

घोराही–१८ सुपैलाटोल निवासी उर्मिला कुसुण्डा जोखिममा परेको आफ्नो भाषा बोल्न सिकेकी छिन् । उनले अहिले आफ्नै टोलमा २० कुसुण्डालाई भाषा कक्षा चलाएर सिकाउन थालेकी छिन् । कमला खत्री सेन पनि सोही ठाउँमा बछिन् । उनका सहयोगमा आफूले सिकेको भाषा अहिले सबैलाई सिकाउन थालेको उर्मिला बताउछिन् । आफ्नो टोलमा कुसुण्डा बस्ने भए पनि भाषा उनलाई बोल्न आउँदैनथ्यो अहिले सबै जना कुसुण्डा भाषामा कुराकानी गर्न थालेका छन् । उर्मिला १२ कक्षा उत्तीर्ण गर्ने कुसुण्डाका छोरीहरुमध्ये पहिलो हुन् ।

कुसुण्डा भाषा वा पाठ्यपुस्तक लेखक उदयराज आले दाङमा कुसुण्डा भाषा बोल्ने मानिस धेरै भएको बताउछन् । आफ्नो मातृभाषा नेपाली भए पनि संरक्षणका लागि अनुसन्धान गरी पाठ्यपुस्तक तयार पारेर अर्को पुस्तालाई सजिलो गराइदिएको उनले बताए । “बिहानका समयमा आफैँ ती बालबालिकालाई भाषा सिकाउन २३ किलोमिटर टाढाबाट घोराही आउँछु, त्यहाँबाट छ किमीमा रहेको विद्यालयमा भाषा सिकाउन आउने गरेको छुु”, उनले भने, “लेख्य भाषा भएन भने भाषा मर्छ, यसलाई जीवित राख्न लिपिबद्ध गर्नुपर्छ भन्ने लागेर पाठ्यपुस्तक तयार पारिएको हो । मातृभाषा कुसुण्डा भए पनि पढ्न आएका बालबालिकाले बोल्न र लेख्न जान्दैनथे । पाठ्यपुस्तक भएपछि उनीहरुलाई पढ्न सजिलो भएको छ ।” अब नयाँ पुस्ताले भाषा सिक्न थालेपछि संरक्षण हुने र लिपिबद्ध गरेर जीवित राख्न सक्ने आशा राखिएको उनले बताए ।

तीन वर्षअघिदेखि घोराही–५ स्थित महेन्द्र मावि, धर्नामा छात्रावासमा बसेर बालबालिकाले कुुसुण्डा भाषा पढिरहेको सोही विद्यालयका प्रधानाध्यापक ऋषिराज अधिकारीले जानकारी दिए । सरकारले लोपोन्मुख तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई छात्रवासको व्यवस्था गरेपछि शिक्षाको पहुँचभन्दा टाढा रहेकाहरुको शिक्षामा पहुँच पुगेको हो ।

सो विद्यालयमा लोपोन्मुख कुसुण्डा, बादी र माझी समुदायका २० बालबालिका छात्रावासमा बस्छन् । कुसुण्डा जातिका छात्रछात्राले भाषा बचाउनका लागि पढ्दै गरेको प्रधानाध्यापक अधिकारी बताउछन् । कुसुण्डा भाषाका वक्ता ज्ञानीमाया सेनको गत वर्ष ८५ वर्षका उमेरमा निधन भयो । दाङमा कुसुण्डा भाषाका दुई मात्र जीवित वक्ता कमला खत्री सेन र प्रेमबहादुर कुसुण्डा मात्र छन् । उनीहरुलाई भाषा बोल्न आउँछ तर लेख्न आउँदैन । “आफूसँगै भाषा पनि लोप हुन्छ कि भन्ने चिन्ता लागेको थियो, अहिले तल्लो पुस्ताले पनि भाषा सिकेको देख्दा खुशी छु । भाषा बचाउन तल्लो पुस्ता लागिपरेको छ । उनीहरुले लेखेर राख्दैछन्, अब हराउँदैन । भाषासँगै संस्कृति पनि हराउँछ, यसलाई जोगाएर राख्न आवश्यक छ भन्ने मलाई थाहा थिएन, म बोलेर सबै कुरा सिकाउँदै छु”, सेनले बताए ।

नेपालमा मात्र बोलिने १२३ भाषामध्ये २१ भाषा एक हजारभन्दा कम मानिसले बोल्छन् । विसं २०५८ को जनगणनानुसार नेपालमा कुसुण्डाको सङ्ख्या १६४ तथा वक्ताको सङ्ख्या ८७ उल्लेख गरिएको छ । विसं २०६८ को तथ्याङ्कानुसार नेपालमा कुसुण्डाको जनसङ्ख्या २१३ र वक्ताको सङ्ख्या २८ उल्लेख छ ।

कुसुण्डा विकास समिति, केन्द्रीय कार्यालय दाङले अध्ययन गरेर दाङ, सुर्खेत, अर्घाखाँची, कपिलवस्तु, गोरखा र तनहुँमा जम्मा कुसुण्डाको सङ्ख्या १५० उल्लेख गरेको छ । लोप हुन लागेको कुसुण्डा भाषा बचाउन आयोगले दाङमा दोस्रो चरणमा दुई स्थानमा कक्षा सञ्चालन गरेको भ आयोगका उपसचिव गेहनाथ गौतमले जानकारी दिए । भाषा शिक्षकले प्रत्येक सहभागीबाट कुसुण्डा भाषामा सङ्कलन तथा तयार गरिएको लोक पाठ्यसामग्री आयोगलाई उपलब्ध गराउने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या ७ घण्टा पहिले
क्राईम थ्रिलर वेबसिरिज अघोरीमा रेमन दास श्रेष्ठको इन्ट्री क्राईम थ्रिलर वेबसिरिज अघोरीमा रेमन दास श्रेष्ठको इन्ट्री १ घण्टा पहिले
देशमा शान्तिको कामनाले लगाएकाे बज्रेश्वरी जात्रा आज राति समापन गरिँदै देशमा शान्तिको कामनाले लगाएकाे बज्रेश्वरी जात्रा आज राति समापन गरिँदै २ दिन पहिले
बिस्केट जात्रामा ढुङ्गा हानाहान: रथ तान्दा १९ घाइते ! बिस्केट जात्रामा ढुङ्गा हानाहान: रथ तान्दा १९ घाइते ! ४ दिन पहिले
कांग्रेस र कम्युनिष्टको वैकल्पिक धार निर्माण गर्नु नै सुर्यबहादुर प्रती सच्चा श्रद्धाञ्जली : राप्रपा अध्यक्ष थापा कांग्रेस र कम्युनिष्टको वैकल्पिक धार निर्माण गर्नु नै सुर्यबहादुर प्रती सच्चा श्रद्धाञ्जली : राप्रपा अध्यक्ष थापा ८ घण्टा पहिले
आज दिउँसो कांग्रेस पदाधिकारी बैठक बस्दै आज दिउँसो कांग्रेस पदाधिकारी बैठक बस्दै ४ दिन पहिले
अनलाइनमार्फत सेवा प्रवाह शुभारम्भ समारोह अनलाइनमार्फत सेवा प्रवाह शुभारम्भ समारोह ५ घण्टा पहिले
वर्षको अन्तिम दिन, बजारमा सुनको मूल्य कति? वर्षको अन्तिम दिन, बजारमा सुनको मूल्य कति? २ दिन पहिले