
१ चैत, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आइतवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक भोली विहान ११ बजे पुन बस्नेगरी स्थगन भएको हो ।
आजको बैठकको सुरुमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एकतालाई खारेज गरेर सर्वोच्च अदालतले अनावश्यक ठाउँमा हात हालेको नेताहरुलाई जानाकारी गराउँदै आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको बताएका थिए । बैठकमा नेता नारायणकाजी श्रेष्ठले केपी ओलीलाई सरकारबाट तत्काल विस्थापित गर्नपर्ने त्यसका लागि जसपा र नेपाली कांग्रेससँग संवाद बढाउँदै लैजानु पर्नेमा जोड दिएको नेताहरुले जानकारी दिएका छन् ।
बैठकमा सातै प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेको र पार्टी स्थायी कमिटीले आफ्ना नेताहरुलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णयलाई अनुमोदन गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
आजको बैठकमा प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया काफ्ले र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेका थिए। भोलिदेखि केन्द्रीय सदस्यहरुले आफ्ना विचार राख्नेछन्।
प्रतिक्रिया