कान्ति अस्पतालमा एकै दिन पाँच बालबालिका संक्रमित
नेपालबहस संवाददाता
बैशाख २२, २०७८ बुधबार २१:२६:५३
२२ वैशाख,काठमाडौं । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा संक्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या १० पुगेको अस्पतालले जनाएको छ ।
गत वर्षभन्दा यो वर्ष संक्रमण फैलिने दर उच्च भएकाले संक्रमित थपिरहेको अस्पतालले जनाएको छ । एक सातायता दिनमा एकदुईजना देखिएकामा आज एकै दिन बढी सङ्ख्या देखिएको अस्पतालका प्रवक्ता डा कृष्णप्रसाद विष्टले बताए । उनले भने, “संक्रमण सबैतिर बढिरहेमा यहाँ पनि बढ्न सक्छ ।”
कोभिडकै उपचारका लागि तोकिएको अस्पताल नभएकाले अरू स्वास्थ्य समस्या लिएर आएका बिरामीको परीक्षण गर्दा कोभिड पाइएको अस्पतालले जनाएको छ । रुघा, खोकी, ज्वरो, निमोनिया भएर आएका ती बालबालिकामा परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा विष्टले बताए ।
अस्पतालले कुनै पनि बालबालिका अस्पताल छिर्नासाथ ज्वरो हेर्न ‘फिबर क्लिनिक’ को व्यवस्था गरेको छ । कोभिडसँग मिल्दो लक्षण भएका शङ्कास्पद बिरामीलाई छुट्टै वार्डमा राखिने गरिएको प्रवक्ता डा विष्टले बताए । बालबालिकाको रिपोर्ट पोजेटिभ भएमा कोभिडका लागि छुट्याइएको श्ययामा उपचार गरिन्छ । संक्रमित नभएको पाइएमा अरू सामान्य श्ययामा उपचार गरिने उनले बताए । उनले भने, “अहिले पनि अस्पतालमा कोभिडभन्दा अरू बिरामी धेरै छन् ।”
अस्पतालले नियमित सेवालाई निरन्तरता दिइरहेको भए पनि सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा घोषणा गरेपछि बिरामीको सङ्ख्या ह्वात्तै घटेको अस्पतालले जनाएको छ । सामान्य अवस्थामा बहिरङ्ग सेवा, आकस्मिक सेवा गरेर दैनिक सातदेखि आठ सयसम्म बिरामी आउने गरेका थिए । अहिले दैनिक झण्डै एक सयदेखि डेढ सयसम्म छ । उनले भने, “यातायातको साधन नभएकाले पनि आउन नसकेको हुनसक्छ ।”
अस्पतालले दुई भेन्टिलेटर र चार आइसियुसहित २६ श्यया कोभिड संक्रमित बालबालिकाका लागि छुट्याइएको छ । यी सबै श्ययामा अक्सिजनको व्यवस्था छ । संक्रमितको सङ्ख्या बढेर आवश्यक भएमा थप श्ययाको व्यवस्था गर्न सकिने उनले बताए ।
अस्पतालले शल्यक्रिया गर्नुपर्ने बिरामीलाई पहिले कोभिड परीक्षण गर्दै आएको छ । परीक्षण गर्दा नेगेटिभ भएमा तुरुन्त शल्यक्रिया गरिने र पोजेटिभ भएका बिरामी, जसलाई केही दिन ढिलाइ गर्दा स्वास्थ्यमा असर गर्दैन भने तत्काल नगरिने उनले बताए । तत्काल नै शल्यक्रिया आवश्यक भएका संक्रमितलाई चिकित्सकले पिपिई लगाएर शल्यक्रिया गर्दै आएको उनले बताए । उनले भने, “हामीले अघिल्लो वर्ष पनि त्यसरी नै संक्रमित बालबालिकालाई शल्यक्रिया गरेका थियौँ ।”
देशभर जम्मा संक्रमित बढेपछि त्यसमा बालबालिकाको सङ्ख्या पनि बढेको छ । सरकारी तथ्याङ्कमा जम्मा सङ्क्रमितमध्ये बालबालिका सङ्ख्या एकदेखि दुई प्रतिशत बढेको उल्लेख छ । अहिलेसम्म अस्पताल आएकामा जटिल समस्या भएका बालबालिका नभएको उनले जानकारी दिए । उनका अनुसार अरू उमेर समूहजस्तै बालबालिका पनि धेरै ‘होम आइसोलेशन’ मा रहेको हुनसक्ने देखिएको छ ।
गत वषजस्तै बालबालिकामा संक्रमण हुँदा रुघाखोकी, पखाला, जीउ दुख्नेलगायत लक्षण बढी मात्रामा देखिरहेको छ । बालबालिकामा समस्या आएमा अस्पताल लगे पनि सामान्य अवस्थामा घरमा नै राखेर हेरचाह गर्न सकिने प्रवक्ता डा विष्टको सुझाव छ ।
अहिले विद्यालय बन्द भएकाले धेरै बालबालिका घरमै छन् । उनीहरुलाई अरूभन्दा आफ्नै अभिभावकबाट संक्रमण सर्ने सम्भावना बढी छ । बालबालिकालाई कोभिडबाट बचाउन अभिभावक आफैँ सुरक्षित हुनुपर्ने डा विष्टको सुझाव छ । आफू विवाह, व्रतबन्धलगायत भीडभाडमा नजाने र कतै अत्यावश्यक कामका लागि हिँड्नुपर्दा सुरक्षाको मापदण्ड अपनाउनुपर्छ ।
बालबालिकालाई यो समयमा पनि नियमित लगाउने खोप लगाउनुपर्ने उनको सुझाव छ । अभिभावकले पनि कोभिड विरुद्धको खोप उपलब्ध भएसम्म लगाउन आवश्यक छ । बालबालिकालाई सामान्य ज्वरो र खोकी हुँदा घरमा नै औषधि खुवाएर राख्न सकिन्छ । उनले भने, “तर उनीहरुलाई सास फेर्न गाह्रो भएमा, ज्वरो उच्च भएमा, बेहोस हुने र सास फेर्न समस्या हुँदा अस्पताल लैजानुपर्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार