महामारी रोकथाममा जुटे हुम्लाका स्थानीय तह
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार २२:२:२५
२९ वैशाख, सिमकोट । कोरोना भाइरसको दोस्रो लहरका रुपमा नेपालमा पुनः संक्रमण बढेपछि हिमाली जिल्ला हुम्लामा पनि यसको प्रभाव देखिएको छ । यस जिल्लामा पनि संक्रमितको सङख्या बढ्दै गएपछि यहाँका स्थानीय तहहरुले संक्रमण थप फैलन नदिन विभिन्न तयारी थालेका छन् ।
सदरमुकाम सिमकोटमा हरेक दिन संक्रमितको सङ्ख्या बढ्न थालेपछि जिल्लाका सबै तहले प्रतिकार्यको तयारी थालेका हुन् । जिल्ला बाहिरबाट आउनेहरुका कारण जिल्लामा संक्रमणको जोखिम बढ्दै गएपछि जिल्लाका सातओटै स्थानीय तहले आफ्नो तयारीको कामलाई अघि बढाएका हुन् ।
जिल्लाका प्रायः सबै स्थानीय तहले हेल्थ डेस्क स्थापनाको कामलाई प्राथमिकता दिएको देखिएको छ । त्यस्तै स्वास्थ्यका मापदण्डको पालना गराउन जिल्लाका स्थानीय तहले ध्यान दिएका छन् । उपचारमा स्थानीय तहले प्रयोग गरेका सवारी साधनलाई एम्बुलेन्सका रुपमा प्रायोग गर्नेदेखि आफैले चिकित्सक नियुक्त गर्नेसम्मका काम गरेका छन् ।
जिल्लाको सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिका बाहेक अन्य चारवटा स्थानीय तहले भने आइसोलेशन र संक्रमितको परीक्षणको काम शुरु गर्न सकेका छैनन् । यी बाहेकका अन्य पालिकाले आफ्नो क्षेत्रमा संक्रमितको सङ्केत देखिएको खण्डमा मात्रै काम शुरु गर्ने बताएका छन् । सात वटा स्थानीय तह भएको हिमाली जिल्ला हुम्लामा कोरोना संक्रमणलाई थप फैलन नदिन र आवश्यक पूर्वाधारको स्थापनाका लागि पहलका थालेका हुन् ।
ताँजकोटले आफैँ किन्यो ५०० एन्टिजेन किट
सुदूरपश्चिम प्रदेशको बाजुरासँग सीमा जोडिएको ताँजाकोट गाउँपालिकाले हुम्ला प्रवेश गर्ने मुख्य नाका कवाडीमा दुईजना स्वास्थ्यकर्मी सहितको हेस्थ डेस्क राखेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले जानकारी दिए । गाउँपालिकाले तत्काल आइसोलेशन निर्माणको तयारी गर्न यसका लागि शय्या बनाउन सामान खरिद प्रक्रिया अघि बढाएको उल्लेख गरे । साथै ढकालले गाउँपालिकामा भित्रिएका नागरिकहरुको पिसिआर परीक्षण गर्न गाउँपालिकाले पाँच सय थान एन्टिजेन किट खरिद गरेको बताए ।
एन्टिजेन किट सुर्खेतमा खरिद गरेर गाउँपालिकामा पुग्ने बित्तिकै सोमबारदेखि बिरामीलाई पहिलो प्राथमिकता दिएर परीक्षण शुरु गर्ने ताँजकोटका अध्यक्ष बागदल मल्लले बताए । “गाउँपालिकामा केही सङ्ख्यामा बिरामी देखा परेका छन्” मल्लले भने, “हरेक वडामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई लिएर बिरामीहरुको एकिन गर्ने काम भएका छ । अब एन्टिजेन किट पुग्ने बित्तिकै परीक्षण गरेर आवश्यक उपचारको व्यवस्था गर्छौ ।”
अदानचुलीले गाउँपालिकाको गाडीलाई एम्बुलेन्स बनाउने
बाहिर जिल्ला र गाउँपालिकाबाट आउने मुख्य मार्गका दुईवटा स्थानमा हेल्थ डेस्क राखेको अदानचुलीले पदाधिकारीलाई प्रयोग गर्न खरिद गरेको गाडी र मोटरसाइकललाई बिरामी बोक्ने एम्बुलेन्सका रुपमा प्रयोग गर्ने तयारी गरेको छ । भर्खरै राष्ट्रिय सडक सञ्जालमा जोडिएको अदानचुलीले संक्रमितको सङ्ख्या बढेर अवस्था जटिल भएमा प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजान आफ्नो पालिकामा भएका सबै सवारी साधनलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए ।
“हामीले एक महेन्द्रा स्कार्पीओ गाडी र केही मोटरसाइकल समेत खरिद गरेर आन्तरिक प्रयोजनका काममा लगाएका छौं” फडेराले भने, “संक्रमितको सङ्ख्या बढेर उपचार गर्न समस्या भएमा तिनै सवारी साधनलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने तयारी समेत गरेका छौं ।”
जिल्ला बाहिरबाट आएका नागरिकलाई होम आइसोलेशनमा बस्ने निर्णय गरेको र पालिकाका छवटै वडामा स्वास्थ्यकर्मी सहितको टोली पठाएको अध्यक्ष फडेराले बताए ।
अदानचुली–१ को भिइघाट र वडा नम्बर ३ को इप्लामा स्वास्थ्यकर्मी सहित हेल्थ डेस्क स्थापना गरेको अदानचुलीले केही दिनमै एन्टिजेन किटको व्यवस्था गरेर परीक्षणको दायरा फराकिलो पार्ने योजना बनाएको छ । गाउँपालिकाभित्रमा संक्रमितको सङ्ख्या नदेखिएकाले तत्काल आइसलेशनको व्यवस्थालाई बिस्तारै अघि सार्ने योजना बनाएको उल्लेख गरेका अध्यक्ष फडेराले सबै वस्तीमा स्वास्थ्यकर्मीहरुलाई परिचलान गरेको प्रतिक्रिया दिए ।
सर्केगाडका हरेक वडामा पाँच शय्याको आइसोलेशन
तुम्चमा हेल्थडेस्कसहित स्वास्थ्यकर्मी खटाएको सर्केगाड गाउँपालिकाले बाहिरबाट आउने नागरिकलाई तापक्रम र सामान्य स्वास्थ्य परीक्षण गर्ने गरेको गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायाले बताए । सम्भावित संक्रमणलाई ध्यानमा राखेर प्रत्येक वडामा पाँच वटा शय्याको र गाउँपालिकाको केन्द्र सर्केगाडमा १५ शय्याको आइसोलेशन निर्माण गर्न शुरुआत गरेको गाउँपालिकाका अध्यक्ष रोकायाले बताए । उनले भने, “आठवटै वडाका आइसोलेशनका लागि हामीले आवश्यक सामाग्री खरीद प्रक्रियालाई अघि बढाएका छौं ।”
अहिले आफ्नो पालिकामा संक्रमित भने छैनन् । अध्यक्ष रोकायाले भने, “तर पनि सम्भावित जोखिमलाई ध्यानमा राखेर हामीले स्वास्थ्यकर्मी खटाउने र अन्य व्यवस्थाको काम शुरु गरेका हौं ।” सर्केगाडले गाउँपालिकाभित्रका नागरिकको कोरोना परीक्षणका लागि आफ्नै तर्फबाट एन्टिजेन किट खरिदको प्रक्रिया समेत थालेको उल्लेख गरेको छ ।”
मिमि स्वास्थ्य चौकीलाई आइसोलेशन बनाउँदैं चंखेली
मुगुसँग सडक सञ्जालले जोडिएको चंखेली गाउँपालिकाले मिमि स्वास्थ्य चौकीलाई आइसोलेशनका रुपमा निर्माण गर्ने गर्ने तयारी थालेको छ । गाउँपालिकाले सलिसल्ला र बोहोराबाडामा राखेका हेल्थ डेक्सको रिर्पोटअनुसार तीन सय भन्दाबढी व्यक्ति जिल्ला बाहिरबाट गाउँपालिका प्रवेश गरेको पालिका अध्यक्ष धनलाल चौलागाईले जानकारी दिए । कोरोना परीक्षण अघि नै संक्रमण पुिष्ट भएका नागरिकलाई छुट्टै राख्न गाउँबाट केही टाढा रहेको मिमी स्वास्थ्य चौकीको भवनलाई आइसोलेशन केन्द्रका रुपमा तयारी गर्ने गाउँ कार्यपालिकाले निर्णय गरेको अध्यक्ष चौलागाईले जानकारी दिए ।
गाउँपालिकाका सबै वडाका वडाध्यक्ष र सदस्यलाई कोरोना संक्रमणबाट बचाउन आवश्यक सचेतना जगाउने र बिरामीको सङ्ख्या एकिन गर्ने जिम्मा दिएर खटाएको जानकारी दिँदै अध्यक्ष चौलागाईले, स्वास्थ्यकर्मीको अभावलाई पूर्ति गर्न अध्ययन गरेर घरमै बसेका स्वास्थ्यकर्मीलाई पनि खटाउने योजना पालिकाले अघि सारेको उल्लेख गरे । गाउँपालिकामा ६ दर्जन भन्दाबढी विभिन्न बिरामी भएपनि उनिहरुमा कोरोना संक्रमण भए नभएको पुष्टि गर्ने पालिकाकै खर्चमा ऐन्टिजेन खरिद प्रक्रिया अघि सारेको बताउँदै चौलागाईंले त्यसको परीक्षण गर्ने तरिका सिक्न दुई जना स्वास्थ्यकर्मी सिमकोट पठाएको जानकारी दिए ।
छिप्रामा खार्पुनाथको पाँच शय्याको आइसोलेशन
खार्पुनथा गाउँपालिकाले छिप्राको स्वास्थ्य चौकीमा पाँच शय्याको आइसोलेशन तयारी अवास्था राखेको जनाएको छ । सदरमुकाम सिमकोटसँग जोडिएको खार्पुनाथका स्थानीयमा चार जनामा संक्रमण पुष्टि भएर जनस्वास्थ्य कार्यालयको प्रत्यक्ष निगरानीमा रहेकाले थप संक्रमण बढ्ने डरले शुरुमै पाँच शय्याको आइसोलेशन तयारी अवस्थामा राखेको गाउँपालिकाका अध्यक्ष कर्ण रावलले बताए ।
जिल्लाका मध्य तथा दक्षिण क्षेत्रका स्थानीय तहलाई जोड्ने मुख्य बाटोमै पर्ने खार्पुनाथले मुल बाटोमा स्वास्थ्यकर्मीसहितका हेल्थ डेस्क राखेर नियमित विवरण सङ्कलन गर्ने र प्रारम्भिक स्वास्थ्य परीक्षण गर्ने गरेको अध्यक्ष रावलले बताए । उनले भने, “हामी अवस्थालाई मध्यनजर गरेर आइसोलेशन थप्ने काम गर्छौं” अध्यक्ष रावलले भने, “अहिले तत्काल कोरोना परीक्षणको दायरा फराकिलो गर्न एन्टिजेन किटको खरिद प्रक्रिया अघि बढाउने छौं ।”
नाम्खाको नयाँ अभियान, चिकित्सकसहित स्वास्थ्य शिविर
सरकारको नीतिअनुसार गाउँपालिकाले चिकित्सक नियुक्त गरेको नाम्खा गाउँपालिकाले लिमि बाहेकका सबै वस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरेको बताइएको छ । औषधीसहितको स्वास्थ्य शिविर सञ्चालन गरेको नाम्खाले पालिकाका तीन स्थानमा स्वास्थ्य जाँच चौकी स्थापना गरेको नाम्खाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले जानकारी दिए ।
हेप्का खोला, केर्मी र खगालगाउँ जानेबाटोमा हेल्थ डेस्क स्थापना गरिएको छ भने गाउँपालिका केन्द्र याल्वाङमा रहेको सामुदायिक भवनमा शय्यासहितको आइसोलेशन बनाउने तयारी भएको न्यौपानेले बताए । उनले भने, “कोरोना संक्रमणदेखि अन्य स्वास्थ्यलाई मध्यनजर गरेर हामीले चिकित्सक नै नियुक्त गरेकाले हामीले कुनै वस्तीमा स्वास्थ्य समस्या देखा पर्नेबित्तिकै चिकित्सकीय सेवा दिन कुनै समस्या छैन” । उनका अनुसार नाम्खा चिकित्सक नियुक्त गर्ने जिल्लाको पहिलो पालिका हो ।
सिमकोटमा ११ शय्याको आइसोलेशन सञ्चालनमा
जिल्लाको सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाले गत वर्षका ११ शय्याको आइसोलेसन केन्द्रलाई सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमण अनपेक्षित बढ्दै गएपछि संक्रमितको सङ्ख्या बढ्ने अपेक्षासहित सिमकोटले आइसोलेशन सेन्टर निर्माणको कामलाई प्राथमिकता दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए ।
‘‘काठमाडौं, सुर्खेत, बाँकेलगायतका शहरमा पूर्ण निषेधाज्ञा जारी भएपछि विभिन्न कामले गएका जिल्लाका नागरिक हवाई माध्यमबाट आउनेको सङ्ख्या बढेपछि उनीहरुको विमानस्थलमै एन्टिजेन किटबाट कोरोना परीक्षण गर्ने काम गयौं, गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले भने, “जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र ९डिसिसिएमसी० र जनस्वास्थ्य केन्द्रसँग मिलेर आवश्यक तयारी गर्ने काम भइरहेको छ ।”
हवाई मार्गबाट सिमकोट भएर आउने यात्रुहरुका कारण सङ्क्रमण बढेको र गाउँपालिकाका आठवटै वडामा समेत संक्रमण फैलन नदिन स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई परिचालन गर्ने काम भइरहेको अध्यक्ष लामाले बताए । गाउँपालिकाका सबै वस्तीमा नमूना परीक्षणका रुपमा कोरोना टेष्ट गर्न पाँच सय एन्टिजेन किट खरिदका लागि प्रक्रिया अघि बढाएको जानकारी दिदै अध्यक्ष लामाले, किट पुग्ने बित्तिकै परीक्षणको दायरालाई बढाउने प्रतिवद्धता व्यक्त गरे ।
पच्चीस शय्याको आइसोलेशन तयार पार्दै डिसिसिएमसी
बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र ९डिसिसिएमसी० ले अक्सिजनसहितको २५ शय्याको आइसोलेशन केन्द्र निर्माणको काम थालेको छ । जिल्लामा १६ जना कोरोना संक्रमित भएको र केही थपिने क्रम बढेको भन्दै डिसिसिएमसीले थप १५ शय्याको आइसोलेशन थप्ने तयारी गरेको डिसिसिएमसीका सदस्य सचिव समेत रहेका स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिहंले जानकारी दिए ।
‘‘साठी युनिटका तीनवटा मात्र अक्सिजन प्लान्ट रहेको जिल्ला अस्पतालमा चालीस युनिटका दुई वटा अक्सिजन प्लान्ट थप्न प्रक्रिया अघि बढाएको छौं’’ सिंहले भने, “स्वास्थ्य सेवा कार्यालयमा सम्भावित संक्रमितलाई राखेर उपचार गर्ने गरी तयारीको काम तीव्र पारेका छौं ।”
केरोना परीक्षणको दायरालाई बिस्तारै बढाउनुका साथै स्वास्थ्य सेवा कार्यालयसँग अहिले एक हजार दुई सय भिटियम रहेको र केही भिटियम परीक्षणका लागि सञ्चालनमा आएको उनले जानकारी दिए । छ सयओटा एन्टिजेन किट समेत जगेडा राखिएको बताए ।
पछिल्लो समय सोमबार १२ जनामा गरिएको एन्टिजेन परीक्षणमा तीन जनाको संक्रमण पुष्टि भएपछि संक्रमितको सङ्ख्या १५ पुगेको हुम्लामा संक्रमितको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको डिसिसिएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । । जिल्लाका प्रायः सबै वस्तीमा बिरामीको सङ्ख्या बढेको खबर प्राप्त भएको उल्लेख गर्दै प्रजिअ आचार्यले जिल्लाका सातओटै स्थानीय तहलाई परीक्षणको कार्यको थालनी गर्न आग्रह गरिसकेको जानकारी दिए ।
मौसमी फ्लु र कोरोना संक्रमणको डरले जिल्ला स्वास्थ्यको चिकित्सकसहितको टोलीलाई गाउँ गाउँमा पठाउने तयारी भइरहेको र जिल्लाभर निषेधाज्ञा कडाईका साथ कार्यान्वयन हुनुका साथै जिल्ला प्रवेश गर्ने मुख्य नाकामा थप कडाई गरिएको प्रजिअ आर्चायले बताए । तत्काल गाउँ आएका यात्रुहरुलाई टेलिफोनबाट ट्रेसिङ गर्ने काम पनि भएको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
कर्णालीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक
बैशाख २९, २०८१ शनिबार
बजेट थप नहुँदा ५७४ टुक्रे योजना अलपत्र
बैशाख २७, २०८१ बिहिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार