२० श्रावण २०७८, बुधबार
कर्णाली प्रदेश
कर्णाली प्रदेश

कर्णालीमा अध्यादेशबाट बजेट

प्रकाशित मिति :  १ श्रावण २०७८, शुक्रबार १४:२२


१, साउन, सुर्खेत । कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले बजेटसम्बन्धी दुई अध्यादेश स्वीकृत गरेर प्रदेश प्रमुखसमक्ष सिफारिस गरेपछि बजेट पारित भएको हो । पटक पटक प्रदेशसभाबाट बजेट पारित गर्ने प्रयास सफल हुन नसकेपछि प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याइएको जनाएको छ ।

सरकारले गरेको सिफारिसलाई बिहीबार राति नै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले स्विकृत गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८’ र ‘कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८’ जारी गरिएको उल्लेख छ ।

नेपालको संविधान धारा २०२ को उपधारा १ बमोजिम सरकारबाट सिफारिस भएका दुई अध्यादेश प्रदेश प्रमुखद्वारा जारी गरिएको उल्लेख छ । गत असार १ गते सरकारले बजेट प्रस्तुत गरेयता प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण प्रदेशसभा बैठक सञ्चालन हुन सकेको थिएन । आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता सीता नेपालीले प्रतिपक्षी दल एमालेको अवरोधका कारण प्रदेशसभाबाट बजेट छलफल र पारित हुन नसकेपछि अध्यादेशको बाटो रोज्न बाध्य भएको बताए ।

प्रदेशसभाबाट बजेट पारित हुने सम्भावना नदेखेपछि सरकारले बुधबार मध्यराति चालु अधिवेशन अन्त्य गरेको थियो । अध्यादेश जारी भएपछि आजदेखि शुरु आव २०७८/७९ का लागि नयाँ बजेट कार्यान्वयनमा बाटो खुलेको छ । आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले असार १ गते प्रदेशसभामा पेश गरेको रु ३६ अर्ब ५४ करोड ६६ लाख बराबरको बजेट नै अध्यादेशमार्फत ल्याइएको बताए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?