११ आश्विन २०७८, सोमबार

पाकिस्तानी क्रिकेटर साहिद काठमाडौं किंग्स इलेभेनबाट खेल्ने

प्रकाशित मिति :  १३ श्रावण २०७८, बुधबार १०:४७


१३ साउन, काठमाडौं । पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान अलराउन्डर साहिद अफ्रिदीले एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।

चौथो संस्करणको ईपीएलमा उनले काठमाडौं किंग्स इलाभेनबाट खेल्ने भएका हुन् । काठमाडौं किंग्सले विदेशी खेलाडीका रूपमा साहिद अफ्रिदीलाई अनुबन्ध गरेको सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

नेपाली लिग खेल्न आउने विदेशीमध्ये अफ्रिदी सबैभन्दा सफल खेलाडी हुन् । अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३९८ एकदिवसीय र ९९ ट्वान्टी–२०अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

सन् १९९६ मा केन्याविरुद्धको खेलबाट अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले सन् १९९६ मा श्रीलंकाविरुद्धको खेलमा ३७ बलमा १०० रन बनाएका थिए । यो विश्व क्रिकेटमा लामो समयसम्म रेकर्डका रूपमा रहेको थियो ।

अफ्रिदीले एकदिवसीय क्रिकेटमा ८ शतक र ३९ अर्धशतकसहित ८ हजार ६४ रन बनाएका छन् । त्यस्तै, उनले एकदिवसीय क्रिकेटमा ३९५ विकेट लिएका छन् ।

ट्वेन्टी–२० मा उनले १ हजार ४१६ रन बनाएका छन् भने ९८ विकेट लिएका छन् । चौथो संस्करणको ईपीएल असोज ९ गतेदेखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा हुने तालिका सार्वजनिक भएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा