८ आश्विन २०७८, शुक्रबार
सुदूरपश्चिम प्रदेश

विवादकाबीच डडेल्धुरामा कांग्रेस वडा अधिवेशन, जिल्ला सभापतिले गरे बहिस्कार !

प्रकाशित मिति :  २५ भाद्र २०७८, शुक्रबार ०९:१६


२५ भदौ, डडेल्धुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा विवादका बीच वडा अधिवेशन सुरु भएको छ । जिल्ला कार्यसमितिले बहिस्कारको निर्णय गरे पनि सात वटा स्थानीय तहका ५२ वडामध्ये ४८ मा निर्वाचन प्रक्रिया सुरु भइसकेको निर्वाचन समितिले जानकारी दिएको छ ।

बाँकी वडामा पनि अधिवेशन सुरु गर्न छलफल भइरहेको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए । कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले सदस्यता विवाद नै नटु‌ंग्याइ गरिएको अधिवेशनमा आफूहरुको सहभागिता नहुने न्युज कारखानालाई बताए ।

सभापति देउवा पक्षधरले एकलौटी रुपमा क्रियाशील सदस्यतादेखि उम्मेदवारसम्मको टुंगो केन्द्रबाटै लगाएको मल्लको आरोप छ । ‘देउवाले बल प्रयोग गरेर अधिवेशन गर्दैछन्। यो हामीलाई अमान्य छ,’ उनले भने।

कांग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिले वडा, पालिका र प्रदेश सभा निर्वाचन क्षेत्रीय समितिका साथै जिल्ला कार्यसमिति गरेर चार तहबाट क्रियाशील सदस्यको नवीकरण र नयाँ सदस्यताका लागि निर्णय गरेर केन्द्रमा पठाए पनि केन्द्रबाट चार सय ६० जनाको नाम काटेको आरोप छ । त्यस्तै लिस्टमा तीन सय १२ जनाको नाम थपेर मतदाता नामावली सार्वजनिक भएपछि विवाद उत्पन्न भएको हो ।

नेपाल प्रहरीको तालिम केन्द्र र दंगा प्रहरी गणबाट ठूलो संख्यामा प्रहरी डडेल्धुरा झिकाइएको छ। यसअघि पनि कांग्रेसका दुई समूहबीच कुटाकुट भएको र विवादकाबीच अधिवेशन हुन थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता