८ आश्विन २०७८, शुक्रबार

बीओपी भवन निर्माण

प्रकाशित मिति :  २८ भाद्र २०७८, सोमबार ११:११


२८ भदौ, ताप्लेजुङ । ताप्लेजुङको उत्तरी सीमावर्ती गाउँ ओलाङ्चुङगोलामा स्थापित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) को कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मौवाटारमा बीओपीको कार्यालयसहितका संरचना तयार हुन लागेको हो ।

फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा अवस्थित सो बीओपी गत वर्ष स्थापना गरिएको थियो । हिमालयन कन्स्ट्रक्सनले अहिले कार्यालय भवनलगायतका संरचना निर्माण गर्दै आएको छ । गत जेठ दोस्रो साता भ्याटसहित करिब रु ९८ लाख बजेटमा योजना सम्झौता गरी संचरना निर्माण गर्दै आएको निर्माण कम्पनीले जनाएको छ ।

आगामी असोज मसान्तभित्र काम सम्पन्न गर्ने गरी योजना सम्झौता गरेर काम सुरु गरेको र हाल अन्तिम चरणमा पुगेको निर्माण कम्पनी प्रमुख इन्द्र केदेमले जानकारी दिए । उनका अनुसार सभाहलसहितको कार्यालय भवन, भान्सा घर र शौचालयजस्ता संरचना निर्माण गरिएको छ । सबै संरचना निर्माणको कार्य करिब ९५ प्रतिशत सम्पन्न भएको उनले बताए ।

उक्त बीओपी स्थापना गरिएको ठाउँ मौवाटार चार हजार २०० मिटरको उचाइमा पर्दछ । मौवाटार ओलाङ्चुङगोला बस्तीदेखि १२ किलोमिटर दूरीमा उत्तरतर्फ पर्दछ भने त्यहाँदेखि तिब्बतसँग सिमाना टिपताला भञ्ज्याङ ९पाँच हजार २०० मिटर उचाइ० पनि करिव १२ किमीकै दूरीमा पर्दछ । संरचना बनिनसकेकाले बीओपीका लागि खटेका सशस्त्र प्रहरी टोली भने हाल ओलाङ्चुङगोलामा बस्दै आएका छन् । दुई देशको सीमा क्षेत्रमा स्थापना गरिएको बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ५० जनशक्ति रहने बताइएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा