११ आश्विन २०७८, सोमबार
कार्यकर्ता भेला
राजनीति

माधव नेपालले देश र जनताप्रति गद्दारी गरे, वडा सदस्य पनि जित्दैनन् : ओली

प्रकाशित मिति :  २९ भाद्र २०७८, मंगलवार १७:५८


२९ भदौ, काठमाडाैं ।  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले माधव नेपालले आगामी निर्वाचनमा वडा सदस्य पनि नजित्ने जिकिर गरेका छन् । गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमालेबाट फाइदा लिनुसम्म लिएर पार्टी फुटाएको आरोप लगाए ।

‘यस पार्टीबाट फाइदा लिनुसम्म लिए । १६ वर्षसम्म महासचिव भए । प्रधानमन्त्री भए । पार्टी कहाँ पुर्‍याए रु २४० सिटमध्ये ३३ मा झारे । महाचिवबाट चलाउन सकिँदैन भनेर राजनीमा दिए । खुरुक्क बस्या भए हुँदैनथ्यो । फेरि प्रधानमन्त्री भए । चलाउन सकेनन् । राजीनामा दिएर हिँडे । सरकार र पार्टी रसातालमा पुर्‍याएर राजीनामा दिए । फेरि अध्यक्षमा दाबी गरेर पार्टी रसातालमा पुर्‍याउन हो ?’ उनले प्रश्न गरे ।

माधव नेपाल कम्युनिस्ट आन्दोलनमा हिजो जोडिएका र अहिले छुट्टिएको ओलीको भनाइ छ । ‘यसरी जोडिएका रहेछन् रसायन पुगेको रहेनछ पकल्क फुटे । एमाले एकजुट भएको छ । हिम्मत हार्नुहुँदैन। एकजुट भएर अघि बढे हामी जित्छौ,’ उनले भने ।

ओलीले माधव नेपाल कम्युनिस्ट नभएको पनि दाबी गरे । ‘एमाले फुटाउन त्यतिकै प्रयास गरिएको छैन । विदेशी प्रतिक्रियावादीको मुटु हल्लाइदिएको छ । एमाले फुटाउने हाम्रो साथी होइन । माधव नेपालले पार्टी बनाउन होइन एमाले फुटाउन तमासा गरेको हो । यत्रो पार्टी बनिसकेपछि फुटाउनेले पार्टी बनाउँछ र ?’ उनले प्रश्न गरे ।

‘वडा सदस्य पनि जित्दैनन्’

अध्यक्ष ओलीले माओवादीलाई वडाध्यक्ष जित्न हम्मेहम्मे पर्ने र माधव नेपालले वडा सदस्य पनि नजित्ने दाबी गरे । ‘ प्रचण्डजीले हिजो सही कुरा निकाल्नुभयो, हामीले त वडामा पनि चुनाव जित्न हम्मेहम्मे पर्ला जस्तो छ भने। उनले चुनावअघि सही कुरा निकाल्नु भयो । माधव नेपालले त वडा सदस्य पनि जित्दैनन् । माधव नेपाललाई जनताले भोट हाल्लान् ? के कारणले हाल्ने ? एमाले फुटाइएकाले ? जनतालाई धोका दिएकाले ?’ उनले प्रश्न गरे ।

संगठन कसरी बनाउनुपर्छ, विचार कसरी अगाडि बढाउने भन्नेमा एमाले गुरु पार्टी भएको उनको भनाइ थियो । ‘कसरी चुनाव जित्ने, सरकार बनाउने, चलाउने, देश विकास गर्ने एमालेले सिकाउँछ । तीन वर्ष एमाले सरकारमा के पुगेको थियो तहल्का भयो । यता बाटो चौडा, उता झोलुङ पुल बन्दैछ । एकैदिन सयौं हस्पिटल पुल शिलान्याश हुँदैछ । अनि प्रतिक्रियावादी असैह्य भयो,’ उनले भने ।

माधव नेपालले पार्टीमा साथ दिएको भए वामपन्थी सरकार र सदन निरन्तर चलिरहने अवस्था हुन्थ्यो तर एउटा झुण्ड लिएर पार्टी र देश जनताप्रति गद्दारी गरेको ओलीको आरोप थियो । ‘बेइमानी गरेर सरकार ढाले । नजानेर गर्नलाई केटाकेटी हुन् र । झुक्किएर त होइन होला । जानीजानी, कपाल फुलेका नजानेर गरे होलान । जानेर गरेका हुन्,’ उनले भने ।

‘एमालेको ओजन घटेको छैन’

अध्यक्ष ओलीले माधव नेपाल चोइटिएर गएको भन्दै एमाले कमजोर नभएको बताए । नेकपाबाट प्रचण्ड गुट बाहिर गएपछि कमसेकम एमालेलाई एकजुट भएर राखौ भनेको तर माधव नेपाल जसरी पनि फुटाउने मनसायमा लागेको ओलीको आरोप थियो । फुटाउन सकेन चोटिएर गए । पतझरहरू झरेर कोसी कहाँ रोकिन्थ्यो । पतकर झरेर कोसी रोकिँदैन । पिलो निचौरिँदैमा ओजन घट्दैन । एमालेको ओजन घटेको छ ? पिलो भुत्त निस्केर गयो । एमालेको ओजन घटेको छैन । झन झन बढ्दैछ,’ उनले भने ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा