८ आश्विन २०७८, शुक्रबार

राष्ट्रिय जनगणना सुरू हुँदै, तेस्रो लिंगीलाई पहिचान खुलाउन आग्रह

प्रकाशित मिति :  ३० भाद्र २०७८, बुधबार ११:१४


◊ईश्वर थापा

३० भदौ, धनकुटा । देशभर बुधबारदेखि राष्ट्रिय जनगणना सुरू हुँदै छ । जनगणनाका लागि घरघरमा सुपरीवेक्षक खटिँदै छन् । जनगणनाको कार्यक्रम सुरू हुँदै गर्दा यौनिक तथा लैंगिक अल्पसंख्यकको गणनाका लागि ‘जनगणना विधि’ अवलम्बन गरिने भएको छ।

केन्द्रीय तथ्यांक विभागले २०६८ सालको जनगणनामा पनि यौनिक तथा लैंगिक अल्पसंख्यकको तथ्यांक संकलन गर्दा सोही विधि अपनाएको थियो । तर, उनीहरूको जनसंख्या आशा गरेभन्दा निकै कम आएपछि यसपटक के विधि हुने भन्नेमा अन्योल थियो।

सरकारी अधिकारीहरू जनगणना विधिको सट्टा ‘नमुना छनोट विधि’ अवलम्बन गर्ने सोचमा थिए । तर, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका प्रतिनिधिले जनगणना विधि नै अपनाउन अनुरोध गरेपछि सम्पूर्ण घरपरिवारलाई समेटेर गरिने जनगणना विधि अर्थात् सेन्ससमै जाने निर्णय विभागले यसअघि नै गरिसकेको छ।

२०६८ सालको जनगणनामा घरपरिवार सूचीकरण फाराममा लिंगको छनोट गर्दा पुरुष, महिला र तेस्रोलिंगी भनेर राखिएको थियो भने यसपटक तेस्रोलिंगका ठाउँमा ‘अन्य यौनिक तथा लैंगिक’ भनी उल्लेख गरिने भएको छ ।

विभागले तेस्रोलिंगी शब्दले तेस्रोलिंगी अर्थात् ट्रान्सजेन्डर र अन्तरलिंगी अर्थात् इन्टरसेक्सलाई मात्र बुझिने भएकाले सबै यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समेट्न यस्तो परिवर्तन गर्न लागिएको हो ।

यसैगरी नागरिकता जारी गर्दा गृह मन्त्रालयले २०६९ मा जारी गरेको निर्देशिकामा पनि यौनिक तथा अल्पसंख्यक भनिएकाले पनि सोहीअनुसार यसो गर्न लागिएको बताइएको छ।

तेस्रो लिङ्गीलाई पहिचान खुलाउन आग्रह

राष्ट्रिय जनगणना सुरु हुन लागेसँगै निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटी०ले फारममा उल्लेख गरेको महिला, पुरुष र अन्य लिंगीमा सम्पूर्ण समुदायको विवरण चढाउन अनुरोध गरेको छ। यस विषयमा स्थानीय सरकार, सुपरीवेक्षक र आमसमुदायलाई सहजीकरण गर्न सोसाइटीकी अध्यक्ष पिंकी गुरुङ अहिले धनकुटामा आएकी छन् । उनले तेस्रो लिंगीलाई आफ्नो पहिचान खुलाउन आग्रह पनि गरेकी छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता