३० आश्विन २०७८, शनिबार

सहुलियत दरमा खाद्यान्न लिन स्थानीयको लाइन

प्रकाशित मिति :  १९ आश्विन २०७८, मंगलवार २२:३८


 जीवन कैला

१९ असोज, बाजुरा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कोल्टीले चाडपर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल बिक्री सुरु गरेको पहिलो दिन भीड लागेको छ । लामो समयदेखि बन्द रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा साबिकको भन्दा सहुलियत दरमा खाद्यान्न बिक्री हुन थालेपछि स्थानीयको लाइन लागेको हो ।

सहुलियत दरमा चामल बिक्री सुरु भएको आज पहिलो दिन १२० क्विन्टल चामल बिक्री भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कोल्टीका प्रमुख नवीन आचार्यले बताए । उनले अहिले मौजात चामलले उपभोक्ताको भीड थेग्न सक्ने अवस्था नरहेको बताए ।

कोल्टी डिपोबाट आजदेखि प्रतिकिलो पाँच रुपैयाँ छुट गरेर चामल बिक्री सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा प्रमुख मेघराज ओझाले बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मार्तडी बाजुराले अरुवा मोटो चामल प्रतिकिलो ४५ रुपैयाँमा पाँच रुपैयाँ छुट गरेर ४० रुपैयाँ र कोल्टी डिपोबाट प्रतिकिलो ४८ रुपैयाँमा पाँच रुपैयाँ छुट दिएर प्रतिकिलो ४३ रुपैयाँमा बिक्री गरिएको हो ।

जिल्लाका मार्तडी र कोल्टीमा चामल बिक्री वितरण भए पनि कवाडी डिपोबाट भने बिक्री सुरु नभएको बताइएको छ । अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा ३०५ क्विन्टल र कोल्टी डिपोमा ४०० क्विन्टल चामल ढुवानी भएको जनाइएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा