३० आश्विन २०७८, शनिबार

मुख्यमन्त्री राउतले पाए विश्वासको मत

प्रकाशित मिति :  २० आश्विन २०७८, बुधबार २०:१२


सत्य र निष्ठाका मार्गमा हिँड्न कृष्णले प्रेरणा दिऊन् : मुख्यमन्त्री राउत

२० असोज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभामा उपस्थित १०० सांसदमध्ये ७७ जना सांसदले मुख्यमन्त्री राउतको पक्षमा मत जाहेर गरेका छन् भने २३ जना सांसदले विपक्षमा मत दिएका थिए ।

मुख्यमन्त्री राउतलाई आफ्नो पार्टी जनता समाजवादी ‘जसपा’सहित कांग्रेस, माधव नेपाल नेतृत्वको नेकपा ‘एकीकृत समाजवादी’ पार्टी, नेकपा ‘माओवादी केन्द्र’ र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीका सांसदहरूले विश्वासको मत दिएका हुन् ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ र नेकपा एमालेले विपक्षमा मत जाहेर गरेका थिए । संविधानको धारा १८८ को उपधारा २ अनुसार सत्तारुढ दल विभाजन भएकामा वा सत्ता साझेदार दलहरूमध्ये कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्रमा सरकारले विश्वासको मत लिनुपर्ने उल्लेख छ । सोही संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिएको जसपाका सांसद अशोक यादवले बताए ।

यसैबीच मुख्यमन्त्री राउतले विश्वासको मत लिनुअघि प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरूको नाराबाजीका कारण प्रदेश २ सभाको बैठक १० मिनेट अवरुद्ध भएको थियो ।

साइकल खरिदमा अनियमितता भएकाले र अख्यितार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले मुख्यमन्त्री राउतले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने माग गर्दै लोसपाले बैठकमा नाराबाजी गरेपछि सभामुख सरोजकुमार यादवले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा