१६ मंसिर २०७८, बिहीबार
तस्करीको लाइन
नेपाल प्रहरी

रुपन्देहीमा तस्करीको लाइन खुलाउन एसपी केसी सक्रिय, सशस्त्र प्रहरीको पनि सेटिङ

प्रकाशित मिति :  २ कार्तिक २०७८, मंगलवार १२:३२


२ कार्तिक, काठमाडौं । तीन महिना अघि रुपन्देही पुगेका प्रहरी प्रमुख मनोज कुमार केसीको पहिलो प्रतिवद्धता जिल्लामा तस्करी रोक्ने थियो । जिल्ला कार्यभार सम्हालेको भोलिपल्टै उनले सञ्चारकर्मी, व्यापारी, उद्योगी, दलका नेता–कार्यकर्तासित भलाकुसारी गर्दै तस्करी नियन्त्रण गर्ने पहिलो काम भएको बताएका थिए । ‘तस्कर’ पक्राउ गरेर ठेगान लगाउने प्रतिवद्धता जनाए अनुरुप मातहतका युनिट परिचालन गरे ।

जिल्लामा हलचल भयो । यस्तो सक्रियताले केही समय यस्तो कारोबारमा संलग्न निरुत्साहित बनेको देखियो । प्रशासन तातेपछि तस्करीमा संलग्न लाइन मिलाउन सक्रिय भए । उनीहरु पनि के कम ? कडाईबारे गुनासो गर्न शक्ति केन्द्र धाउन थाले । तालमेल मिलाउन दबाब दिन थाले । तस्करी नियन्त्रणमा सक्रिय प्रहरीले दुःख दिएको आरोप लगाउन थाले । एसपी केसीको त्यो दाबी छोटो समयमै तुहियो ।

‘एसपी केसीले नयाँ प्रहरी प्रमुख आएको जानकारी दिन पो कडाइ गरेका रहेछन् जब लाइन मिल्यो तब उनका प्रतिबद्धता लाइन खुलाउन केन्द्रीत भयो’, रुपन्देही प्रहरीका एक अधिकृतले भने । अहिले प्रहरीको सेटिङमा ठुलो तस्करी हुने गरेको छ । केसीको प्रतिवद्धता विपरीत जिल्लामा तस्करी हुँदा समेत प्रहरीले कुनै चासो नदेखाएपछि उनकै मिलोमतो भएको त्यहीका अधिकृतहरुले बताउन थालेका छन् ।

सीमावर्तीका बासिन्दा यस क्षेत्रका व्यावसायी भने ‘तस्करीको लाइन’ नमिल्दासम्म कडा प्रतिवद्धता सुनिन्छन् । जब लाइन मिल्छ, त्यसपछि प्रशासन लगायत सरोकारवाला ‘तै चुप, मै चुप’ हुने गरेको गुनासो बाहिर आएको छ । क्यानडा तथा अन्य तेस्रो मुलुक हुँदै नेपाल भित्रिने केराउ मध्य पचास प्रतिशत भन्दा बढी भारत निकासी हुने गरेको छ ।

जिल्लामा बजारमा अहिले हरियो केराउ ८० देखी ९० रुपैयाँ प्रतिकिलोमा उपलब्ध छ । भारतमा यही मटरको मूल्य भारतीय एक सय रुपैयाँसम्ममा बिक्री हुने हुनाले यस्को तस्करी बढेको हो । सुरक्षा निकायले लाइन नमिल्दासम्म समान समात्ने र लाइन मिलेपछि लाभ लिएर सामान छाड्ने गरेका छन् ।

भारतसँग सीमा जोडिएका रुपन्देहीका सबैजसो नाकाबाट तस्करी हुने गरेको छ । अहिले सबैभन्दा बढी तस्करी हुने नाका सेमलपानी, मर्चवार, कर्महवा, दुर्गौलिया, मेउडिहवा, बुचीबर्मा, लुम्बिनी हुन् । यहाँबाट मोबाइल, कपडा र हार्डवेयर बढी मात्रामा तस्करी हुने गरेको छ । यी नाकाबाट मोटरसमेत तस्करी हुने गरेको छ । यस्तै, बेलहिया, बोगटी, करौता, कक्रहवा, भगवानपुर, कालिदहबाट पनि तस्करी हुने गरेको छ ।

रुपन्देहीका सबैजसो नाकाबाट तस्करी हुन्छ । तस्करी गर्नेमध्ये रहमोद मुसलमान, समीर मुसलमान, खली यादव सबैभन्दा ठूला तस्कर हुन् । उनीहरुले कपडा, मोटरपार्ट्स, हार्डवेयर तस्करी गर्छन् । यस्तै छोटु, महावीर, अफरोज खाँन, प्रेम, शैलेश, लल्लु, हैदर अली, शैलेन्द्र, वीरेन्द्र, मोविन, मास्टर, सुवास, अमरजित, अब्दुल, सीताराम, प्रकाश नामका तस्करहरुले प्रहरीसँगको सेटिङमा तस्करी गर्दै आएका छन् । रुपन्देहीमा भारतबाट नेपालतर्फ सबैभन्दा बढी तस्करी हुने भनेको कपडा र मोबाइल, हार्डवेयर, सूर्ति हो ।

यस्तै, मोटर पार्टस्, ब्याट्री, काजु किसमिस, चिनी, किराना समान लगायत तस्करी हुन्छ । नेपालबाट भारततर्फ मरिच, छोडा, केराउ, कवाड तस्करी हुँदै आएको छ । सीमा क्षेत्रमा तस्करहरुले गोदाम बनाएका छन् । नेपाली भित्रिने तस्करीको सामान भैरहवा, बुटवलका बजारमा मात्रै होइन, पोखरा, काठमाडौंसम्म पुग्ने गरेको छ ।

यो तस्करीमा सशस्त्र प्रहरीका निरीक्षक कृष्ण अर्यालले सहयोग गर्दै आएका छन् । सेटिङ मिलाउनै लागि एक्लै काज सरुवा मिलाएर रुपन्देही गएका हुन् । उनी गत साउनमा सशस्त्र प्रहरी मूख्यालयलाई दबाब दिएर सरुवा भएका थिए । डण्डा विओपी सरुवा भएका अर्यालले रुपन्देहीभरीकै नाकमा सेटिङ गर्ने गरेका छन् ।

उनले सशस्त्र प्रहरी मात्र होइन नेपाल प्रहरीलाई पनि सेटिङ गरेर सामान तस्करीमा सहयोग गरिरहेका छन् । उनले सशस्त्र प्रहरीका अतिरिक्त कांग्रेसका केही नेताहरुलाई सशस्त्र प्रहरीका एकाउण्टेण्ट शोभा ढकाल मार्फत च्यानल मिलाउने गरेका छन् । एकाउण्टेण्ट ढकालले आफू गृहमन्त्रीको मान्छे हुँ, हुनेवाला आइजपीको मान्छे हुँ भन्दै सेटिङ मिलाउने गरेका छन् । ढकाल हाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा