१६ मंसिर २०७८, बिहीबार
नेपाल प्रहरी
नेपाल प्रहरी

एउटा इन्जेक्सनलाई पाँच लाखमा बेचेको उजुरी अख्तियारमा, एआईजी सिंहमाथि छानविन शुरु

आर्थिक अनियमितता

प्रकाशित मिति :  ७ कार्तिक २०७८, आईतवार ०६:१२


७ कार्तिक, काठमाडौं । नेपाल प्रहरी अस्पतालमा आर्थिक अनियमितता भएको भन्दै छानविन थालिएको छ । पीसीआर मेसिन लगायतका सामाग्री खरिद गर्दा अस्पतालकी कार्यकारी निर्देशक आशा सिंहले आर्थिक अनियमितता गरेको आशंकामा छानविन थालिएको हो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा भ्रष्टाचार भएको आशंकामा एआईजी विश्वराज पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति बनाएका हुन् ।

भ्रष्टाचारको हल्ला चलेपछि एसएसपी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयबाट त्यता पठाएपनि सन्तुष्ट नभएपछि एआईजी पोखरेलको संयोजकत्वमा छानविन समिति बनाएका हुन् । वरियता मिच्दै एआईजी बढुवा भएकी अस्पतालकी कार्यकारी निर्देशक आशा सिंहले अस्पतालमा मनोमानी गर्दै आर्थिक लाभ लिएको स्रोतको दावी छ ।

‘महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पताल महारजगञ्जमा आर्थिक अनियमितता भएको आशंकामा एआईजी डाक्टर आशा सिंहमाथि अनुसन्धान गर्न एआईजी विश्वराज पोखरेलको नेतृत्वमा टोली नै खटाएको छ । एआईजी पोखरेलको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन भएको हो’, महानिरीक्षक सचिवालयले स्रोतले भन्यो ।

समितिमा महानिरीक्षकको कार्यालयका डीआईजी वसन्त लामासहित एसएसपीद्वय पूजा सिंह र भीम ढकाल तथा कानुन शाखाका डीएसपी ज्ञानेन्द्र बस्नेत रहेका छन्  । एआईजी सिंह र उनको टिमले कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भेन्टिलेटर खरिद गर्दा आर्थिक अनियमितता गरेको, आइसोलेसन वार्ड बनाउँदा रकम हिनामिना भएको, भारतबाट सेकेन्डह्यान्ड पीसीआर मेसिन किनेर नयाँ उपकरणसरह बिल भुक्तानी गरेको, अपारदर्शी रूपमा करारमा कर्मचारी नियुक्ति गरेको लगायतका आरोपमा छानविन समिति बनेको हो । सिंह २०७६ माघ ६ को मन्त्रिपरिषद बैठकबाट अस्पतालको एआईजी तथा कार्यकारी निर्देशक नियुक्त भएकी थिइन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयले सिंहमाथि अनियमितता आरोपमा उजुरी परेको भन्दै अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएपछि महानिरीक्षक थापाले छानविन समिति बनाएका थिए । गृह मन्त्रालयले असोज २० मै एआईजी सिंहमाथि विभिन्न ८ वटा विषयमा अनुसन्धान गरी सत्यतथ्य प्रतिवेदन पेश गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । अख्तियारमा परेको उजुरी अनुसार अस्पतालमा निःशुल्क पाइने मास्क, सेनिटाइजर र पीपीईमा समेत बिल पेस गरी रकम भुक्तानी गरेको सिंहमाथि आरोप छ । जुन सामग्री स्वास्थ्य मन्त्रालयले कोभिड–१९ को समयमा निशुल्क दिएको थियो ।

स्रोतका अनुसार अस्पतालले ‘टोसिलिजुम्याब’ नामक इन्जेक्शनलाई अस्पतालका कर्मचारी र डाक्टरको मिलोमतोमा पाँच लाखसम्म बिक्री बितरण गरिएको थियो । जुन इन्जेक्शनको मूल्य ३३ हजार भारतीय रुपैयाँ पर्छ । कोरोनाका प्रायः बिरामीलाई निमोनिया हुन पुगेको छ । निमोनियाले फोक्सोमा ईन्फेक्सन गर्ने हुँदा फोक्सो ड्यामेज हुने गई कोभिडका बिरामीले ज्यान गुमाउनु परेको अवस्थामा यो इन्जेक्सनको कालोबजारी गरिएको थियो ।

‘यो (टोसिलिजुम्याब) ईन्जेक्शन निमोनिया सुरु हुन साथ बिरामीलाई दिन पाईयो भने कोराेना भाइरसले फोक्सोमा ईन्फेक्शन गर्ने सम्भावना एकदम एक हुन्छ, जसको कारण कोभिडका बिरामीलाई बचाउन सक्ने सम्भावना बढी हुन्छ । त्यहीकारण यो ईन्जेक्शनको कालोबजारी बढेको हो,’ अस्पतालका एक डाक्टरले भने । यसमा पनि कार्यकारी निर्देशक सिंहको हात रहेको स्रोतले जनाएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा